Missing Movie Online

Gaun Aayeko Bato

Feature Film Social DramaJun 07, 2024Hall Release

News

‘गाउँ आएको बाटो’को गीत ‘राई माईला’ सार्वजनिक

लेन्सनेपाल २०८१ जेष्ठ २०
‘गाउँ आएको बाटो’को गीत ‘राई माईला’ सार्वजनिक

निर्देशक नवीन सुब्बाको कमव्याक चलचित्र ‘गाउँ आएको बाटो’को पहिलो गीत रिलिज गरिएको छ । ‘राई माईला’ बोलको गीतमा श्रवण मुकारुङको शब्द रचना, काली प्रसाद बास्कोटाको संगीत तथा सुनिता थेगिमको स्वर सुन्न सकिन्छ ।

चलचित्रको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईलाई फिचर्ड गरिएको छ । यो गीतको भिडियोलाई निर्देशक सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । गीतमा समावेश दृश्यले चलचित्रको कथासार बुझाउन सहयोग गर्ने निर्माण टिमको विश्वास छ ।

बाबुछोराको स्नेही सम्बन्ध र खुसी त्यतिबेला संकटमा पर्छ, जतिबेला गाउँमा मोटर आइपुग्छ । योसँगै छोरा बिन्द्रे (प्रसन राई) र उसको बाबु माइला (दयाहाङ) वरपर चलचित्रको कथा घुम्छ । सडकसँगै गाउँ आउने स्मार्टफोन, सनग्लास, टेलिभिजन, हिपहप संगीतले गाउँको मानवीय सम्बन्ध र सोचाइमा ल्याउने परिवर्तन तथा सडक र गाडी पुगेपछि परेको असरको कथा चलचित्रले भनेको छ ।

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले २० वटाभन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवहरुमा सहभागिता जनाइसकेको छ । ‘नुमाफुङ’ बनाएर फरक धारका चलचित्रका लागि प्रशंसा बटुलेका सुब्बाको यो तेस्रो चलचित्र हो । उनले बनाएको दोस्रो चलचित्र ‘गुडबाई काठमाडौं’ भने सार्वजनिक प्रदर्शनमा आएको छैन ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनाइएको चलचित्रका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन् । टोरोन्टो र बुसान चलचित्र महोत्सवमा समेत प्रशंसा बटुलेको ‘गाउँ आएको बाटो’को पटकथा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा लेखेका हुन् ।

यो चलचित्रको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ । चलचित्रको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन् ।