Mansara

स्वदेशी होस् वा विदेशी नयाँ चलचित्र प्रदर्शनका लागि जुन दिन पनि छुट !

२०७५ चैत्र १३
स्वदेशी होस् वा विदेशी नयाँ चलचित्र प्रदर्शनका लागि जुन दिन पनि छुट !

केही दिन यता बजारमा एउटा चर्चा व्यापक चलिरहेको छ । विदेशी चलचित्र किन शुक्रबार बाहेक अन्य दिनमा प्रदर्शनमा आए भनेर । खासगरि नेपाली चलचित्र शुक्रबार मात्र प्रदर्शन हुने तर विदेशी चलचित्र बुधबार, विहिबार नै प्रदर्शन हुँदा स्वदेशीलाई मार परेको बताइन्छ । नेपाली चलचित्रको प्रोमो समेत शुक्रबार बाहेक अन्य दिनबाट बजाउन शुरु नगर्ने केही मल्टिप्लेक्सहरुले विदेशी चलचित्रलाई जुन कुनै दिन प्रदर्शन गर्छन ।

विहिबार विदेशी चलचित्र रिलिज भएको घट्ना नयाँ होइन । पटक पटक यस्तो भएको छ । गत हप्ता मात्र पनि दुई विदेशी चलचित्र विहिबार नै प्रदर्शन भए । वैशाखको पहिलो साता त बुधबार नै विदेशी चलचित्र रिलिज हुँदैछ ।

यो वर्षको अन्त्य अर्थात चैत्र २९ विग वजेटका दुई नेपाली चलचित्र प्रदर्शन हुँदैछन् । त्यसको ५ दिन पछि बुधबार बलिउडको चलचित्र ‘कलंक’ प्रदर्शन हुँदैछ । बलिउडमा समेत आशा गरिएको यो चलचित्रका लागि बुधबार नेपाली चलचित्र हटाएर वा शो घटाएर हल खालि गरिने कुरामा दुईमत छैन । किनकि विगतको उदाहरणले यही भन्छ ।

सोमबार चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले पदभार ग्रहण गर्ने समारोहमा निर्माता संघका अध्यक्ष आकाश अधिकारीले शुक्रबार मात्र रिलिजको सहमतिबारे बताए । उनले चलचित्र संघ र निर्माता संघ बिच चाडपर्व वा विशेष अवसर बाहेक अन्य समय स्वदेशी मात्र होइन विदेशी चलचित्र पनि शुक्रबार मात्र प्रदर्शनको सहमति भएको र त्यसको कार्यन्वयनका लागि लाग्ने जनाए । यही प्रसंगमा सोही समारोहमा अध्यक्ष भट्टराईले तत्कालका लागि सरकारले यसबारे हस्तक्षेप गर्न सक्ने कानुन नभएको बरु वितरक र प्रदर्शकहरुको संस्था चलचित्र संघसँग यसबारेमा तत्काल छलफल गर्ने बताए ।

अहिले बजारमा शुक्रबार मात्र प्रदर्शन गर्ने सम्झौता भएको भ्रम फैलाइएको छ । तर, वास्तवमा निर्माताहरुको छाता संस्था चलचित्र निर्माता संघ र वितरक तथा प्रदर्शकहरुको छाता संस्था चलचित्र संघको सम्झौता यसबारेमा मौन छ । २०७५ वैशाख ३० गते दुई संघ बिच भएको सम्झैतामा शुक्रबार मात्र रिलिज हुने भन्ने कुरा कहि कतै उल्लेख छैन । बरु, यसअघिका सबै सम्झैता खारेज हुने भनिएको छ । जसका कारण विगतमा त्यस्तो सम्झौता भएको भएपनि सो स्वतः खारेज भएको छ ।

विगतलाई हेर्दा २०६० साल साउन २३ गते दुई संघ बिच भएको १९ बुँदे सम्झौताको बुँदा नम्बर ९ मा ‘काठमाडौं उपत्यकामा स्वदेशी चलचित्रको प्रदर्शन (रिलिज) गर्दा अनिवार्य रुपमा शुक्रबार मात्र गर्नुपर्नेछ’ भनि उल्लेख गरिएको थियो । त्यतिबेला पनि विदेशी चलचित्रबारे दुबै संघ मौन थिए । यही वर्ष बैशाख ३० गते दुई संघ बिच १७ बुँदे सम्झौता भयो । जुन सम्झौताको बुँदा नम्बर ९ मा ‘यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौता लागु भएपछि स्वतः खारेज हुनेछन् ।’ भनि उल्लेख गरिएको छ । १७ बुँदामा कहि कतै पनि स्वदेशी वा विदेशी चलचित्रको प्रदर्शन शुक्रबारबाट मात्र आरम्भ हुनेछ भन्ने आशय समेत व्यक्त भएको छैन । जसका कारण वितरक र हल सञ्चालकहरुले निर्वाध रुपमा जुन कुनै दिन विदेशी चलचित्र प्रदर्शन गर्न सक्छन् । र, गरिपनि रहेका छन् ।

 

त्रुटी भए सच्याउँछौं, तत्काल टुङ्गोमा पुग्छौं – आकाश अधिकारी


दुई संघ बिचको सम्झौतालाई केलाई सकेपछि हामीले निर्माता संघका अध्यक्ष आकाश अधिकारीलाई टेलिफोन गरि यसबारेमा कुरा गरेका थियौं ।

प्रश्न : फ्राइडे रिलिज सम्बन्धमा दुई संघ बिच के सम्झौता भएको हो ?

