Mansara

नेपाली चलचित्रमा दशैं

कुन कुन चलचित्रमा छ कस्तो दृष्य

२०७५ असोज ३०
नेपाली चलचित्रमा दशैं
चलचित्र परदेशीको एक दृष्यमा कलाकारहरु

नेपालीहरुको महान चाड दशैंको रौनकता भरिएको छ । दशैको आगमन सँगै नेपालीहरुमा खुशी भरिएको पाइन्छ । खासगरि मान्यजनको हातबाट टिका र जमरा ग्रहण गरि मनाइने यस पर्वमा पिङ्ग खेल्ने र चङ्गा चेटको परम्परा पनि रही आएको छ ।

नेपालीहरुको संस्कृति र महान पर्वका रुपमा दशैलाई महत्वका साथ मनाइने गरिन्छ । तथापी नेपाली चलचित्रहरुमा दसैंले त्यस्तो महत्वपूर्ण स्थान पाउन सकेको छैन । जबकि यहि दसैंको अवसर पारी आफ्नो चलचित्र रिलिज गर्न निर्माता बिच घम्साघम्सी नै हुने गर्छ ।

नेपाली समाजमा जति महत्वका साथ दशैंलाई मनाइन्छ त्यसको तुलनामा चलचित्रमा दशैंको प्रसंग उल्लेख्य मात्रमा उल्लेख छैन । यद्यपी हुँदै नभएको भने होइन । चलचित्रमा दशैले कस्तो महत्व पाएको छ आज हामी यही प्रसंग उठान गर्नेछौं ।

विशेषगरी वैदेशिक रोजगार सम्बन्धी कथा बोकेका चलचित्रहरुमा दसैंको प्रसङ्गले केही स्थान पाएको देखिन्छ । यसपालि दसैंमा पनि छोरो घर आएन वा यसपाली पनि दशैमा घर जान पाइएन भन्ने खालका सम्बाद हरु केही चलचित्रमा समेटिएको पाइन्छ । 
निर्देशक नरेन्द्र थापाको चलचित्र देश देखि बिदेशमा पनि एउटा यस्तै गीत समावेश गरिएको छ । जसमा दशै र तिहार बिदेशमै बितेको कुरा उल्लेख छ ।

चलचित्र म तिमिविना मरिहाल्छु मा पनि शान्ति सेनामा गएको सैनिक बन्धक भएकै अवस्थामा दशै आएको प्रसंग सहित घरको याद आएको गीत समावेश गरिएको छ ।

यस्तै निर्देशक शम्भु प्रधान को चलचित्र नेपाल प्यारो छ, किरण प्रधानको कस्तुरी, र स्वर्गीय शिव रेग्मीको मुग्लान जस्ता चलचित्रहरुमा विदेशमा बसेका नेपालीहरुले दसैं मनाएको र दसैंको बेला नेपाल सम्झेका प्रसङ्गहरु समेटिएको छ । चलचित्र मुग्लानमा एक लाहुरेले दशै मनाउन घर आएको बताए पछि प्रसंग दशैमा केन्द्रित हुन्छ । यही नेर दशै आयो बोलको गीत समावेश गरिएको छ । अहिले दशैं भन्दा साथ सम्झने गीत मुग्लानको दशैं आयो... बनेको छ । यो गीत हरेक वर्ष दशैंमा घन्किने गर्छ ।

यता निर्देशक तुलसी घिमिरेको चलचित्र लहनामा भारतीय भुमिमा बस्दै आएका नेपालीहरुले मनाउँदै गरेको दसैंको दृश्य समेटिएको थियो । दार्जिलिङतिर शुटिङ्ग भइरहेकै बेला दसैैं परेकोले संयोगवश लहनामा उक्त दृष्य अट्न पुगेको हो । यस्तै नारायण पुरीको महादेवीमा टिकाको समयमा उच्चारण गरिने दुर्गा स्तोत्र जयन्ती मंगलाकाली भद्रकाली कपालिनी राखिएको छ । यही स्तोत्र निर्देशक नीर शाहको बसन्तीमा पनि छ । निर्देशक श्याम राईको आँखा लोभी मन पापीमा विदेशमा काम गर्न गएका सन्तानहरु दसैं जस्तो महान् चाडमा पनि व्यस्तताको कारणले आफ्ना अभिभावकहरुको हातबाट टिका थाप्न नआउने प्रसङ्ग राखिएको छ । यता प्रदीप श्रेष्ठ निर्देशित चलचित्र जीवन रेखामा भने दशैंको प्रसंग सहित एक गीत समावेश छ । जीवन रेखामा कारुणिक रुपमा यस्तो दृष्य समावेश गरिएको छ ।

यस्तै चलचित्र गोर्खा पल्टनको एक गीतमा कलाकारहरु टिका र जमाराका साथमा प्रस्तुत भएका छन् । दशैको कुरा कतै उल्लेख नभए पनि टिका र जमारा लगाउनु ले दशैको परिवेश देखाउन खोजेको बुझिन्छ ।

चलचित्र परदेशीमा पनि दशैंको प्रसंग उल्लेख गरिएको छ । नायक प्रशान्त तामाङ टिका कै दिन विदेश जान लागेको दृष्य निकै कारुणिक लाग्छ ।

चलचित्र नतिजामा दशैको प्रसंग त्यति शशक्त रुपमा देखाउन नसके पनि दशै सम्वन्धी एउटा गीत समावेश गरिएको छ ।

चलचित्रमा प्रायः दसैंको बेला पारिवारीक सदस्यको विछोड वा अभाव हुँदाका सम्वेदनशील मर्मस्पर्सी दृश्यलाई मात्र समावेश गरिएको छ । तर, दशैंको सांस्कृतिक एवम् ऐतिहासिक महतव बारे भने चलचित्रहरु प्रायः मौन नै देखिन्छन् । ठूलो पर्दाका चलचित्रहरुमा दसैंले त्यति महत्व पाउन नसके पनि हास्य जोडी मह अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले दसैं शिर्षकको एउटा टेलिफिल्म नै बनाएका थिए । जसमा दशैका बारेमा धेरै कुराहरु महत्वका साथ उठान गरिएको छ । त्यसो त निर्माता तथा निर्देशक युवराज लामाले केही वर्ष अगाडि दशैं नामको चलचित्र निर्माण गर्ने घोषणा पनि गरेका थिए । तथापी उनले उक्त चलचित्र निर्माण गर्न सकेनन् ।

यसरी फाटफुट रुपमा दशैको प्रसंग समेटिए पनि नेपाली कला संस्कृति माथी आधारित भएर बन्ने नेपाली चलचित्रमा नेपालीहरुकै महान पर्वको सजिव चित्रण भएको पाइदैन ।

Mahajatra