चाडपर्वमा चलचित्र रिलिज गर्नु भनेको सफलताको ग्यारेन्टी हुनु होइन

नेपाल, जहाँ चाडपर्वहरू केवल परम्परागत अनुष्ठान र उत्सव मात्र होइनन्, आत्मीयताका सुगन्धले सुवासित गरिएका अनगिन्ती स्मृति हुन् । चाडपर्वले नेपाली समाजलाई ऊर्जा दिन्छन्, उल्लासले भरिपूर्ण बनाउँछन् । नयाँ वर्षको नविनता, तिजको रमझम, दसैंको टीका, तिहारका दियो, इन्द्रजात्राका रथ, शिवरात्रिको धूनी÷धूप, होलीको रङ, ल्होसारको उत्सव सबै नेपाली जनमानसका हृदयको गहिराइमा अटल स्थान ओगटेर बसेका छन् । जब यिनै चाडपर्वहरू चलचित्र हलका पर्दासँग जोडिन्छन्, तब उत्सवको रंगीन संसारमा मनोरञ्जनको अर्को आयाम थपिन्छ, चलचित्र प्रेमीको मनोभूमिमा एक अद्भुत स्पन्दन पैदा हुन्छ।
चलचित्र प्रदर्शनका लागि निर्माताहरु चाडपर्वको समयलाई सदैव स्वर्ण अवसरको रूपमा हेर्छन । सार्वजनिक विदा हुने ठूला चाडपर्वमा जब घर–आँगनमा न्यानो पारिवारिक जमघट हुन्छ, दर्शकहरू नियमित कामबाट केही फुर्सदिला हुन्छन्, त्यसलाई मेकरहरु चलचित्र प्रदर्शनका लागि उर्वर घडी जस्तै मान्छन् । चलचित्र मेकरहरु वर्षभरि आफ्नो सिर्जना मिहिनेतका साथ तयार पार्छन्, त्यसलाई दर्शकमाझ पुर्याउने सही क्षणको खोजी गर्छन् । अनि, जब नेपाली आकाश दसैंको फुलपातीले रङ्गिन्छ, तिहारको दीपावलीले झिलिमिली हुन्छ, तब चलचित्र हलका पर्दाहरूमा पनि बहुरङ्गी कथाहरू उज्यालो भएर झल्किन्छन् ।
तर, के चलचित्र सफल हुन केवल चाडपर्वकै भर पर्नुपर्छर ? वा उत्कृष्ट कथा, प्रस्तुति, र दर्शकको मन जित्ने क्षमताले नै चलचित्रको भाग्य निर्धारण गर्छ ? पछिल्ला वर्षहरूमा नेपाली चलचित्र क्षेत्रले भोगेका घटनाक्रमहरूलाई आधार मान्दा, विदाभन्दा पनि चलचित्रको गुणस्तरले नै यसको भविष्य निर्धारण गर्ने देखिन्छ ।
जब एकै समयमा धेरै चलचित्र प्रदर्शन हुन्छन्, तब त्यो ‘फेस्टिवल रिलिज’ मात्र नभई, एक किसिमको रस्साकस्सी पनि बन्छ । दर्शकहरू सीमित छन्, हलहरू गन्न सकिने छन्, तर चलचित्रहरू धेरै । यस्तो परिस्थितिमा उत्कृष्टता मात्र टिक्न सक्छ । एकै समयमा धेरै चलचित्रहरु एकसाथ रिलिज हुँदा दर्शकलाई छनौटको अवसर प्रशस्त हुन्छ । दर्शकका रुचि र प्राथमिकताहरू भिन्न भिन्न हुने हुँदा दर्शकहरु विभाजित हुनु स्वभाविक हो । यता चलचित्रको प्रचारमा देखिने अस्वस्थ्य प्रतिष्पर्धाले त चलचित्रकर्मीकै विचमा वैमनस्यताको अवस्था समेत श्रृजना गरेको देखिन्छ ।
