चलचित्र ‘डोरी’को शुभ मुहूर्त

२०८१ मंसिर १३
चलचित्र ‘डोरी’को शुभ मुहूर्त

चलचित्र ‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । चलचित्रको छायाँकन आइतबारदेखि प्रारम्भ हुने छ ।

मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति रहेको थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक हुँदै चलचित्रको सफलताका कामना गरे । साथै, निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो । चलचित्रमा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।

चलचित्रका निर्देशक अरुण लामाले चलचित्रको नामको गहिराइ र अर्थबारे व्याख्या गरे । उनले भने, “डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । यो चलचित्रका पात्रहरू आ–आफ्ना तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले । चलचित्रको अङ्ग्रेजी शीर्षक ‘DORII’ को फुलफर्म ‘Discovery Of Realism In Inquisitiveness’ हो । यसले वास्तविकताको खोज र रहस्यलाई उजागर गर्दछ ।”

चलचित्रकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएको बताइन । यस्तै अभिनेता खतिवडाले ‘डोरी’लाई विभिन्न श्रेणीको मिश्रण रहेको चलचित्रका रूपमा परिभाषित गरे ।

चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रमा राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको छायाँकन र राजु तामाङको द्वन्द्व निर्देशन रहनेछ ।

Kumari Bank
Aktor