‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

२०८१ चैत्र १२
‘अञ्जिला’ एकसाथ १६ देशमा रिलिज हुने

चलचित्र ‘अञ्जिला’ मार्च २९ बाट विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ । चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुने निर्देशक मिलन चाम्सले जनाएका छन् । साथै अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । यस्तै, बेलायतबाट समेत चलचित्रको माग आएको र क्रमशः सबै सहरमा रिलिज गरिने उनले बताए ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्रले घरेलु बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । नेपालमा चलचित्र हिट भइरहदा नेपालीहरूको बाहुल्य रहेका विभिन्न मुलुकहरूमा रिलिज हुन लागेको हो । चलचित्रले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्नेछन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन् । त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्दैछन् ।

निर्देशक चाम्सले चलचित्र प्रति दर्शकले दिएको माया र विश्वासले ऊर्जा थपेको बताए । चलचित्रको शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।