प्रदर्शन भयो ‘वसन्त’, एडभान्स टिकट बुकिङ न्यून

२०८१ चैत्र २२
प्रदर्शन भयो ‘वसन्त’, एडभान्स टिकट बुकिङ न्यून

आजबाट चलचित्र ‘वसन्त’को प्रदर्शनमा आएको छ । गायक प्रकाश सपुतको निर्देशन रहेको चलचित्रले देशभर करिब १९० शो प्राप्त गरेको छ ।

प्रकाश सपुतले यसअघि आफ्ना गीत तथा भिडियो मार्फत जनजीवनका कथा भन्दा सफलता र चर्चा पाउँदै आएका थिए । उनको त्यही क्रेजका कारण डेब्यु निर्देशन रहेको चलचित्रको चर्चा राम्रै छ । चलचित्र हलले उपलब्ध गराएको शो संख्याले पनि चलचित्र प्रतिक्षित हो भन्ने बलियो आधार मिल्छ । यद्यपी चलचित्रको एडभान्स टिकट बुकिङ न्यून छ । बिहानी शोहरुमा टिकट बुकिङ निराशाजनक छ । अब ‘वर्ड अफ माउथ’ कस्तो आउछ त्यसमा चलचित्रको व्यवसायिक भविष्य निर्भर हुने देखिन्छ । चलचित्रका सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले पनि डोरसेल मार्फत चलचित्रको व्यापार बढ्ने अनुमान गर्न सकिन्छ  ।

चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।