Mansara

चलचित्र गोपीको प्रदर्शन मिति परिवर्तन, अब माघ १८ मै प्रदर्शन हुने

२०७५ कार्तिक २७
चलचित्र गोपीको प्रदर्शन मिति परिवर्तन, अब माघ १८ मै प्रदर्शन हुने

यसअघि चैत १५ मा रिलिज हुने भनिएको चलचित्र गोपी अब माघ १८ मै रिलिज हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ ।

सोमबार आरोही इन्टरटेनमेन्टका तर्फबाट निर्माता मणिकर्ण केसी र वितरक संस्था वैंकेटस इन्टरटेनमेन्टका तर्फबाट मनोज राठीले वितरण सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । निर्माता र वितरक बिच सम्झौता भएसँगै गोपीले माघ १८ लाई प्रदर्शन मिति तय गरेको हो । काठमाडौंको टोखा क्षेत्रमा छायँंकन गरिएको चलचित्रमा एमए पढेर पनि गाईपालनमा होमिएका एक युवकको संघर्षको कथा समेटिएको जनाइएको छ । चलचित्रलाई सामिप्यराज तिमल्सिनाले लेखेका हुन भने श्रीधर पौडेल कार्यकारी निर्माता हुन ।

प्रदर्शन मिति हेरफेर बारे पोस्ट प्रोडक्सन कार्य छिटो सकिएको र बिभिन्न मितिको अध्ययन गर्दा माघ १८ बढी उपयुक्त देखिएकोले यस्तो निर्णय लिइएको निर्माण पक्षको भनाई छ । चलचित्रमा शैलेन्द्रध्वज कार्कीको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत तथा विप्लव प्रतीक र बुद्धिसागरको गीत समावेश छ ।