आकाश : हामी बिचमा स्वदेशी विदेशी सबैलाई फ्राइडे रिलिज गर्ने भन्ने कुरा भएको छ । त्यसको कुरा अहिले उठेको पनि छ । अब छिट्टै त्यसलाई कार्यन्वयन गर्ने कुरा भएको छ ।

प्रश्न : बैशाख ३० गते भएको दुई संघ बिचको सम्झौता त यसबारेमा मौन छ नी ।

आकाश : यसलाई यथासिघ्र कार्यन्वयन गर्ने भन्ने कुरा छ । बोर्डमै पनि सम्झौता भएको होला ।

प्रश्न : केही वितरक र हलवाला प्रश्न गरिरहेका छन् – ‘हामी नियम विपरित गएका छैनौं । दुई संघको सम्झौताले शुक्रबार बाहेक अन्य दिन प्रदर्शन नगर्नु भनेको छैन ।’ यस्तो अवस्थामा अब उनीहरुलाई रोक्न पनि त गाह्रो होला नी ।

आकाश : त्यस्तो त्रुटी कहि भएको छ भने हामी फेरी चेक गछौं । मलाई लाग्दैन त्यो कुरा । आज पनि यही कुरा उठेको थियो । यसले कसैलाई पनि फाइदा छैन । चलचित्र संघ पनि यसमा रेडी छ, निर्माता संघ पनि रेडी छ । हामी दुवैले कार्यदल पनि बनाएका थियौं । हाम्रो तर्फका संयोजक केशव भट्टराई जीले बरिष्ठ उपाध्यक्ष पदबाट राजिनामा दिएकोले अब त्यसमा भर्खर नियुक्त भएका बरिष्ठ उपाध्यक्ष संयोजक तोकिनु हुन्छ । त्यस लगत्तै दुई संघको कार्यदल बसेर यसलाई छिट्टै टुङ्गाउछ । हामी तत्कालै यसमा काम गरौं ।

 

हललाई फरक पर्दैन, निर्माताको समस्या हो, निर्माताबाटै कुरा आउनुपर्छ – भाष्कर ढुङ्गाना


आकाश सँगको कुराकानी पनि हामीले चलचित्र संघको तर्फबाट कार्यदलको नेतृत्व गरेका भाष्कर ढुङ्गानालाई सम्पर्क गरि यसबारेमा कुराकानी गरेका छौं ।

प्रश्न : स्वदेशी हुन वा विदेशी नयाँ चलचित्रहरु शुक्रबार मात्र प्रदर्शन आरम्भ हुनुपर्छ भन्ने कुरा उठिरहेको छ । यसबारेमा तपाई नेतृत्वको कार्यदलको धारणा के छ ?

भाष्कर : त्यो मलाई त्यति राम्रो सँग थाहा भएन । पोलिसि संघको नेतृत्वले नै बनाउने हो । कार्यदलले त आएको पोलिसिलाई टुङ्गोमा पुर्याउने मात्र हो । हामीले संघहरुले ल्याएको पोलिसिलाई एउटा निचोडमा लग्ने र सम्झौता गराउने मात्र हो । कार्यदल पोलिसि मेकिङ्ग बडी होइन ।

प्रश्न : तपाईलाई यो विषय समस्या हो जस्तो लाग्दैन ?

भाष्कर : समस्या थेरै छन् । यो मात्र हेर्दा यो ठुलो समस्या लाग्छ । यहाँ त नेपाली चलचित्रहरु नै धेरै बनिरहेका छन् । सबैले छुट्टिलाई नै तार्गेट गर्न खोज्छ । निर्माताको हक पनि हो त्यो । हल वालालाई त खासै फरक पर्दैन होला । यो निर्माताको समस्या हो । निर्माताहरुले नै शुक्रबार बाहेक अरु दिन रिलिज नगर्ने भने हुन्थ्यो होला । तर, विगतमा यस्तो नियम हुँदा निर्माताबाट नै तोडिएको थियो । रेखा थापाको चलचित्र प्रदर्शनको बेला ।

प्रश्न : पटक पटक बुधबार, विहिबार नै विदेशी चलचित्र रिलिज भएका छन् । जसका कारण केही हलबाट नेपाली चलचित्र उतारिएका छन्, भने मल्टिप्लेक्सहरुमा शो कटौति गरिएको छ । यसले निर्मातालाई मार पर्दैन र ?

भाष्कर : नेपालीको त अकुपेन्सी नै छैन नी त । अकुपेन्सी पनि हेर्न पर्यो नी ।

प्रश्न : अकुपेन्सी कायम भयो भने पनि शो त काट्न पर्ने अवस्था छ नी त ? विदेशी चलचित्रलाई शो दिनै पर्ने होला ?

