Mansara

डा. बाबुराम भट्टराईको परिभाषा : ‘कलात्मक सहित सन्देश मुलक चलचित्र’ नै नेपाली चलचित्र

२०७५ कार्तिक ११
डा. बाबुराम भट्टराईको परिभाषा : ‘कलात्मक सहित सन्देश मुलक चलचित्र’ नै नेपाली चलचित्र

चलचित्र प्रेमी नेताको रुपमा चिनिने नेता हुन डा. बाबुराम भट्टराई । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईले शनिबार मात्र चलचित्र जय भोले हेरेका हेरेका छन् । यसअघि पनि उनी केही समाजिक कथाका चलचित्रहरु हेर्न हलमा पुगेको अवस्थामा भेटिन्थे । शनिबार उनी श्रीमति हिसिला यामी सहित हलमा पुगेका थिए ।

चलचित्र हलमा सञ्चारकर्मीहरुसँग उनले खुलेरै आफ्नो अनुभव र अनुभुति साटेका छन् । सन्देश बाहक चलचित्रहरु मन पराउने भट्टराईले हिंसात्मक द्वन्द्वका चलचित्रहरु भने खासै रुचाउँदैनन् । विद्यार्थीकाल देखि नै चलचित्र हेर्न हलमै पुग्ने गरेको बताएका भट्टराईले यसलाई सामाजिक परिवर्तनको एउटा महत्वपूर्ण पाटोका रुपमा समेत लिएका छन् । कुनै चलचित्रमा कलात्मक ढंगले सन्देश प्रवाह गरिएको छ भने त्यसलाई समाजको परिवर्तनको महत्वपूर्ण पाटोका रुपमा लिन्छन् उनी ।

त्यसो त मानिसमा सौन्दर्य चेतना पनि हुने र मनोरञ्जन पनि आवश्यक पर्ने उनको बुझाई छ । सायद यसैले होला भट्टराईले बिद्यार्थी जीवनमा १९७० को दशकमा खुबै चलचित्र हेरेका रहेछन् । नेपालमा चलचित्रको बिकास खासै नभइसकेको अवस्थामै उनलाई बलिउड चलचित्रले लोभ्याइसकेको थियो । 

अध्ययनको लागि भारतको चन्दिगढमा रहँदा १९७० को दशकमा उनले निकै चलचित्र हेरे । बलिउडमा रोमान्टिक चलचित्रको जगजगि थियो त्यो समय । अमिताभ बच्चन, राजेश खन्ना, हेमा मालिनी, सवाना आजमीहरुको उदय भएको त्यो कालखण्डमा भट्टराईले पनि अक्सर चलचित्र हेरे ।

त्यसो त बिद्यार्थी काल वा भनौं युवा अवस्थामा मात्र होइन जनयुद्धको बेलामा पनि भट्टराई र यामी लुकी लुकी चलचित्र हेर्न जान्थ्ये । अनि राम्रो लागेको चलचित्र अरुलाई पनि हेर्न आग्रह गर्थे । भट्टराई जुन कुनै भाषाको भएपनि राम्रो चलचित्र पहिले देखि नै हेर्ने गरेको बताउँछन् ।

त्यसो त नेपाली चलचित्रले निश्चित स्वरुप लिन सकेको छैन । कसैले नेपाली चलचित्र के हो भनेर सोध्यो भने लाइक बलिउड भन्नु पर्ने अवस्था छ । यस्तो अवस्थामा भट्टराईको चलचित्र प्रतिको बुझाई जान्न हामी उत्सुक थियौं । भट्टराई अहिले पनि पहिचान सहितको संघियताको पक्षमा छन् । आफु पहिचानका लागि लडेको बताउँछन् । त्यसैले नेपाली चलचित्रको पहिचान उनीबाट खोज्नु थियो, हामीलाई पनि । हामीले उनलाई सोध्यौं – कसैले तेरो देशको चलचित्रको पहिचान के हो भनेर सोध्यो भने के भन्नु हुन्छ ? भट्टराईले हाम्रो प्रश्नको सहज जवाफ दिन सकेनन् वा दिएनन् । उनले जवाफ त दिए तर नेपालमा चलचित्रको अवस्था र सम्भावना तर्फ केन्द्रित हुन खाजे । उनले भने – ‘सिनेमा, खेलकुद सबै बिषय देशको विकासको स्तर अनुसार हुन्छ । देश विकशित हुँदै गयो, उद्योगधन्दा बिकशित हुँदै गए, मान्छे धनि हुदै गए, राज्यसँग प्रशस्त साधन स्रोत लगानी गर्ने बताबरण बन्यो, जनताको जीवनस्तर उठ्यो, साँस्कृतिक स्तर उठ्यो भने फिल्मको पनि त्यही स्तर हुन्छ । त्यही भएर फिल्म मात्र अत्यन्त राम्रो हुने, देश पछाडी पर्ने हुन सक्दैन । त्यो अभिन्न अंगले जोडिएकै हुन्छ । यसअर्थमा नेपालको विकासको चरण सापेक्षतामा नेपाली फिल्मले विकास गर्दैछ । अत्यन्त धेरै सम्भावना भएको हाम्रो मुलुक हो । विधिताको हिसावले जातिय, क्षेत्रीय जुन विविधता छ । हामी भारत र चिन जस्ता दुवै संस्कृतिको विचमा छौं । पूर्विय संस्कृतिका केन्द्र भारत र चिन, बौद्धिक र हिन्दु परम्परा, यि दुवैको संगम भएको हुनाले पनि नेपालमा विषय वस्तुको हिसावले पनि र यहाँको व्युटिका हिसावले पनि भोलि हाम्रो आर्थिक विकास हुँदैगयो भने चलचित्र क्षेत्रको विकासका लागि नेपाल विश्वकै चर्चित ठाँउ बन्न सक्छ ।’

भट्टराईको यो जवाफ हाम्रो प्रश्नको उत्तर थिएन । हामीले त भट्टराईको बुझाईमा नेपाली चलचित्रको पहिचान, परिभाषा वा परिचय खोजेका थियौं । त्यसैले प्रतिप्रश्न गर्यौ । उनलाई सम्भावनाको कुरा नभएर पहिचानमा केन्द्रित गरायौं । सायद चलचित्रकर्मीहरुलाई जस्तै भट्टराईलाई पनि निकै गाह्रो भएको हुनुपर्छ नेपाली चलचित्रको परिचय यही हो भन्न । त्यसैले केही भुमिका बाधेरै भए पनि जवाफ दिए । उनले भने – ‘केही सामाजिक अन्तरविरोधलाई अभिव्यक्त गर्ने चलचित्र हुन्छन्, कतिपय राजनीतिक प्रकृतिका पनि हुन्छन् । नेपालमा ति विविध प्रकृतिका चलचित्रहरु बन्दै गएको म देख्छु । र, सन्देश मुलक ढंगले पछिल्लो चरणमा राजनीतिक सन्देश दिने पनि, सामाजिक परिवर्तनका सन्देश दिने चलचित्रहरु पनि बनिरहेका छन् । त्यसैले कलात्मक सहित सन्देश मुलक चलचित्र नै नेपाली चलचित्रको पहिचान हो जस्तो लाग्छ ।’

Mahajatra