Dimaag Kharaab
Feature Film Political DramaNov 10, 2023Hall Release
News
प्रिमियरमा ‘दिमाग खराब’को प्रसंसा

निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको चलचित्र ‘दिमाग खराब’को रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियर शोमा चलचित्रकर्मीदेखि राजनीतिकर्मीसम्मले चलचित्र हेरेका छन् । ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा बिहीबार साँझ भएको प्रिमियरमा चलचित्रले उठान गरेको कथावस्तुको प्रशंसा गरेका हुन् ।
उपसभामुख इन्दिरा राना, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सांसद ज्ञानेन्द्र शाही, सोबिता गौतम, हरि ढकालसहित कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, अशोक शर्मा, सन्तोष सेन, विनय श्रेष्ठ, भोलाराज सापकोटा, क्रिकेटरहरु पारस खड्का र रोहित पौडेललगायत चलचित्रको प्रिमियरमा सहभागि भएका थिए ।
प्रिमियर पश्चात निश्चल बस्नेतले देशकै लागि चलचित्र बनाएको भन्दै हाँस्य कलाकार हरिवंश आचार्यले प्रशंसा गरेका थिए । उनले भने, ‘अहिले देशमा चरम निराशा र जनतालाई पीरको एउटै कारण छ, भ्रष्टाचार । भ्रष्टाचारलाई निर्मुल पार्नुपर्छ र भ्रष्टचारीलाई सत्तामा बस्न दिनु हुन्न भन्ने मूल मन्त्र आगामी चुनावमा लागू होस् । यो सिनेमा निर्देशक र लेखकले देशकै लागि बनाउनुभएको हो । सबै दृष्टिकोणले राम्रो छ ।’
रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले चलचित्र हेर्नैपर्ने बनेको बताए । ‘चलचित्र हेर्न लायक मात्र होइन, हेर्नैपर्ने छ । यसरी नै चलचित्र, संगीत, छोटा सिनेमाबाट मुलुकको अवस्था चित्रण गरेर परिवर्तन ल्याउन सकिन्छ । कसैले हेर्न छुटाउन नहुने चलचित्र हो । र, कोही नछुटोस्स्’ उनले भने । चलचित्रले उठाएको कथावस्तुका कारण आफू प्रचारमा हिँड्न पनि तयार रहेको उनको भनाई छ ।
‘समाजको आवश्यकतालाई चलचित्रले सधैं प्रतिनिधित्व गरेको हुन्छ । बेला बखतमा यस्ता चलचित्रले समाजमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्छ । ‘बलिदान’कै कुरा गर्नुस् या अहिले यो चलचित्र,’ उनले अगाडि भने, ‘मैले अहिलेसम्म कुनै सिनेमालाई हेर्नैपर्छ भनेको छैन । तर, यो चलचित्र चाहिँ म हेर्नैपर्छ भन्छु । सबैले हेर्नुपर्छ । यो चलचित्रको प्रचारका लागि मलाई बोलाउनु हुन्छ भने पनि जान तयार छु ।’
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले चलचित्रले दिन खोजेको सन्देश मन परेको बताए । धेरैपछि नेपाली चलचित्र हेरेका उनले भने – ‘चलचित्र रमाइलो लाग्यो । राम्रो बनेको छ । सन्देश राम्रो दिएको छ । अभिनय पनि सबै कलाकारको एकदमै राम्रो छ । मलाई दयाहाङ राई र अर्पण थापा दाईको अभिनय एकदमै मनपर्यो ।’ उनले आफू दयाहाङ राईको ठूलो फ्यान रहेको समेत बताए ।
क्रिकेटर कुशल भुर्तेललाई पनि चलचित्रले दिएको सन्देश मन परेको बताए । अर्का क्रिकेटर सोमपाल कामीले भने चलचित्रमा निश्चल बस्नेतको इन्ट्री बबाल लागेको सुनाए । ‘मलाई निश्चल दाईको इन्ट्री बबाल लाग्यो । म ठूलो फ्यान हुँ । चलचित्रको कथा राम्रो छ । हामीजस्तो युवाले धेरै कुरा सिक्छौं । जसरी हामी १० वर्षपछि विश्वकप पुथ्यौं, त्यसरी नै चलचित्रले पनि सफलता पाओस्,’ उनले भने ।
प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगरले चलचित्र समसामयिक विषयमा बनेको बताउँदै राम्रो सन्देश पनि दिएको बताइन् । अभिनेत्री प्रकृति श्रेष्ठले चलचित्र हेर्नुपर्ने बनेको र धेरैपछि राम्रो चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै, अर्की अभिनेत्री शिल्पा मास्केले पनि चलचित्र राम्रो बनेको बताउँदै सन्देशमुलक पनि रहेको बताइन् ।
प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्देशक तथा पति निश्चल बस्नेतका लागि ‘नर्भस’ रहेको बताइन् । ‘निश्चलले इमानदारिताका साथ कथा भनोस् भन्ने थियो । धमाका पनि होस् भन्ने छ । किनकि, ऊप्रति मानिसको ठूलो विश्वास छ । म सिनेमा रिलिजको बेला धेरै तनाब लिन्नँ । तर, यसपटक म निश्चलका लागि एकदमै ‘नर्भस’ छु,’ उनले भनिन् ।
निश्चलले भने आफूभित्र वर्षौंदेखि गुम्सिएको चीज र देखेका तथा भोगेका कुरालाई जोडेर कथा बनाएको बताए । उनले भने, ‘मैले एउटा इमानदार कथा भन्ने प्रयास गरेको हुँ । त्यो भन्दै गर्दा चलचित्रले दर्शकलाई मनोरञ्जन पनि दिनुपर्छ । मनोरञ्जन दिएर आफ्नो उकुसमुकुस पोख्न सकिन्छ भने प्रयास गर्छु भने चलचित्र बनाएको हुँ ।’ अब निर्देशनमा फर्किन धेरै समय नलिने पनि निश्चलले बताएका छन् ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, निश्चल बस्नेत, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो । चलचित्रमा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral