Mahajatra

बैशाखी टेकेर दर्शक भेट्न हल पुगे बिपिन

‘प्रसाद’बाट मिल्यो लोभलाग्दो प्रतिक्रिया

२०७५ पौष १
बैशाखी टेकेर दर्शक भेट्न हल पुगे बिपिन

चलचित्र ‘प्रसाद’का प्रति चलचित्रकर्मी, समिक्षक अनि आम दर्शक सबैबाट सकारात्मक प्रतिक्रिया पाइरहदा सबैभन्दा बढी प्रसंसा बटुल्ने कलाकार हुन विपिन कार्की । प्रसादमा निभाएको पात्रमा उनले प्राण भरिदिएका छन् । जीवन्त अभिनय गरेका छन् । चलचित्रको मुख्य खव्बाका रुपमा प्रस्तुत छन् । सानो सानो कुरामा विशेष अभिनय छ । सायद यसैले होला उनको कामले चौतर्फि प्रसंसा बटुलिरहेको छ ।

आफ्नो कामका प्रति भएको प्रसंसा त विपिनले सुनेका छन् तर दर्शकसँग बसेर चलचित्र हेर्न पाएका छैनन् । न त उनले प्रिमियरमा नै चलचित्र हेर्न पाए । केही समय अघि सडक दुर्घटनामा परेर यतिबेला आराम गरिरहेका बिपिनको मन शनिबार भने चलचित्र हल नआइ मान्दै मानेन । दोस्रो सातामा पनि उत्साहजनक व्यापार गरिरहेको चलचित्र शनिबार अधिकांश मल्टिप्लेक्स र सिंगल थियटरहरुमा हाउसफुल भयो । शनिबार साँझ बैशाखी टेकेरै भए पनि उनी विग मुभिजमा आइपुगे । जहाँ उनले दर्शकसँग चलचित्रका बारेमा प्रतिक्रिया समेत लिए । जहाँ उनले आफुले दर्शकबाट एकदमै लोभलाग्दो प्रतिक्रिया पाएको बताए । आफुले सोचेको भन्दा बढी सफलता प्रसादले दिएको उनको भनाई छ ।

बिपिन घरमै आराम गरिरहेका थिए । तर, सञ्चारमाध्यममा प्रसादको सामग्री अनि सामाजिक सञ्जाल विपिनमय भएको थियो । सबैतिर उनको अभिनयको चर्चा र प्रसंसा थियो । उनी यो कुराबाट अपडेट त थिए नै तर विश्वस्त हुन सकिरहेका थिएनन् । आफैले दर्शकसँग प्रतिक्रिया लिएपछि भने उनी ढुक्क भए । प्रसादका कारण मनमा चलिरहेको छटपटि दर्शकलाई भेटेर प्रतिक्रिया लिएसँगै शान्त भयो । शनिबार साँझ पत्रकारसँग गफिदै गर्दा बिपिनले भने आजबाट रिलिफ महशुस भयो ।

हुन त जुन कुनै पात्रलाई जीवन्तता दिन सहज पक्कै छैन । यदपी विपिनले हरेक पात्रलाई जीवन्त बनाउने कोसिस गर्छन । प्रसादमा उनी सफल भएका छन्, उनै शब्दमा भन्ने हो भने – ‘पात्रमा आत्म भर्न अर्थात त्यही मान्छे हो भनेर फिल गराउन ।’

दिनेश राउत निर्देशित चलचित्रमा बिपिनका अलवा नम्रता श्रेष्ठ, निश्चल बस्नेत, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रलाई शुशिल पौडेलले लेखेका हुन ।

तस्विर सौजन्यः रमाइलो छ डटकम र रातो खुर्सानी