‘अञ्जिला’को बम्पर व्यापार, दर्शकबाट उत्साहजनक प्रतिक्रिया

बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको चलचित्र हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल शोहरू देखिएको छ ।
चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । सोसल मिडियाहरूमा चलचित्रका बारेमा आएका समीक्षाहरू पनि सकारात्मक छन् । चलचित्रको टिम दर्शकहरूको साथ र प्रतिक्रियाबाट उत्साहित देखिएको छ । निर्देशक मिलन चाम्सले आफू सफल भइसकेको प्रतिक्रिया दिए । ‘चलचित्र निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइन । शो थप हुनासाथ हाउसफुल भएको देख्दा म दङ्ग छु । ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया पाइरहेको भए पनि शनिवारको बम्पर व्यापारले उत्साहित बनाएको छ । चलचित्र हेरेर दर्शकहरू भावुक भएका छन्, र यो चलचित्रले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ’, निर्देशक चाम्सले भने ।
दर्शकहरूको सकारात्मक प्रतिक्रियासँगै ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर, रात किन हुन्छ’सामाजिक सञ्जालमा भाइरल भएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वरमा रहेको यो गीतको प्रभाव यति गहिरो बनेको छ कि दर्शकहरूले यससँग जोडिएका भावुक पोस्टहरू सेयर गरिरहेका छन् । टिकटक, फेसबुक, युट्युब लगायतका प्लेटफर्महरूमा यस गीतमा विभिन्न भिडियोहरू बनिरहेका छन्, जसले चलचित्रको लोकप्रियतालाई अझ बढाइरहेको छ । यो गीतमा प्रभा बर्तौलाको शब्द रचना रहेको छ बने थानेश्वरले नै सङ्गीत दिएका छन् ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ । यस चलचित्रमा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।
शनिबार दिउँसो काठमाडौँको अष्टनारायण हलमा चलचित्रको विशेष प्रदर्शन गरिएको थियो । हजारौं दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा चलचित्र युनिटले दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गरेको थियो । हलमा प्रवेश गर्ने दर्शकहरूलाई ‘अञ्जिला’को जर्सी उपहारस्वरूप प्रदान गरिएको थियो । दर्शकहरूको उत्साहलाई थप बढाउन चलचित्रको टिम हलमा पुगेको थियो । दर्शकहरूले चलचित्रले नेपालको राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलतालाई जीवन्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel