‘एक मुठ्ठी बादल’ले पायो ८७ लाख बराबरको आर्थिक सहयोग

२०८१ कार्तिक १७
‘एक मुठ्ठी बादल’ले पायो ८७ लाख बराबरको आर्थिक सहयोग

चलचित्र ‘एक मुठ्ठी बादलः माई सेयर अफ स्काई’ नेदरल्यान्डको ह्युबर्ट बाल्स फण्ड (एचबीएफ र इयु) पोस्ट–प्रोडक्सन अनुदानका लागि चयन भएको छ । जस अन्तर्गत चलचित्रले ६०,००० युरो अर्थात ८७ लाख नेपाली रुपैँया आर्थिक सहयोग प्राप्त गर्ने भएको छ । 

‘एक मुठ्ठी बादल’की निर्देशक साहारा शर्मा ह्युबर्ट बाल्स फण्डको पोस्ट–प्रोडक्शन अनुदान जित्ने पहिलो नेपाली महिला निर्देशक हुन् । गौथली इन्टरटेन्मेन्ट (नेपाल), थर्ड कल्चर किड्स (जर्मनी) र क्रोमोजोम फिल्म (जर्मनी) को सह–निर्माणमा चलचित्र बनेको हो ।

नेपालबाट निर्माता ‘मन प्रडक्सन’ र ‘अन्डरग्राउन्ड टकिज’ पनि निर्माणमा सहभागी रहेका छन् । चलचित्रका अन्य प्रमुख निर्माताहरूमा नेपालबाट अनुप पौडेल र सामीप्य राज तिमल्सेना रहेका छन् भने कार्यकारी निर्माताका रूपमा निकुन श्रेष्ठ संलग्न छन् । साथै जर्मनीबाट रोक्शाना रिचर निर्माताको रुपमा रहेकी छिन् ।

विवाहको पृष्ठभूमिमा बुनिएको ‘एक मुठ्ठी बादल’ले घरभित्रको सीमित दायराभित्र स्वतन्त्रताको सपना देख्ने एक युवतीको कथा प्रस्तुत गर्दछ । युवतीमाथि समाजले राखेका अनेकन अपेक्षा र आफू भित्र निसास्सिरहेको उनको स्वतन्त्रताको चाहनाबीच उत्पन्न द्वन्द्वलाई चलचित्रले उजागर गर्दछ । गृहिणी हुनुका साथै पारिवारिक जीवनको पनि केन्द्रमा रहेका नेपाली समाजका कैयौँ महिलाका अनेक त्याग, संघर्षलाई र निःस्वार्थ योगदानलाई चलचित्रले कथामा समेटेको छ ।

चलचित्रमा निशा शर्मा, शेखर चापागाईं, आँचल शर्मा, उषा रजक, मनीष निरौला, सहयोग अधिकारी, गौरव बिष्ट, अविरल प्रताप अधिकारी, भीमा मैनाली, अश्मिता गौतम लगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक सहारा शर्माले चलचित्रको पोस्ट प्रडक्सनका लागि प्रतिष्ठित फन्ड पाएकोमा खुसी व्यक्त गरेकी छन् ।

चलचित्र ‘एक मुठ्ठी बादल’ लोकार्नो ओपन डोर्स कन्सल्टेन्सी, इण्डियन चलचित्र बजार लगायत ढाकाको वेस्ट मिट्स इस्ट स्क्रिनप्ले ल्याबमा पनि छनौटमा परेको छ ।

Kumari Bank
Aktor