Mansara

अमेरिकामा ग्लोबल चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड हुने

२०७५ मंसिर ६
अमेरिकामा ग्लोबल चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड हुने

अमेरिकाको नर्थ क्यारोलिना राज्यको रानी शहर सार्लोटमा ‘ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८’ हुने भएको छ । नेपाली चलचित्र, संगीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्धेश्य सहित डिसेम्बर २२ मा उक्त अवार्ड आयोजना गरिएको आयोजक संस्था लभ एण्ड सपोर्ट फाउण्डेशनले जनाएको छ ।

ग्लोबल नेपाली चलचित्र, संगीत, सञ्चार तथा सामाजिक अवार्ड २०१८ का लागि नोभेम्बर १५ सम्म आवेदन खुल्ला गरिएको र केही दिनमा नै मनोनयन सार्वजनिक गरिने समेत जनाइएको छ । कार्यक्रममा नेपाली भाषी भुटानी चलचित्रकर्मीलाई पनि सम्मान एवं अवार्ड प्रदान गरिँदैछ । अवार्डलाई सफल पार्न १७ सदस्यीय अवार्ड वितरण मूल समारोह समिति समेत गठन गरिएको छ । ३६४६ सेन्ट्रल एभ हलमा हुने अवार्ड सामारोह दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म चल्नेछ । कार्यक्रममा विभिन्न प्रस्तुतिहरु समेत रहनेछन् ।

नेपाली चलचित्र, संगीत, सञ्चार र संस्कृृतिको पहिचान र प्रबर्धनका लागि हाम्रो सामुहिक अभियान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष मनोज राईले बताएका छन् । हलिउडका चलचित्रकर्मी र विश्वभरी छरिएर रहेका नेपाली कलाकर्मीलाई एउटै मञ्चमा ल्याउनुको साथै नेपालमा हलिउड चलचित्रको छायाँकन गराएर नेपालको पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य आयोजकले राखेको छ ।