Mansara

नेपालसँग मुकावाला गर्न सक्ने अरु कुनै देश छैन – गोविन्दा

आफ्नो पहिलो प्रेम नेपालीसँग

२०७५ असोज १
नेपालसँग मुकावाला गर्न सक्ने अरु कुनै देश छैन – गोविन्दा

एलजी सिने सर्कल अवार्डका लागि दिनको दुई बजेका लागि निम्तालुहरु डाकिएको थियो । निर्धारित समयमा नै अधिकांश निम्तालुहरु राष्ट्रिय सभागृहमा पुगिसकेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथी र बलिउड अभिनेता गोविन्दा विशेष अतिथी रहने भएकोले कार्यक्रम स्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रत्येक निम्तालुको निम्ताकार्ड दुई स्थानमा चेक गरेर मात्र प्रवेश दिइएको थियो । मेन गेटमा चेक गरेर प्रवेश दिएपनि सभाहलमा प्रवेशका लागि पुनः कार्ड चेक गरिएको थियो । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

सभागृहमा निम्तालुहरुको भिड जम्मा हुँदै थियो । तर कार्यक्रम हल भित्र भने सुरक्षाकर्मीहरु जाँच गरिरहेका थिए । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सुरक्षाकर्मीहरु तालिम प्राप्त कुकुरको सहयातामा हलभित्र जाँच गरिरहेका थिए । प्रेक्षालयमा भने निम्तालुहरु एक आपसमा गफिदै थिए । पत्रकारहरु रेड कार्पेटमा सेलिब्रेटीहरुको तस्विर तथा अन्र्तवार्ता लिन व्यस्त थिए ।

झण्डै पौने ३ बजे सुरक्षा जाँच सकियो । अनि हलमा प्रवेश दिइयो । निम्तालुहरु हलमा प्रवेश गरे तर पर्खाइ थियो गोविन्दाको ।

घडीले ३ः१० बजाइसकेको थियो गोविन्दा आएका थिएनन् । बरु सवा ३ बजे गोविन्दाकी छोरी टिना कार्यक्रम स्थलमा प्रवेश गरिन । त्यसको केही समयपछि ३ः२० मा गोविन्दा कार्यक्रम स्थलमा आए । गोविन्दालाई अवार्डका अध्यक्ष दिनेश डिसीले पुष्प गुच्छाले स्वाग गरे । उनीसँगै थिए चौधरी ग्रुपका निर्देशक बरुण चौधरी ।

गोविन्दाले उपस्थित सबैलाई हात हल्लाएर अभिवादन गरे । हलमा निरन्तर तालि बज्यो । अनि मन्द मुस्कानका साथ नेपालीहरुको आत्मियता ग्रहण गर्दै आसन ग्रहण गरे ।

त्यसको केही समयपछि उपराष्ट्रपति नन्दबहादुर पुन हलमा प्रवेश गरे । उनलाई पनि डिसीले स्वागत गरे । पुनले गोविन्दा लगायतका अतिथीहरुसँग हात मिलाए अनि उपस्थितहरुलाई अभिवान गरे । उनको सम्मानमा पनि तालि बज्यो ।

उपराष्ट्रपतिको आगमनसँगै राष्ट्रिय गान बज्यो । सबै उठेर राष्ट्रप्रतिको सम्मान व्यक्त गरे । राष्ट्रिय गानसँगै औपचारिक रुपमा कार्यक्रम शुरु भयो ।

शुरुमा नेपाली सेनाको व्याण्डले नेपाली चलचित्रका धुनहरु प्रस्तुत गरेको थियो । विभिन्न कालखण्डका चर्चित गीतहरुमा आफ्नो प्रस्तुती दिएको आर्मी व्याण्डले ले गोविन्दाको सम्मानमा उनका केही चर्चित गीतहरुको धुन समेत प्रस्तुत गरेको थियो । डान्सिङ स्टारको उपमा समेत पाएका गोविन्दा भने आर्मी व्याण्डको प्रस्तुतिमा झुमेका देखिन्थे ।

आर्मी व्याण्डको प्रस्तुति लगत्तै विभिन्न विधामा अवार्ड प्रदान गर्नेकाम शुरु भयो । स्टेजमा पुगेका अधिकांश चलचित्रकर्मीहरु गोविन्दालाई ज्वाई साप भन्न छुटाउँदैनथे । नायक रमेश उप्रेतीले त गोविन्दालाई गुरु भन्न पनि छुटाएनन् । आफु गोविन्दाको ठुलो फ्यान भएको भन्दै उनले गुरु भनेका थिए । तर फेस टु फेस भने पहिलो पटक भेटेका रहेछन् । यस्तै नायिका निता ढुङ्गानाले गोविन्दालाई भिनाजु नै भनिदिइन । कलाकार सुनिल थापाले गोविन्दाको निकनेम चिचि रहेको भन्दै सम्बोधन गरे ।

