Mahajatra

चलचित्र लेखनमा असफल समिक्षक र पत्रकारहरु, समिक्षकका चलचित्र समिक्षामै कमजोर

२०७५ माघ १७
चलचित्र लेखनमा असफल समिक्षक र पत्रकारहरु, समिक्षकका चलचित्र समिक्षामै कमजोर

केही दिन अघि चलचित्र रणवीको ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकार तथा चलचित्र लेखक नरेश भट्टराईले एक प्रसंगमा भने – ‘चलचित्र पत्रकारिताबाट लेखनमा आएका मध्ये शुशिल (शुशिल पौडेल) र म मात्र सफल भएको हो ।’ सार्वजनिक कार्यक्रमकै बिच नरेशले यसो भनेपछि हामीले पछिल्लो समय चलचित्र पत्रकार वा समिक्षक हुँदै चलचित्र लेखनमा आएका व्यक्तिहरुका चलचित्रलाई केलाउने कोसिस गर्यौं । एकाध समिक्षकलाई छोडेर हेर्दा अधिकांश समिक्षक पत्रकार नै देखिएकोले हामीले पत्रकार र समिक्षकले लेखेका चलचित्रलाई हेर्दा नरेशको भनाई एक हदसम्म सहि देखियो । समग्रतामा सबै पत्रकार र समिक्षक चलचित्र लेखनमा असफल नभए पनि पहिलो चलचित्र लेखनको कुरा गर्दा त नरेश र शुशिल बाहेक लगभग अरु सबै असफल नै देखिए । नरेशले लेखेको चलचित्र बोबि व्यवसायिक रुपमा सफल भएको थियो भने शुशिलले लेखेको चलचित्र प्रसाद समिक्षात्मक दृष्टि र व्यवसायिक दुबै हिसाबले सफल भयो ।

झण्डै एक दशक यताको कुरा गर्दा चलचित्र पत्रकार वा समिक्षक हुँदै चलचित्र लेखन संलग्न व्यक्तिहरुमा उनीहरुका अलवा समिक्षक समाजका पूर्व अध्यक्ष डा. प्रदिप भट्टराई, अध्यक्ष यज्ञश, उपाध्यक्ष दिपेन्द्र लामा, महासचिव सामिप्यराज तिमिल्सना, समिक्षक मनोज पण्डित, बरिष्ठ पत्रकारहरु डव्बु क्षेत्री, लक्ष्मण सुबेदी, दिवस गुरागाई र ध्रुब लम्साललगायत छन् । यि मध्ये केही अहिले चलचित्र पत्रकारिता र समिक्षामा निस्कृय छन् भने केही पहिलो चलचित्रको असफलतासँगै चलचित्र लेखनमा फर्कने आँट गर्न सकेका छैनन् । यद्यपी केही पत्रकार र समिक्षकले भने निरन्तर प्रयास गरिरहेका छन् ।

चलचित्र समिक्षक र पत्रकारहरुको चलचित्र लेखन यात्रा त्यति सुखद पाइदैन । चलचित्र लेखनमा समिक्षक र पत्रकारहरु अयोग्य ठहरिएको निस्कर्ष निकालेका डा. भट्टराईले वान वे नामक चलचित्रको असफलता पछि दोस्रो चलचित्र लेख्ने आँट गरेनन् । यादब भट्टराईको निर्देशनमा बन्ने भनिएको चलचित्र छलियुग लेखिरहेका उनले उक्त चलचित्रको लेखन काम समेत छोडेका थिए । यो पक्तिकारसँग केही समय अघि गरेको कुराकानीमा त उनले चलचित्र समिक्षक र पत्रकारहरु चलचित्र लेखनमा फेल भएको कुरा स्वीकार गर्नुपर्ने बताएका छन् । उनले समिक्षकले निरन्तर रुपमा चलचित्रको लेखन पक्षमाथी बढी प्रहार गरेका कारण पनि चलचित्रकर्मीले आफुहरुको परिक्षा लिएको र त्यो परिक्षामा समिक्षक र पत्रकार फेल भएको बताएका हुन ।

