Xira

PG 140 mins Feature Film Action, RevengeAug 23, 2019Hall Release

News

‘जाइरा’को सेलिब्रेटी शो, कलाकारले गरे नम्रताको प्रसंसा

लेन्सनेपाल २०७६ भाद्र ११
‘जाइरा’को सेलिब्रेटी शो, कलाकारले गरे नम्रताको प्रसंसा

चलचित्र ‘जाइरा’को सेलिब्रेटी शो गरिएको छ । एक्सन लभस्टोरी चलचित्र हेरेपछि सेलिब्रेटीहरुले राम्रो प्रतिक्रिया दिएका छन् । आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र हेरेका कलाकर्मीहरुले अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र मार्शल आर्ट खेलाडी बन्न गरेको मेहनतको मुक्तकण्ठले प्रशंसा गरे । 

अभिनेता भुवन केसीले चलचित्रले उठाएको विषयवस्तु फरक रहेको बताए । उनले भने, ‘नम्रताले निकै फरक भूमिका गरेकी छिन् । र, निकै मेहनत पनि गरेकी छन् । अरु कलाकारले पनि राम्रो काम गरेका छन् । नेगेटिभ भूमिकामा अभिनय गर्नुभएको श्रृजना रेग्मीको काम सबैभन्दा उत्कृष्ट लाग्यो ।’

यस्तै अभिनेत्री गौरी मल्लले पनि अभिनेता भुवनकै कुरामा सहमति जनाइन् । ‘मलाई रिङको फाइट मनपर्‍यो, बुलेट र जाइराको । चलचित्र एकदमै राम्रो लाग्यो । नम्रताले गरेको मेहनत पर्दामा देखिन्छ । प्रमोद अग्रहरीको काम पनि उत्कृष्ट छ’, उनले भनिन् । अभिनेत्री रेखा थापाले पनि नम्रताको मेहनतको प्रशंसा गरिन् । उनले नेगेटिभ रोल गर्ने श्रृजना रेग्मीको काम पनि मन परेको बताइन् । 

‘राते काइला’ उपनामले परिचित सुनिल थापा पनि अभिनेत्री नम्रताको मेहनतको प्रशंसा गरेर थाकेनन् । नेपालमा ‘जाइरा’ जस्तो चलचित्र बन्नु ठूलो हिम्मतको काम रहेको बताउँदै उनले भने, ‘स्पोर्टस् लभर दर्शकले चलचित्र नछुटाउँदा राम्रो हुन्छ । पर्दामा नम्रतालाई हेर्दा रियल फाइटर महशुस हुन्छ । बुलेटको भूमिका निभाउने श्रृजनाको काम पनि गजब लाग्यो ।’ 

अभिनेत्री केकी अधिकारीले फिल्म निकै फरक लागेको बताइन् । नम्रताको मेहनतको प्रशंसा गर्दै उनले भनिन्, ‘हामीहरु यस्तो चलचित्र  बनाउनुपर्छ भनेर सोच्छौं मात्र तर उहाँहरुले बनाएरै देखाउनुभयो । कल्पनामा मात्र हुने चिज देख्न पाइयो । चलचित्र एकदमै राम्रो छ । मेरो दिमागमा अझै पनि क्लाइमेक्स सिन बसिरहेको छ । श्रृजना, प्रमोद, अनुप सबैको काम उम्दा छ ।’ 

अभिनेत्री रिमा विश्वकर्माले पनि चलचित्र राम्रो लागेको प्रतिक्रिया दिइन् । हास्यकलाकार सन्दिप क्षेत्री पनि नम्रताको प्रशंसा गरेर थाकेनन् । ‘चलचित्रमा नम्रताको मेहनत देखिएको छ । अभिनय पनि मनछुने छ । फिल्मको एक्सन सिक्वेन्स गजब छ’, उनले भने । 

‘जाइरा’ मा नम्रतासँगै प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने लोकेश बज्रचार्यको सम्पादन छ । चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो । चलचित्रमा सम्राट बस्नेको द्वन्द्व निर्देशन छ ।