यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु

‘पूर्णबहादुरको सारङ्गी’ ब्लकबस्टर, बक्स अफिसमा राख्यो नयाँ रेकर्ड

२०८१ कार्तिक २९
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु

चलचित्र वितरकले दिएको आंकडालाई विश्वास गर्ने हो भने ‘पूर्णबहादुरको सारङ्गी’ले बक्स अफिसमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेण्टको दाबी अनुसार ‘पूर्णबहादुरको सारङ्गी’ले प्रदर्शनको १३ औं दिन अर्थात मंगलबार सम्म २५ करोड भन्दा बढीको व्यापार गर्दै सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने नेपाली चलचित्रको किर्तिमान कायम गरेको हो ।

चलचित्र विकास बोर्डले आधिकारीक रुपमा चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्दा वितरकले दिएको तथ्याङ्कमा भर पर्नुपर्ने अवस्था छ । यसअघि चलचित्र ‘कबड्डी ४’ले कुल २३ करोड ५० लाखको ग्रस कलेक्स्न गरेको निर्माताहरुले दाबी गरेका थिए । दुबै चलचित्रको प्रस्तुत आंकडा नेपाली बक्स अफिसको हो ।

‘पूर्णबहादुरको सारङ्गी’ले सबैभन्दा बढी कमाउने चलचित्रको रेकर्ड राखीरहदा यसका निर्माता बिनोद पौडेलले भने आफ्नो चलचित्रलाई ‘ब्लकबष्टर’को ट्याग नदिएको गुनासो गरेका छन् । उनले मंगलबार दिउसो फेसबुकमा स्टाटस लेख्दै यस्तो गुनासो गरेका हुन् । उनी लेख्छन् – ‘अनि कति करोडको विजनेस गर्दा यो ब्लकबष्टरको ट्याग पाइने रहेछ ? वितरक सरहरु यो ट्याग चै कताबाट आउने रहेछ । धेरै समय पो लाग्यो ।’

वास्तवमै यो ट्याग कताबाट आउँछ । कसले घोषणा गर्ने हो चलचित्रलाई ब्लकबष्टर ? के वितरकहरुले दिने हो हिट, सुपरहिट, ब्लकबष्टर, अलटाइम ब्लकबष्टर जस्ता ट्यागहरु ? आखिर निर्माता पौडेलले को बाट अपेक्षा गरेका हुन् आफ्नो चलचित्रका लागि ब्लकबष्टरको ट्याग ? त्यो उनै जानुन् । यद्यपी केही मल्टीप्लेक्सहरुले आफ्नो हलको ब्यापारीक रिपोर्टका आधारमा चलचित्रलाई सुपरहिटको ट्याग दिन थालेकोले निर्माता पौडेलले हल र आफ्ना वितरकबाटै यस्तो ट्याग खोजेका हुन् की । वा त सञ्चार माध्यमबाट यस्तो ट्याग खोजेका हुन । त्यो स्पष्ट छैन ।

कुरा जे भएपनि यो लेखक चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’लाई ‘ब्लकबष्टर’को ट्याग दिन कन्ज्युसाई गर्दैन । यो चलचित्रलाई ‘ब्लकबष्टर’को उपमा दिदै गर्दा त्यसका केही आधार र कारणहरु बारे पाठकलाई स्पष्ट पार्नै पर्छ । नेपालमा चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टर जस्ता उपमा कस्ले दिने भन्ने कुरा स्पष्ट नभएपनि सार्वजनिक बक्स अफिस रिपोर्टका आधारमा बिभिन्न उपमाहरु दिने प्रचलन रही आएको छ । यस्ता उपमाहरु विश्वव्यापी रुपमा प्रचलनमा छन् । नेपाली चलचित्रले विभिन्न चुनौतीहरुको सामना गर्दै आफ्नो पहिचान र व्यापारिक सफलताको खोजी गरिरहेको समयमा यस्ता उपमाले निकै ठुलो महत्व राख्ने गरेको छ । प्रस्तुत लेखमा यी उपमाका मापदण्ड, नेपाली चलचित्रकर्मीहरुको लालसा र यसले चलचित्रको व्यापार र गुणस्तरमा पार्ने प्रभावका बारेमा चर्चा हुनेछ ।


के आधारमा दिइन्छ चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टर चलचित्रको उपमा ?


चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर वा अल–टाइम ब्लकबष्टर उपमा दिने पहिलो आधार बक्स अफिस रिपोर्ट नै हो । यस्ता उपमा दिनका लागि नेपालमा कुनैपनि स्वीकृत मापदण्ड भने छैन । यद्यपी नेपाली चलचित्रका सन्दर्भमा सर्वमान्य शैलीमा केही प्रचलित आधारहरु छन् । शुरुमा तिनै आधारहरुबारे उल्लेख गरौं ।

हिटः जब चलचित्रले आफ्नो निर्माण खर्चभन्दा माथि आम्दानी गर्छ, त्यसलाई हिट मानिन्छ । साधारणतया, लगानी र मार्केटिङ खर्च कटाएर चलचित्रले नाफा कमाउँदा हिटको उपमा दिइन्छ ।

सुपरहिटः यदि चलचित्रले लगानीभन्दा दोब्बर वा अझै बढी आम्दानी गर्छ भने त्यसलाई सुपरहिट भनिन्छ ।

ब्लकबस्टरः ब्लकबस्टर उपमा पाउन, चलचित्रले निकै ठूलो नाफा कमाउनु पर्ने हुन्छ । यसमा चलचित्रले लगानीभन्दा धेरै गुणा कमाइ गरेर विशेष सफलता पाएको हुन्छ ।

अल–टाइम ब्लकबस्टरः यो उपमा विरलै दिइन्छ र यस्तो चलचित्रको सफलतालाई दशकौं सम्म सम्झना गरिन्छ । यस्तो चलचित्रले लगानीभन्दा धेरै गुणा कमाइ मात्र होइन, उद्योगको इतिहासमा नयाँ मापदण्ड पनि स्थापित गर्छ ।


किन लालायित हुन्छन् नेपाली चलचित्रकर्मीहरु यस्ता उपमा पाउन ?


नेपाली चलचित्रकर्मीहरु हिट, सुपरहिट, ब्लकबस्टर जस्ता उपमा पाउन निकै लालायित देखिन्छन् । चलेका चलचित्रको हकमा यस्तो लोभ स्वभाविक हो । एक अर्थमा उनीहरुको हक हो । तर, कतिपय चलचित्रको सवालमा बक्स अफिसमा कमजोर ब्यापार हुँदा पनि चलचित्र निर्माण टिमले आफैले यस्ता उपमा सहित स्वघोषित ट्याग लिने गरेको पनि देखिन्छ । यसका पछाडीका केही कारणहरु यस्ता छन् । 

व्यावसायिक सफलताः चलचित्रलाई हिट वा ब्लकबस्टरको उपमा पाउँदा व्यावसायिक लाभ बढी हुने विश्वास गरिन्छ । यस्ता उपमा पाएको चलचित्रले दर्शकको ध्यान थप आकर्षण गर्छ, जसले टिकट बिक्रीमा वृद्धि गर्न मद्दत पुग्ने विश्वास राखिन्छ ।

प्रतिष्ठाः चलचित्रकर्मीका लागि यो सम्मानको कुरा पनि हो । यस्ता उपमाले निर्देशक, निर्माता, कलाकार सहित टिमा आवद्धहरुको साख र प्रतिष्ठा बढाउँछ । प्रतिष्ठाको लोभमा पनि केही चलचित्रकर्मीले स्वघोषित रुपमा यस्ता ट्याग लिने गरेका छन् ।

विदेश राइटस्ः स्थापित ब्यानर, सफल निर्देशक र स्टार कलाकार बाहेकका सवालमा नेपालमा हिट, सुपरहिट वा ब्लकबस्टर भएपछि मात्र अक्सर चलचित्रहरुको विदेशको राइटस् बिक्रि हुने गरेको पाइन्छ । नेपालमा सफलताको ट्याग पाएमा विदेशको राइटस् महङ्गो रकममा बिक्रि हुन्छ । यसले निर्मातालाई बढी मुनाफा दिन्छ ।

भविष्यमा प्राप्त हुने अवसरः सफल चलचित्रका कलाकार र निर्माण टोलीका लागि भविष्यमा काम गर्ने अवसरहरु बढ्छ । खासगरि हिट, सुपरहिट वा ब्लकबस्टर चलचित्रमा काम गरेका कलाकार, लेखक तथा निर्देशकको पारिश्रमिक ह्वात्तै बढ्ने गरेको पनि देखिन्छ । चलेका ब्यानर र निर्देशकहरुबाट कामको अफर आउने सम्भावना पनि उत्तिकै हुन्छ । यता निर्माण कम्पनी दर्शकमाझ स्थापित हुन्छ । उक्त कम्पनीको ब्यानरमा बन्ने चलचित्रमा लगानीकर्ताहरु सहजै भित्रने सम्भावना निकै बलियो हुन्छ । आगामी चलचित्रको डिजिटल राइटस्, विदेश राइटस्लगायत महङ्गो मुल्यमा अग्रिम बिक्रि हुन्छन् । यसले भविष्यमा निर्माण हुने चलचित्रको मार्केटिङ्गमा समेत अहम् भूमिका खेल्छ ।


चलचित्र क्षेत्रलाई पार्ने प्रभाव ?