भाष्कर : त्यो त हुन्छ । यो फेरी सधैको कुरा होइन । वर्षमा एक दुई पटक त्यस्तो हुने हो । सधै भइरहने समस्या भएको भए यसलाई इश्यु बनाइनु पर्थ्यो होला । तर, यो सधै भइरहने समस्या नभएकोले त्यति ठुलो इश्यु बनाइनु पर्दैन होला । यो निर्माताहरुको समस्या हो । यसकारण निर्माता संघबाट नै यसबारे आफ्नो धारणा आउनु पर्यो । समस्या सजिलो छैन । शुक्रबार रिलिज हुँदा सबै समस्या समाधान हुने पनि होइन । राम्रो चलचित्रलाई हलले पनि उतार्दैन । अकुपेन्सी कायम छ भने उतार्न पनि मिल्दैन । यहाँ ९० प्रतिशत नेपाली चलचित्रको अकुपेन्सी नै पुग्दैन । अनि उनीहरुकै बोली चर्को सुनिने हो । यो ठुलो समस्या पनि होइन ।

 

अध्यक्ष भट्टराईको परिक्षा


बोर्ड अध्यक्ष भट्टराई यसअघि पटक पटक निर्माता संघको कार्यसमितिमा बसेर काम गरेका छन् । निर्माताहरुको हकहितका लागि काम गर्छु भन्दै उनीहरुको विश्वास जितेर नेतृत्वमा पुगे । निर्माता संघमै रहदा चलचित्र संघसँग वार्ता गर्ने कार्यदलको संयोजक भएर पनि काम गरे । बैशाख ३० गतेको सम्झौतामा पनि उनले कार्यदल संयोजकका रुपमा हस्ताक्षर गरेका छन् । केही वितरक र हल सञ्चालकले यही सम्झौताको आडमा टेकेर आफुहरु शुक्रबार बाहेक अरु दिन पनि चलचित्र रिलिज गर्न स्वतन्त्र रहेको बताइरहेका छन् । जसको मारमा भट्टराईकै निर्माण रहेको चलचित्र ‘यात्रा’ पनि पर्ने भएको छ । ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ प्रदर्शनको ५ दिन पछि नै बलिउड चलचित्र ‘कलंक’ प्रदर्शन हुँदैछ । ‘कलंक’को चर्चाका आधारमा सजिलै भन्न सकिन्छ यो मल्टिप्लेक्स हलहरुको प्राथमिकताको चलचित्र हो । यसले मल्टिप्लेक्समा उल्लेख्य शो पाउँछ भने अधिकांश सिंगल थियटरहरुको समेत प्राथमितामा पर्छ । जसका कारण कि त ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ ले हल खालि गर्नु पर्छ कि त अधिकांश शो काटिने छन् ।

उनै भट्टराई यतिबेला चलचित्र बिकास बोर्डको अध्यक्ष बनेका छन् । उनले सबैलाई मिलाएर स्वदेशी चलचित्रको हितका लागि काम गर्नुपर्नेछ । यसअर्थ उनका लागि यो परिक्षा हुन सक्छ । उनले कुनै पनि संस्थामाथी हस्तक्षेप नगर्ने त बताएका छन् । तर, यो विषयमा चलचित्र संघसँग कुरा गर्ने पनि जनाएका छन् । भट्टराईका लागि सहज के भयो भने यो विषयमा दुवै व्यवसायिक संघहरु कुरा गर्न तयार छन् । निर्माता संघका अध्यक्ष आकाश अधिकारी तत्काल यसबारे कुरा गरेर टुङ्गोमा पुग्ने बताउँछन् भने चलचित्र संघका तर्फबाट गठित कार्यदलका संयोजक भाष्कर ढुङ्गाना पसिन निर्माता संघबाट यसबारेमा धारणा आउनु पर्ने जनाउँछन् । यो माहौलमा इच्छा शक्ति भयो भने आजको भोलि यो समस्या समाधान गर्न असहज देखिएन तर, गर्छन के, हेर्न बाँकी नै छ ।

 

यस्तो छ यही जेठ ४ गतेदेखि लागु हुनेगरी वैशाख ३० गते भएको १७ बुँदा सम्झौता


१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर , ब्यानर, पोष्टर र स्टाण्डी समेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।

२. मल्टी प्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।

३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनु पर्नेछ ।

४. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।

५. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५०।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकरट दर रु. २००।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

क. मल्टीप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।

ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।

ग. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बारही मुविजको क हललाई मल्टीप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।

घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टीप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूवाधार पूरा गरेमा मल्टीप्लेक्सको मान्यता हुनेछ ।

६. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।

७. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।

८. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।

९. यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।

१०. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।

११. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।

१२. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।

१३. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।

१४. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।

१५. डि. सि. पी. फाइल तथा भि. पी. सी. र के डी. एम. को विषयमा सरोकारवालासंग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।

१६. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।

१७. निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ ।

Mahajatra