‘होस्टेल ३’मा ‘कुल ब्वाइ’ अनुबन्धित

२०८१ बैशाख २१
‘होस्टेल ३’मा ‘कुल ब्वाइ’ अनुबन्धित

चलचित्र ‘होस्टेल ३’मा ‘कुल ब्वाइ’को नामबाट चर्चित पारस बम अनुबन्धित भएका छन् । टिकटकर हुँदै इन्टरनेटमा ‘भिडियो कन्टेन्ट कृयटर’को रूपमा चर्चित बमलाई चलचित्रको प्रमुख एक पात्रको लागि लिइएको निर्देशक सशान कँडेलले बताए ।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘टिनेजर्स’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको चलचित्रबाट डेब्यु गर्न लागेका बम गायक समेत हुन् । उनका ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका गीतहरू चर्चित छन् ।

जुन पात्र चलचित्रको स्क्रिप्टले ‘डिमान्ड’ गरेको छ त्यो पात्रमा कुल ब्वाइ सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए । उनले यस चलचित्रबाट पनि अघिल्ला भागहरूमा जस्तै कुल ब्वाइ सहितका अन्य केही स्टार कलाकारको जन्म हुने जनाए ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए । उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन् ।

‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए भने ‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माताहरू शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।

Kumari Bank