हरेक चलचित्रको सफलता वा असफलताले चलचित्र क्षेत्रमा कुनै न कुनै प्रभाव छोडेकै हुन्छ । यसैले यस लेखमा सकारात्मक र नकारात्मक दुबै पक्षबाट यसका प्रभावहरु केलाउने कोसिस गरिएको छ ।

सकारात्मक प्रभावः

आर्थिक पक्षमा वृद्धिः हिट, सुपरहिट वा ब्लकबस्टर चलचित्रले चलचित्रकर्मीलाई आर्थिक रुपमा सबल बनाउँछ । चलचित्र निर्माता र हल सञ्चालकलाई उच्च प्रतिफल दिन्छन् । यसले भविष्यमा पनि चलचित्र निर्माणका लागि लगानीकर्तालाई थप प्रोत्साहन दिन्छ ।

चलचित्रको स्तरमा वृद्धिः यस्तो सफलता पाएको चलचित्रले कुनै न कुनै रुपमा चलचित्र क्षेत्रलाई पनि माथि उठाउँछ । यसले राम्रो विषयवस्तु, अभिनय र प्रविधिको प्रयोगमा जोड दिन्छ । चलचित्र हरेक पक्षमा सबल भएमा ब्लकबस्टर हुन्छ भन्ने कुराको उदाहरण सेट गर्छ ।

कलाकार र प्राविधिकको मनोबलमा वृद्धिः यस्ता उपमा प्राप्त गर्दा कलाकार र प्राविधिकको मनोबल उच्च हुन्छ । यसले नयाँ जोश र ऊर्जा प्रदान गर्दछ ।

दर्शकसँगको कनेक्स्नः यदी सफल चलचित्र उत्कृष्ट पनि छन् भने तिनले धेरै दर्शकसँग चलचित्र प्रतिको बलियो कनेक्स्न स्थापित गर्छन । यस्ता चवलचित्रले सिनेमा संस्कृतिको विकास गर्छन । जसका कारण भविष्यमा अन्य चलचित्रको व्यवसायिक सफलतामा समेत महत्वपूर्ण प्रभाव पार्न सक्छन् ।


नकारात्मक प्रभावः
दर्शक भड्किन सक्नेः बक्स अफिसमा सफल भएका सबै चलचित्र उत्कृष्ट नहुन पनि सक्छन् । चलचित्रको गीतसंगीत, मार्केटिङ्ग शैली जस्ता कुराहरुले पनि ब्यापारमा प्रभाव पार्छ । यदी बक्स अफिसमा सफल भएका चलचित्र उत्कृष्ट छैनन् भने दर्शक भड्किने डर ब्याप्त हुन्छ । यस्ता चलचित्रले सिनेमा साहित्य माथी न्याय गर्दैनन् । दर्शकसँग बलियो सम्बन्ध स्थापित गर्न सक्दैनन् । जसका कारण दर्शकहरुमा नेपाली चलचित्र यस्तै त हो नी भन्ने गलत भाष्य स्थापित हुन सक्छ । जसको असर अन्य चलचित्रको व्यापारमा पनि देखिन्छ ।


उल्लेखित मापदण्डका आधारमा ‘पूर्णबहादुरको सारङ्गी’ले ‘ब्लकबष्टर’ चलचित्रको उपमा पूर्ण रुपमा प्राप्त गर्छ । चलचित्र रिलिज पूर्व निर्माण टिमले यसको लगानी एक करोड ३० लाख बताएको थियो । यही लगानीलाई आधार मान्दा चलचित्रले कुल लगानीको १९ गुणा भन्दा बढीको व्यापार गरेको छ । वितरकले दिएको रिपोर्ट अनुसार चलचित्रकोे ग्रस कलेक्सन लगानीभन्दा धेरै गुणा बढी भएको र यसले नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड समेत कायम गरेको छ । यसको ब्यापार अझै केही समय स्थीर रहने अनुमान गर्न सकिन्छ । जसका कारण चलचित्रको ग्रस कलेक्सन थप बढ्ने छ । यो सफलताका आधारमा चलचित्रलाई ‘अल–टाइम ब्लकबस्टर’को उपमा पनि दिन सकिन्छ । यद्यपी यो उपमा यति छिट्टै दिनु अलिक हतार हुन सक्छ । यद्यपी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’लाई नेपाली बक्स अफिसमा सगर्व ‘ब्लकबष्टर’को उपमा दिनु पर्छ ।

Kumari Bank
Aktor