Mansara

खड्का र चाम्सले पद, शक्ति र सम्बन्ध दुरुपयोग गरे – गोबिन्द शाही

२०७६ भाद्र २२
खड्का र चाम्सले पद, शक्ति र सम्बन्ध दुरुपयोग गरे – गोबिन्द शाही

सर्वोच्च अदालतको आदेशमा बुधबार हिरासत मुक्त भएका निर्माता गोबिन्द शाहीले निर्माताद्वय सुदिप खड्का र मिलन चाम्सले शक्तिको दुरुपयोग गराएको आरोप लगाएका छन् । खड्का र चाम्सले पद, शक्ति र सम्बन्धको आड लिएर कानुनको दुरुपयोग गरि आफुलाई गैह्रकानुनी रुपमा हिरासतमा राखेको उनको आरोप छ ।

चलचित्र ‘लिलिबिली’को हिसाबलाई लिएर निर्माताहरुको एउटा पक्षले मुद्दा हालेपछि प्रहरी हिरासतमा परेका निर्माता एवं वितरक शाही १४ दिन लामो हिरासतबाट बुधबार मुक्त भएका थिए । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले शक्तिको दुरुपयोग गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको बताएका छन् ।

सन् २०१८ अप्रिल १३ मा प्रदर्शनमा आएको चलचित्र ‘लिलीबिली’लाई शाही सहित खड्का र चाम्सले संयुक्त रुपमा निर्माण गरेका हुन् । उक्त चलचित्रको वितरणको जिम्मा शाहीले लिएका थिए । निर्मातामध्येका खड्का र चाम्सले चलचित्रको व्यापारबाट आएको सेयर लुकाएको आरोप लाउँदै एक वर्षअघि नै महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । उक्त विषयमा कानुनी प्रकृयामा रहेको शाहीको बिज्ञप्तीमा उल्लेख गरिएको छ । सोही विषयलाई लिएर प्रहरीले हिरासतमा लिनुलाई उनले गैह्रकानुनी प्रकृया भनेका छन् ।

बुधबार सर्वोच्च अदालतको आदेशबाट हिरासत मुक्त भएका शाहीले अदालतको आदेशले न्याय मरेको छैन भन्ने अनुभूत गराएको बताएका छन् ।

Mahajatra