अन्य चलचित्रकर्मीको तुलनामा पत्रकार र समिक्षकमाथी उनीहरुका चलचित्रलाई लिएर ज्यादा प्रश्न उठ्ने गर्छ । यसलाई समिक्षकले अरुका चलचित्रको समिक्षा गर्दा व्यक्त गर्ने दृष्टिकोणमा चित्त नबुझाउनेहरुको आक्रोस पनि भन्न सकिएला । तर, न त दर्शक न त समिक्षकबाट नै समिक्षकले लेखेका चलचित्रले प्रसंसा पाइरहेका छन् । हुन त कुनै बेला खरो रुपमा चलचित्र समिक्षामा उत्रिएका मनोज पण्डितले अचेल समिक्षा गर्न छोडेका छन् । पण्डितको लेखन निर्देशन रहेका चलचित्रहरु लक्ष्य, दासढुङ्गा, बधशाला र छायाँ कुनै पनि सफल हुन सकेनन् । यस्तै यज्ञशले लेखेको चलचित्र फिटकिरीलाई पनि न त दर्शकले रुचाए न त समिक्षकले नै प्रसंसा गरे । दिपेन्द्र लामाको पहिलो लेखन चलचित्र नागवेली पनि असफल भयो । यो चलचित्रलाई पनि दर्शक र समिक्षक दुबैले मन पराएनन् । उनको दोस्रो लेखनको चलचित्र घामपानीले भने मिश्रीत समिक्षा बटुलेको हो । यो चलचित्रका सवालमा समिक्षकहरु विभाजित देखिएका थिए । केहीले घामपानीको प्रसंसा गरेका थिए भने केहीले आलोचना पनि गरेका थिए । यो उनको डेव्यु निर्देशनको चलचित्र पनि हो ।

आखिर एउटै चलचित्रलाई लिएर किन समिक्षकहरु बिभाजित हुन्छन् त यो प्रश्न थप चोटिलो बनिरहेको छ । डा. भट्टराई निर्देशकले चलचित्रको कथा भन्दै गर्दा व्याकरण मिलाएको छ कि छैन, त्यो व्याकरण हेर्ने मात्र समिक्षा भएको बताउँछन् । यदी त्यसो हुन सकेमा सायद समिक्षामा एक रुपता आउथ्यो होला । तर, पत्रकार तथा लेखक डव्बु क्षेत्री समिक्षकहरु आग्रह पूर्वाग्रहबाट मुक्त हुन नसकेको जिकिर गर्छन । अपबादलाई छोडेर हेर्दा सकाइदिन्छु वा साथ दिन्छु भन्ने मनोभावनाका कारण समिक्षामा एकरुपता आउन नसकेको उनको बुझाई छ ।

यस्तै अर्का समिक्षक सामिप्यराज तिमल्सेना भने निरन्तर रुपमा चलचित्र लेखिरहेका छन् । १८ चलचित्रको लेखनमा संलग्न उनका शुरुवाति चलचित्र पनि लगातार असफल भएका थिए । पहिलो कागबेनी, दोस्रो मेरो जीवन साथी र तेस्रो खग्रास असफल हुँदा पनि निरन्तर लेखनकार्य गरेका उनले सम्बाद मात्र लेखेको चौथो चलचित्र नोभेम्बर रेन भने सफल भयो । तर, पाँचौं चलचित्र ठुली असफल नै भयो । यद्यपी छैटौं चलचित्र स्टुपिड मनबाट भने उनलाई राहत मिल्यो । उत्कृष्ट समिक्षा नपाए पनि चलचित्र चल्यो । त्यसपछि उनले लेखेका ड्रिम्स, नाइ न भन्नु ल ४, नाइ न भन्नु ल ५, ए मेरो हजुर २, किस्मत २ जस्ता चलचित्र भने व्यवसायिक रुपमा सफल भए । यद्यपी यि चलचित्रले पनि समिक्षकबाट उत्कृष्ट समिक्षा भने पाउन सकेनन् । गत वर्षको सफल चलचित्र छक्का पञ्जा २ मा उनको कथा मात्र थियो भने यही बिचमा आएको उनको पटकथा रहेको चलचित्र ३ घुम्ति असफल भयो ।

यता चलचित्र लेखनमा आएका पत्रकारहरुको हालत पनि समिक्षकको जस्तै छ । बरु उनीहरु समिक्षक  र पत्रकारले चलचित्र नै बुझ्न नसकेको स्वीकार गर्छन । पत्रकार हुँदै लेखनमा आएका लक्ष्मण सुबेदी, दिवस गुरागाई र डव्बु क्षेत्री चलचित्रको समिक्षा गर्ने पत्रकार वा समिक्षकले चलचित्र नै बुझ्न नसकेका कारण उनीहरु चलचित्र लेखनमा असफल भएको बताउँछन् । समाचार वा समिक्षा लेख्नु र चलचित्र लेख्नुलाई फरक रुपमा बुझ्न नसक्दा यस्तो समस्या आएको सुबेदीको भनाई छ । उनले चलचित्र लेखन समाचार वा समिक्षा लेखन भन्दा कयौं गुणा सृजनशिल हुने हुँदा पत्रकार वा समिक्षकले लेख्दैमा चलचित्र राम्रो हुन्छ भन्ने भ्रम त्याग्नु पर्ने बताउँछन् । एउटा साथी र लालजोडीको निर्देशन गरेका सुबेदीले लालजोडी भने आफैले लेखेका थिए । पत्रकार र समिक्षकहरु आफ्नो कमजोरी स्वीकार्न तयार हुँदैनन् भन्ने आरोप चलचित्रकर्मीहरुले लगाइरहदा सुबेदीले आफ्नो चलचित्र लालजोडी व्यवसायिक रुपमा असफल भएको बताएका छन् । उनले चलचित्र हेरेका जतिले राम्रो प्रतिक्रिया दिएको भएपनि समिक्षात्मक रुपमा अपेक्षाकृत सफलता नमिलेको समेत बताए । उनले पत्रकार वा समिक्षकले चलचित्रको व्यवसायिक तत्वलाई बुझ्न नसक्दा पनि असफलता बेहोर्नु परेको जिकिर गरे ।

