Mansara

मेरा चलचित्रलाई मनले हेरिदिनु होला – दिनेश राउत, निर्देशक

२०७५ मंसिर २१
मेरा चलचित्रलाई मनले हेरिदिनु होला – दिनेश राउत, निर्देशक

चलचित्र प्रसादको प्रिमियर शो पछि नायक भुवन केसीले मिडियालाई प्रतिक्रिया दिदै निर्देशक दिनेश राउतको खुलेरै तारिफ गरे । आफुले दिनेशका अक्सर चलचित्र हेरेको बताएका भुवनले फरक फरक जनरामा काम गर्न सक्ने अव्बल निर्देशकका रुपमा चित्रण गरे । त्यसो त भुवनले निर्देशकको एउटा प्याटन हुन्छ भन्ने मान्यता भएको भएपनि दिनेशले भने निर्देशकले एउटा प्याटन मात्र बोक्छ भन्ने मान्यतालाई गलत सावित गरेको बताएका छन् । जुन कुनै प्याटनमा चलचित्र बनाउन सक्ने आफ्नो क्षमता प्रसादबाट प्रस्तुत गरेको भुवनको भनाई छ ।

हुन पनि हो, दिनेशले आफ्नो फिल्मी यात्रामा केही फरक काम गरेकै छन् । ५ चलचित्रको निर्देशन गरेका दिनेशका चलचित्रमा लभस्टोरी त टच हुन्छ नै हुन्छ तर विषय र प्रस्तुतिमा भने फरकपन पाइन थालेको छ । आइएम सरी र नोभेम्बर रेन पछि दृष्टिविहिनहरुको सांगीतिक प्रेमकथा उठाएका उनले पर्व थ्रिलर जनरामा बनाएका थिए । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र प्रसाद अघिल्ला सबै चलचित्र भन्दा फरक सामाजिक विषयमा आधारित चलचित्र छ ।

भुवनले मात्र होइन चलचित्र हेरेका चलचित्रकर्मी अनि सञ्चारकर्मीहरुबाट प्रसादले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ । दिनेशले आफुलाई लभ स्टोरी भन्दा फरक जनरामा पनि अब्लल सावित गरेका छन् । निर्माण पक्षले चलचित्रलाई निःसन्तान दम्पत्तिको कथा भनेको छ । जसका कारण उनका अघिल्ला चलचित्रमा जस्तो मनोरञ्जन दर्शकले नपाउने हुन कि भन्ने पनि धेरैलाई लाग्न सक्छ । केही दिन अघि सञ्चारकर्मीहरुले पनि उनलाई यस्तै प्रश्न गरेका थिए । सायद उनलाई आफ्नो चलचित्रमा विश्वास थियो त्यसैले भनेका थिए – ‘जस्तो विषय भएपनि प्रस्तुतिले दर्शकलाई होल्ड गराउँछ भने त्यही पाइन्छ मनोरञ्जन ।’

लभ स्टोरी चलचित्रमा सफल यि निर्देशकले किन सामाजिक विषय उठान गरेको चलचित्र निर्देशन गरे त ? के कुराले उनलाई यो विषयमा काम गर्न प्रेरित गर्यो जिज्ञाशा हुनु स्वभाविक नै हो । दिनेश हाम्रो समाजमा हामीले देखेको सुनेको कथा भएकोले पनि यसमा आफु आकर्षित भएको बताउँछन् ।

चलचित्रले निःसन्तान दम्पतिको कथा भन्छ । उनीहरुको जीवनमा आउने समस्याको कुरा भन्छ । उनीहरुको सोचको कुरा भन्छ । जसलाई पत्रकार शुशिल पौडेलले लेखेका हुन । उनका अनुसार जब शुशिलले उनलाई यसको कथा सुनाए उनले सुनाएको भन्दा बढी कुरा देखे । त्यसैले स्कृप्टमा लामो समय काम गरे । भन्छन् – ‘जहिले पनि चलचित्र बनाउँदा इमान्दार भएर बनाउने कोसिस गर्छु । यसपटक पनि केही स्वार्थ नराखि इमान्दार भएर काम गरेको छु ।’

चलचित्रमा जीवन खोज्ने अनि जीवन भोगाई जस्तै चलचित्र बनाउने आफ्नो कोसिस रहेको जनाउने यि निर्देशकले भन्ने गर्छन दिमाख र आँखाले भन्दा आफ्ना चलचित्रलाई मनले हेरि दिनु होला । प्रसाद पनि मनले हेर्नुपर्ने चलचित्र भएको उनको भनाई छ ।

दिनेश निर्देशित चलचित्र प्रसादलाई सुभाष थापाले निर्माण गरेका हुन । निश्चल बस्नेत, नम्रता श्रेष्ठ, विपिन कार्कीलगायतका कलाकारको अभिनय रहेको चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । चलचित्रले देशभरका हलहरुमा आक्रामक व्यापार गरेको छ ।

Mahajatra