Mahajatra

सन्निको नजरमा ‘नेपाल’ विश्वकै सुन्दर देश

२०७६ भाद्र २७
सन्निको नजरमा ‘नेपाल’ विश्वकै सुन्दर देश

बलिउड अभिनेत्री सन्नी लियोनीले नेपालमा पाएको न्यायो आतिथ्यताले आफूलाई आनन्दित तुल्याएको बताएकी छिन् । नेपाल आफूलाई संसारकै सबैभन्दा मनपर्ने देश रहेको भन्दै उनले नेपाल आउन पाउँदा निकै खुसी लागेको जनाइन ।

बिहिबार साँझ राजधानीको कुमारी हलमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’को रेडकार्पेट प्रिमियर शोमा उपस्थित सन्निले सञ्चारकर्मीमाझ यस्तो बताएकी हुन् । यसअघि विभिन्न कार्यक्रमको दौरान नेपाल आएकी सन्नि यसपटक भने आफैले बिशेष भुमिकामा काम गरेको चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागि नेपाल आएकी हुन् ।

साँझ ६ बजेका लागि पत्रकार र कलाकारलाई प्रिमियरमा डाकिएको थियो । पूर्व निर्धारित समय तालिका अनुसार सन्निले ७ बजे रेडकार्पेटमा वाक गर्नुपर्ने थियो । तर, सन्नि नेपाल आउन २ घण्टा डिले हुँदा प्रिमियर पनि केही डिले भएको थियो । सन्नि ८ बजे पछि मात्र कार्यक्रम स्थलमा आइपुगेकी थिइन । नेपाल प्रहरीको कडा सुरक्षाका बिच बडिगार्ड सहित उनी प्रिमियरमा उपस्थित भएकी थिइन । केही फितलो व्यवस्थापनका कारण निम्तालु पत्रकार र कलाकार बाहेक सन्निलाई हेर्न जम्मा भएको पव्लिकले समेत रेडकार्पेट सम्म सहज प्रवेश पाएका थिए । जसका कारण कार्यक्रम स्थलमा केही भिड देखिएको थियो । त्यसबाहेक सन्निसँग तस्विर खिच्न एकाध उच्छृखल व्यक्तिहरु स्टेज सम्मै पुगेपछि सन्निले आश्चर्य व्यक्त गरेकी थिइन । भिड भन्दा पनि उपस्थित केही व्यक्तिहरुको शैलीका कारण सन्निले आश्चर्य प्रकट गरेको इभेण्ट होस्ट गरिरहेकी सन्ध्या थापाले बताइन ।

झण्डै १० मिनेट स्टेजमा रहेकी सन्निले नेपाली चलचित्रमा काम गर्न पाएकोमा खुशी व्यक्त गरिन । सन्निले चलचित्रमा समावेश ‘आजको शाम’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी छिन । नेपाली गीतको लिप्सीङ गर्न कति सहज भयो भन्ने आशयको जिज्ञाशा राख्दा सन्निले उक्त गीत निकै राम्रो रहेको र धेरैपटक सुनेको बताइन् । पटक पटक गीत सुनेका कारण आफुलाई लिप्सिङ गर्न कठिनाई नभएको उनको भनाई छ । उनले चलचित्रलाई दर्शकले मन पराउने विश्वास समेत व्यक्त गरिन ।

रेडकार्पेट इभेण्ट पछि सन्नि चलचित्र हेर्न हल प्रवेश गरेपनि पुरा समय हलमा बसिनन् । एक विशेष काम रहेको भन्दै उनी करीब आधा घण्टामै हलबाट बाहिरिएकी थिइन् । चलचित्र ‘पासवर्ड’ शुक्रबारबाट प्रदर्शनमा आएको छ ।