Missing Movie Online

Gaun Aayeko Bato

Feature Film Social DramaJun 07, 2024Hall Release

News

चलचित्र ‘गाउँ आएको बाटो’को प्रिमियर, चलचित्रकर्मीले दिए सुखद प्रतिक्रिया

लेन्सनेपाल २०८१ जेष्ठ २४
चलचित्र ‘गाउँ आएको बाटो’को प्रिमियर, चलचित्रकर्मीले दिए सुखद प्रतिक्रिया

जेठ २५ अर्थात् शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’को बुधबार साँझ भव्य प्रिमियर गरिएको छ । कमल पोखरी स्थित बिग मुभिजमा सम्पन्न प्रिमियर शोमा चलचित्र हेर्न नेता, साहित्यकारदेखि चलचित्रकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । 

चलचित्र हेरेपछि अधिकांशले नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए । गाउँमा विकाससँगै के–कस्ता परिवर्तन आउँछ । अनि त्यसको प्रभाव र असर कस्तो पर्छ भन्ने कुरा सुक्ष्म तरिकाले देखाइएको उपस्थित पाहुनाहरुले बताएका छन् ।

एमाले सांसद रघुजी पन्तले चलचित्र निकै राम्रो बनेको र यस्ता चलचित्रले विकाससँगै गाउँमा परेको प्रभाव र त्यहाँको संस्कृतिमाथी परेको असरलाई सुन्दर ढंगबाट देखाइएको बताए । पूर्व पर्यटन तथा संस्कृति मन्त्री सुदन किँरातीले आफु यही समुदायमा जन्मे हुर्केकाले पनि चलचित्रले छोएको बताए । नेपालमा यस्ता चलचित्र बन्न जरुरी भएको र विशेषगरी नवीन सुब्बा जस्ता निर्देशकले त आगामी दिनमा यस्ता विषयमा अझै धेरै चलचित्र निर्माण गर्न जरुरी रहेको बताए ।

निर्देशक निश्चल बस्नेतले नवीन सुब्बा जस्ता निर्देशकको चलचित्र हेर्न पाउनुका साथै निकै इन्जोय गरेको बताए । अभिनेत्री केकी अधिकारीले गाउँ आएको बाटो दयाहाङ दाईको करियरकै उत्कृष्ट चलचित्र भएको बताइन् । यता दयाहाङसँग डिग्री माइलामा काम गरेकी अभिनेत्री आँचल शर्माले दया दाई डिग्री माइलाको भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन् ।

पूर्व मिसनेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले चलचित्रले देखाएको बाबु र छोराको सम्बन्धको कथा निकै मन परेको बताइन् । यस्तै अर्की अभिनेत्री दीया मास्केले चलचित्र हेरेर निस्कँदा पनि गुजबम्ब आएको र बोल्नै नसक्ने अवस्थामा रहेको बताइन् । चलचित्रको कथावस्तु र कलाकारकारको कामले आफुलाई निकै छोएको उनको भनाई थियो ।

अभिनेता नाजिर हुसेनले गाउँ आएको बाटोमा दया दाईले जब बाँसको चोयालाई सक्लो बनाएर चित्रा बनाउनु हुन्छ नि त्यो चित्रा बनाउने एकदमै पाको बाँस भएको बताए । अभिनेत्री मिरुना मगरले बाबुआमामा सन्तानको माया कति हुन्छ भन्ने नजिकबाट महसुुस गर्न पाएको बताइन् । अर्की अभिनेत्री सृष्टि श्रेष्ठले पनि आफु गाउँमा नबसेको भएपनि अहिलेसम्म आइपुग्दा कामको माध्यमबाट विभिन्न ठाउँमा पुग्दाको अवस्थालाई चलचित्र हेरेर महसुस गरेको बताइन् ।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र हेर्दा निकै मज्जा आएको बताइन् । एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक बनाएको बताइन् । चलचित्रकी मुख्य अभिनेत्री पशुपति राईले पनि म आफ्नो चलचित्र हेरेर आफै रोएको बताइन् । चलचित्रलाई नेपाली दर्शलले पनि निकै राम्रो प्रतिक्रिया दिएकाले शुक्रबारबाट नेपालबाट रिलिज हुँदा दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् ।

अभिनेता दयाहाङ राई चलचित्रलाई प्रिमियरमा साँच्चिकै गजबको प्रतिक्रिया पाइरहेका छौं । शुक्रबारबाट विशेषगरी दर्शकमाझ जाने भएकाले पनि नेपाली चलचित्रका सच्चा दर्शकबाट कस्तो प्रतिक्रिया मिल्ला भन्ने प्रतिक्षा रहेको सुनाए । विदेशी दर्शकले रुचाएकाले पनि चलचित्रले नेपाली दर्शकले पनि रुचाउने विश्वास उनलाई उत्तिकै रहेको छ ।