उदाहरणको लागि यो वर्षको दशैं र तिहारलाई हेरौं । दशैंमा ३ वटा चलचित्रहरु ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाई साप’ एकैसाथ प्रदर्शन भए । तीनवटै चलचित्रको आफ्नै किसिमको चर्चा थियो । एउटा पारिवारिक मनोभावनालाई केन्द्रमा राखेर बुनेको सामाजिक कथाको चलचित्र, अर्को ग्रामीण कथा बोकेको, र अर्को हास्यप्रधान चलचित्र थिए । यद्यपि, एकसाथ प्रदर्शन हुँदा दर्शक विभाजित भए । हरेक चलचित्रले आफ्नो स्तरअनुसार दर्शक तान्न सके तापनि, दर्शक बाडिदा बक्स अफिसमा कुनै पनि चलचित्रले अपेक्षित उचाइ प्राप्त गर्न सकेनन् । दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाए पनि ‘ज्वाई साप’ले हलमा अपेक्षाकृत शोज पाउन सकेन । ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ले पनि रे्कर्ड ब्रेक ब्यापार गर्न सकेनन् । आफ्ना अघिल्ला सिरिजको व्यापारलाई पछिल्ला सिरिजले तोड्दै नयाँ रेकर्ड राख्दै आएको ‘छक्का पञ्जा’ समूह पनि यसपटक रक्षात्मक देखियो । यद्यपी ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ दुवै चलचित्र बक्स अफिसमा सुपरहिट भए ।
तिहारको छुट्टीलाई पनि चलचित्रले उपयोग गर्न सकेको देखिएन । तिहारमा चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ रिलिज भयो । प्रारम्भिक दिनहरूमा चलचित्रले खासै प्रभाव जमाउन सकेन । तर, ‘माउथ पब्लिसिटी’ यसरी भयो की त्यसले नै चलचित्रलाई नयाँ जीवन दियो । चाडपर्व सकिएपछि बल्ल दर्शकहरु हलतिर आकर्षित भए । चलचित्रले बक्स अफिसमा ऐतिहासिक व्यापार गर्यो । नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी कमाइ गर्ने चलचित्रको रूपमा स्थापित यस चलचित्रले नेपालभित्र मात्र ४७ करोडभन्दा बढी व्यापार गर्यो भने, डिजिटल राइट्स तथा विदेश प्रदर्शनबाट ७० करोडभन्दा बढीको आम्दानी गरेको जनाइन्छ । यसको सफलताले पनि पुनः प्रमाणित गर्छ कि उत्कृष्ट कथा र प्रस्तुति भएको चलचित्र जुनसुकै समयमा पनि सफल हुन सक्छ । समयसँगै दर्शकको छनोट परिष्कृत हुँदै गएको छ। केवल ठूलो पर्व पर्खेर चलचित्र हेर्ने भन्दा पनि, राम्रा चलचित्र जुनसुकै समयमा आए पनि हलसम्म पुग्ने प्रवृत्ति मौलाउँदै गएको छ । यसबाट मेकरहरुले चलचित्र चल्नका लागि चाडपर्वको भिड मात्र निर्भर हुँदैन, बरु कथाको गहिराइ र प्रस्तुति नै असली निर्धारक तत्व हुन् भन्ने बुझ्न जरुरी छ ।
