‘हे माया’ निर्माणको घोषणा, जुनिमले निर्देशन गर्ने

२०८१ चैत्र २०
‘हे माया’ निर्माणको घोषणा, जुनिमले निर्देशन गर्ने

चलचित्र ‘हे माया’ निर्माणको घोषणा गरिएको छ । दीपक लम्सालको लगानी रहने चलचित्रको छायाँकन आगामी जेठबाट थालिने जनाइएको छ ।

जुनिम गहतराजले निर्देशन गर्ने चलचित्रमा चल्तीका कलाकार रहने निर्माताले जनाएका छन् । यद्यपी कलाकार बारे केही खुलाएका छैनन् । बिभिन्न कलाकारसँग मौखिक सहमती भएको र लिखित सम्झौता हुन बाँकी रहेकाले केही समयपछि सार्वजनिक गर्ने लम्सालको भनाइृ छ ।

निर्माता लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय चलचित्रको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन् । उनले बलिउड चलचित्रको नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली चलचित्र निर्माणमा हात हाल्न लागेका हुन् ।

रियल इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रको पटकथा तथा संवाद चक्रपाणी सांखीले लेखिरहेका छन् । नेपाली नयाँ वर्ष सुरु भएसँगै चलचित्रको कास्ट एण्ड क्रिउ सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।