बिदेश प्रिमियर पछि धरानमा चलचित्र 'अञ्जिला'को प्रिमियर

२०८१ फागुन २५
बिदेश प्रिमियर पछि धरानमा चलचित्र 'अञ्जिला'को प्रिमियर

फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'अञ्जिला'को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको प्रिमियरले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो । यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई,  सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

चलचित्र हेरेपछि दर्शकहरू भावुक बनेका थिए ।  चलचित्र हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ ।दर्शकले चलचित्रको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे । 

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् । 

दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू 'ब्लाइन्ड रक्स' र 'बोबी' निर्देशन गरेका थिए ।

चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन्‌ भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।

Kumari Bank