अवार्ड समारोह गोबिन्दामय भएको थियो । यसैबिच कोरिग्राफर गम्भिर विष्टले उनका केही चर्चित गीतमा नृत्य प्रस्तुत गरे । गोविन्दाकै शैलीमा स्टेजमा प्रस्तुत भएका गम्भिरको प्रस्तुति आर्कषक थियो । यति मात्र होइन गोविन्दाको संक्षिप्त जीवनी समेटिएको एक भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो ।
समारोहको दौरान गोविन्दालाई नेपाली ढाकाको दोसल्ला ओढाएर सम्मान समेत गरियो । उपराष्ट्रपति सहित स्टेजमा पुगेका नेपाली चलचित्रकर्मीहरुले गोविन्दालाई सम्मान गरे । 

गोविन्दालाई सम्मान गरेको केही समय पछि लाइफटाइम अचिभमेण्ट अवार्ड अर्पण गरियो । बरिष्ठ निर्देशक किशोर रानालाई सम्मान गर्न गोविन्दा पुनः स्टेज चढे । मृगौला प्रत्यारोपण पछि घरमै स्वास्थ्य लाभ गरिरहेका राना कार्यक्रममा उपस्थित हुन नसकेकोले उनकी श्रीमति गायिका संगीता प्रधान रानाले अवार्ड ग्रहण गरिन । गोविन्दाले स्टेजमै संगीतासँग केही कुरा गरे । तर माइक नभएकोले त्यो कुराकानी के थियो थाहा हुन सकेन ।

अब पालो आयो गोविन्दाको सम्बोधनको । गोविन्दा निकै हसिलो मुद्रामा प्रस्तुत भए । शुरुमा उनले नेपालीको आत्मिय माया प्रति आभार व्यक्त गरे । उनले नेपाली आफ्नो पहिलो प्रेम रहेको बताउन पनि पछि परेनन् । हलमा तालि बज्यो । उनले एकछिन पज लिए । अनि आफ्नो पहिलो प्रेम नेपाली युवतीसँग भएको बताए । उनले यसो भनिरहँदा हलमा हाँसो गुञ्जियो । मन्द मुस्कानका साथ उनले थपे – ‘अघि के भनौं श्रीमतिको अघि मेरो बोलि बन्द हुन्छ । साथमा तपाईहरु हुनुहुन्छ अझ बढी सोच्न पर्छ ।’ उनले अघि थपे – ‘प्रेम र साहसको मालमा नेपालसँग मुकाववला गर्न सक्ने अरु कुनै देश मैले देखेको छैन ।’ उनले यसो भनिरहदा तालिका साथ सबैले समर्थन जनाए ।

उनले इश्वरले भगवान जस्ती आमा र नेपालले छोरी दिएको भन्दै आमा र श्रीमतिको समेत तारिफ गरेका छन् ।

आफु चलचित्रमा गएको नभई भगवानले आफ्नो हातमा चलचित्र क्षेत्र दिएको भन्दै गोविन्दाले कुनै बेला एकसाथ ७५ चलचित्रमा काम गर्न सम्झौता गरेको प्रसंग समेत सम्झिए । उनले त्यो समय सम्झदै भने – ‘हस्ताक्षर त गरे तर, दिलीप कुमार साबले तीमध्ये २५ चलचित्र छोड्न भन्नु भयो । मैले भने पैसा त लिइसके, उहाँले फिर्ता गर्न भन्नु भयो, मैले पनि त्यस्तै गरे ।’

उनले सम्बोधनको क्रममा संस्कृतका स्लोक समेत सुनाएका थिए । उनले संसकृतका स्लोक सुनाउँदा हलमा निरन्तर तालि बजेको थियो । संस्कृत स्लोकै क्रममा हरहर महादेव भन्दै सम्बाधनको बिट मारेका गोविन्दाले सरी भन्दै केही कुरा थप्न चाहे । उनले सबैभन्दा पहिले पत्रकारलाई धन्यवाद दिए अनि उपस्थित कलाकारमाझ आफ्नो प्रेम बाडे । उनले सालीको प्रसंग समेत कोट्याए ।

गोविन्दाले नेपाली चलचित्र पनि उत्कृष्ट बनिरहेको भन्दै तारिफ समेत गर्न भ्याए । मनोनयनको भिडियो क्लीप हेरेकै भरमा उनले भने – ‘यस्तै प्रयोग गर्दै जानु म इश्वरसँग प्राथना गर्छु यहाँबाट राम्रा राम्रा चलचित्र बन्नेछन् ।’

Mahajatra