Mansara

‘छ माया छपक्कै’ले तोड्यो ‘छक्का पञ्जा ३’को रेकर्ड

२०७६ असोज २५
‘छ माया छपक्कै’ले तोड्यो ‘छक्का पञ्जा ३’को रेकर्ड

चलचित्र ‘छ माया छपक्कै’ले ‘छक्का पञ्जा ३’को ओपनिङ कलेक्सन तोडेको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले शक्रबार र शनिबारको व्यवसायिक रिपोर्ट नवताएपनि आफ्नो अघिल्लो चलचित्रको व्यवसायिक रेकर्ड ब्रेक गरेको बताएका छन् । उनले यति पैसा कमायो भनेर भन्दा त्यत्ति राम्रो नसुनिने भन्दै बक्सअफिस कलेक्सन सार्वजनिक गर्न चाहेनन् ।

दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रले शनिबार विहानै देखि शत प्रतिशत व्यापार गरेको छ । शुक्रबारबाटै आक्रामक व्यापार गरेको चलचित्र शनिबार देशैभर हाउसफुल भएको निर्माता रोहित अधिकारीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । त्यसो त मोफसल वितरणको जिम्मा लिएको एफडि कम्पनीका प्रबन्ध निर्देशक शुशिल पोखरेलले पनि ‘छक्का पञ्जा ३’को पहिलो दिनको व्यवसायिक रेकर्ड ‘छ माया छपक्कै’ले तोडेको जनाएका छन् ।

त्यसो त चलचित्रले दर्शकमात्र नभएर सकारात्मक प्रतिक्रिया पनि पाएको छ । दर्शकहरुले यसको विषयवस्तु मन पराएका छन् । दिपक दिपाको टिमले छैटौं चलचित्रमा पनि दर्शकहरुको अपार साथ पाएको छ । दर्शकसँग खुशी साट्न राजधानकिो गोपीकृष्ण हल पुगेकी चलचित्रकी निर्देशन सल्लाहकार दिपाश्री निरौलाले यो व्यापारलाई आज सम्मकै मायाको रेकर्ड भनेकी छिन । यस्तै अभिनेत्री केकी अधिकारीले आफ्ना लागि दर्शकको यो साथ नयाँ अनुभव भएको भन्दै नतमस्तक रहेको बताएकी छिन ।

चलचित्रमा केकी अधिकारी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्दि तामाङ, सुपुष्पा भट्ट, प्रकाश अधिकारी, अनुराग कुँवरलगायतका कलाकारको अभिनय रहेको छ । रोहित अधिकारीले निर्माण रहेको चलचित्र दीपक-दीपाको प्रस्तुति हो । चलचित्रमा निर्देशक लामाकै कथा, दीपकराज गिरीको पटकथा, अभिमन्यु निरबी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालको संवाद रहेको छ ।

जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा सुमन गिरी (भान्जा), ताराचन्द बजगाईं (निशान), केशव न्यौपाने, सुरज बम ठकुरी र रविन डाँगी सहनिर्माता हुन् । चलचित्रमा राजेन्द्र थापाको शब्द, बसन्त थापाको संगीत, बसन्त र मिना निरौलाको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।