यस वर्षको शिवरात्रीको अवसर पारेर ‘फेरि रेशम फिलिली’, ‘लाज शरणम’, र ‘मायावी’ जस्ता चलचित्रहरू प्रदर्शनमा आएका छन् । ३ वटै चलचित्र बक्स अफिसमा आशा गरिएका चलचित्र हुन् । यद्यपी हलहरुले उपलब्ध गराएको शोजको बिश्लेषण गर्दा ‘फेरि रेशम फिलिली’ र ‘लाज शरणम’को चर्चाका बिच अर्को चलचित्र ‘मायावी’ च्यापीएको छ । यता शिवरात्रीकै अवसर भएपनि चलचित्र सुपर हिट नै हुन्छन् भन्ने कुराको ग्यारेन्टि छैन । एक–दुई दिन चाडपर्व र विदाका कारण चलचित्र चलेपनि लामो रेशको घोडा हुनका लागि दर्शककै मन जित्न सक्नु पर्नेछ । अझ धार्मिक अवसरहरूमा दर्शकको प्राथमिकता अन्य गतिविधिमा केन्द्रित हुने भएकाले, चलचित्रको व्यापारलाई प्रभावित पार्ने सम्भावना रहन्छ । यसरी, निर्देशक तथा निर्माताहरूले चलचित्र प्रदर्शनको मिति निर्धारण गर्दा चाडपर्व मात्र होइन, दर्शकको रुचि र चलचित्रको सामग्री कत्तिको बलियो छ भन्ने कुरामा विशेष ध्यान दिन पनि आवश्यक देखिन्छ ।
चलचित्र केवल दृश्यहरूको संयोजन होइन, यो भावना, सपनाहरू र अनुभूतिहरूको यात्रा हो । चलचित्रले मौलिक कथाहरू ल्याउने प्रयास गर्नुपर्छ, समाजका विषयवस्तुहरूलाई पर्दामा उतार्ने नयाँ सोचहरू जन्मिनु पर्छ, नेपाली माटोको सुगन्ध दर्शकसम्म पुर्याउनु पर्छ । जब कथाले हृदय छुन्छ, जब कलाकारहरूले आफूले पर्दामा बाँचेको जीवनसँग दर्शकसँग बलियो कनेक्सन निर्माण गर्छन, नाटक नै सही चलचित्र हेरुञ्जेल दर्शकहरुलाई वास्तविक कथाको जस्तै अनुभूति गराउँछन्, तब चलचित्रले चाडपर्व खोज्नु पर्दैन, बरु चाडपर्वले चलचित्र खोज्छ । विगतका अनुभवले देखाएको छ कि चाडपर्वको अवसरमा रिलिज भएर पनि असफल भएका कैयौं चलचित्र छन्, भने सामान्य दिनहरूमा प्रदर्शन भएर पनि ब्लकबस्टर भएका थुप्रै उदाहरण छन् । त्यसैले मेकरहरुले बुझ्न जरुरी छ चाडपर्वमा चलचित्र रिलिज गर्नु भनेको सफलताको ग्यारेन्टी हुनु होइन । त्यसैले, अब चलचित्र मेकरहरुले सोच परिवर्तन गर्नुपर्छ । चाडपर्व वाहिर पनि ‘बिग रिलीज’को अवधारणा विकास गर्नुपर्छ ।




Latest Updates
-
महाशिवरात्रीको अवसर पारी ‘फेरि रेशम फिलिली’, ‘मायावी’ र ‘लाज शरणम्’ प्रदर्शनमा
-
‘न्याय’ शिर्षकमा चलचित्र ‘आउट लः दफा २१९’को र्याप प्रतियोगिता
-
निरन्तर युट्युव ट्रेन्डिङमा ‘होस्टेल ३’को ट्रेलर, मुख्य ट्रेन्डिङमा तेस्रो र चलचित्र तर्फ पहिलो
-
-
‘मायावी’को पनि अग्रिम टिकट बुकिङ खुल्ला, प्रिमियरमा सुखद प्रतिक्रिया
-
New Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri -
Mayavi
Director : Diwakar Bhattarai
Casts : Paul Shah, Dipika Prasai, Prashant Tamrakar, Sushil Sitaula, Karishma Shrestha -
Laaj Sharanam
Director : Kumar Kattel
Casts : Sitaram Kattel, Bijay Baral, Arpan Thapa, Vijay Lama, Srijana Adhikari
Next Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant