Mansara

सम्झनामा शिवशंकर : साहित्य र कलामा कोही पनि पूर्ण हुन सक्दैन

२०७५ भाद्र २०

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने नेपाली उखान नै छ । उमेरका हिसाबले शारीरिक रुपमा बुढेउलीले छोए पनि सिर्जनामा रम्ने शिवशंकर मानन्धरलाई त्यसको कुनै पत्तो थिएन । उनको मन श्रृजनका लागि सदैव तरुनो रह्यो । त्यही श्रृजना आज पनि उत्तिकै मात्रमा लोकप्रिय छ, हाम्रा माझ । तर शिवशंकर हामी माझ छैनन् । निरन्तर साधनामा जुटिरहेका शिवशंकरको कलेजोमा क्यान्सर भएपछि २०६१ कात्तिक २९ गते ७२ वर्षको उमेरमा निधन भयो ।

१९८९ सालको फागुन १२ गते शिवरात्रिको दिन उनको जन्म भएको हो । डमरु बजाउने, शिवको आराधना गर्ने दिन जन्मिएकाले नाम पनि शिवशंकर राखियो । यिनै शिवशंकर नेपाल भित्रै बनेको पहिलो चलचित्रका नायक हुन् । त्यसो त आधा दर्जनौ चलचित्रका संगीत सर्जक तथा गायक पनि हुन् । यसबाहेक उनले सिर्जना गरेका सबैखाले गीतको संख्या सयौं छ ।

मान्नधर समाजको टोलटोलमा भजन मण्डली हुन्थ्यो । विभिन्न चाडपर्वमा परम्परागत गीत र भजन गाउँदै विभिन्न किसिमका बाजा बजाइन्थे । त्यसमा पनि उनको बुबा भजन मण्डलीमा नाइके । बुबा पुराना बाजाहरू बजाउन र भजन गाउन सिपालु भएकाले घरमै थुप्रै बाजा थिए । बाबुको पछि लागेर कलिलै उमेरमा भजन मण्डलीमा पुग्ने शिव बिस्तारै त्यसको रसमा डुब्न थाले । भजनमा जाँदा–जाँदै उनले सानो उमेरमा नै विभिन्न तालमा मादल बजाउन जाने । यही नै थियो उनको कलाकारिताको उद्गम बिन्दु ।

सरस्वती सदनमा नेपालीमा मध्यमासम्मको अध्ययन गरेका शिवशंकर पढाइमा तेज भएपनि रुचि संगीतमा राख्थे । यसका साथै सानो छँदा चलचित्र हेर्ने भनेपछि उनी हुरुक्कै हुन्थे । समयसँगै उनले हनुमानढोकामा राहदानी लेख्ने काम थाले । त्यो कामबाट प्राप्त हुने पैसा लिएर उनी चलचित्र हेर्न जनसेवा हलतिर जान्थे । पहिलो पल्ट हेरेको ‘रामविवाह’ र धेरैपल्ट हेरेको ‘शवनम’ चलचित्रका दृश्यहरू जीवनको अन्तिम क्षणसम्म पनि सम्झिन्थे । कहिलेकाही चलचित्र हेर्न जाँदा धेरै गयो भनेर आमाले गाली गनुहुन्थ्यो रे । तर पनि उनको चलचित्र हेर्न जाने क्रम रोकिएन । उनी ६ वर्षको छदाँ बुबाको निधन भयो ।

भजनमण्डली, चोक र डबलीहरुमा आफ्नो कला देखाएर धेरैको तारिफ पाइरहेका शिवशंकर रेडियो नेपाल खुलेपछि त्यहीँ गए । रामलाल जोशी, हरिप्रसाद रिमाल, भैरवबहादुर थापालगायतका कलाकारहरूसँग चिनजान भयो । त्यो बेला रेकर्ड गर्ने प्रविधिको विकास भएको थिएन । गीत, संगीतलगायत सबै कार्यक्रम प्रत्यक्ष प्रसारण गर्नुपथ्र्यो । उनले हार्माेनियम, तबलाजस्ता बाजा बजाउँदै गीत पनि गाउँथे । २००७ सालमा रेडियो नेपाल छिरेका उनी २०४९ सालसम्म त्यहीँ कार्यरत रहे ।

०१७–०१८ सालमा तत्कालिन राजा महेन्द्रको जन्मोत्सवका अवसरमा चलचित्र ‘आमा’ बनाउने घोषणा भयो । यस कामका लागि देहरादूनबाट झिकाइएका हिरा सिंहलगायतका कलाकारले उनलाई नायकका लागि छनौट गरे । आमाका लागि म.वि.वि. शाहद्वारा लिखित पाँचवटा गीत पनि उनैले गाए । त्यतिबेला उनले भनेका थिए – ‘श्रोताले मेरो गीतसंगीत मन पराएको क्षण नै मेरो जीवनको सुःखद् क्षण हो । साहित्य र कलामा कोही पनि पूर्ण हुन सक्दैन । यी निरन्तर साधनाका विषय हुन् । हामी रियाज, परिश्रम र साधनामा लागिरहनुपर्छ । कला र संस्कृतिको संरक्षण गर्नुपर्छ । सारङ्गी, ढोल, मादल जस्ता संगीत साधनाको स्वरूपलाई पनि समयअनुसार सुधार्नुपर्छ ।’  

गोरखा दक्षिणवाहु, महेन्द्ररत्न आभूषण, त्रिशक्ति पट्ट, सुप्रसिद्ध वीरेन्द्र प्रजातन्त्र भास्कर, नेपाल मोसन पिक्चर अवार्डसहित थुप्रै पुरस्कार र सम्मान पाएका शिवशंकर चलचित्रले मौलिकता कुल्चिदै गएको प्रति दुःखित् थिए ।