यता बरिष्ठ पत्रकार ध्रुब लम्सालले पनि ८ वटा चलचित्र लेखेका छन् । तर, उनले लेखेका कुनै पनि चलचित्रलाई समिक्षकले अव्वल भनेनन् । केही चलचित्र भने व्यवसायिक रुपमा सफल छन् । पछिल्लो चार वर्ष यता उनले पनि चलचित्र लेखेका छैनन् ।

यस्तै राजु राजा राम र आइ एम इन लभ जस्ता चलचित्र लेखेका पत्रकार दिवस गुरागाई पनि समिक्षक र पत्रकारले चलचित्र नै नबुझेको जिकिर गर्छन । उनले चलचित्र लेखनमा आएका कतिपय समिक्षक र पत्रकारलाई स्कृप्टको सैद्धान्तिक ज्ञान छदै नभएको जिकिर गर्दै हचुवाको भरमा आएर सफल नभइने बताए । राजु राजा राम व्यवसायिक रुपमा सफल भएपनि समिक्षात्मक रुपमा असफल चलचित्र हो भने आइ एम इन लभ व्यवसायिक र समिक्षात्मक दुवै दृष्टिले असफल चलचित्र हो ।

यता पत्रकार डव्बु क्षेत्री आफ्नो चलचित्र राहदानीको स्कृप्ट युनिभर्सल प्यामिटरमा आधारित रहेको भन्दै टेक्निकल रुपमा आफु सफल भएको दाबी गर्छन । तर, उनको चलचित्रलाई पनि न त दर्शक, न त समिक्षकले नै उत्कृष्ट ठहराए । उनी चलचित्र लेखन टेक्निकल विषय भएको बताउँछन् । चलचित्र लेखनका केही नियमहरु समेत हुने भन्दै त्यस्ता कुराको बारेमा चलचित्र लेखिरहेका पत्रकार र समिक्षकलाई थाहा नै नभएको समेत जिकिर गर्छन । उनी समाचार तथ्यमा आधारित हुने, समिक्षा अरुको काममा आफ्नो दृष्टि हुने तर चलचित्र लेखन सृजनात्मक हुनुपर्ने भएकोले यसलाई हलुका रुपमा लिइदिदा असफलता बेहोर्नु परेको तर्क गर्छन । खाना बनाउदा मरमसला देखि पानी र तापक्रम सम्म सबै कुरा मिलाउनु पर्ने तर, खाने मान्छेले नुन लागे नलगोको, स्वाद आए नआएको बताए पुग्ने उदाहरण दिदै उनले चलचित्र लेखन र समिक्षा पनि त्यस्तै भएको बताए ।

हामीले यहाँ पत्रकार वा समिक्षकलाई चलचित्र लेखनका लागि अयोग्य भन्न खोजेका होइनौं । तर, अरुका चलचित्रमा खोट देख्ने पत्रकारले आफ्नो लेखनमा त्यस्तो खोट देख्दैनन् कि, देखेर पनि सुधार गर्न सक्दैनन् ? समिक्षात्मक दृष्टिले पत्रकार र समिक्षककै चलचित्र लेखन कमजोर हुनुले केही पत्रकारहरुले भने झै प्रश्न उठ्नु स्वभाविक छ – कतै उनीहरुले स्कृप्टको नियम नै बुझेका छैनन् कि ? उनीहरुमा समाचार र समिक्षा लेखन भन्दा चलचित्र लेखन सृजनशिल कुरा हो भन्ने हेक्का नै छैन की ? आशा गरौं आगामी दिनमा समिक्षक र पत्रकारको चलचित्र लेखन अव्बल हुनेछ । उनीहरुको कामले नै यस्ता प्रश्नको जवाफ दिनेछ ।