Mahajatra

हेमराजको स्पष्टिकरण : ‘एटिएम’बाट चोरेको पनि होइन, अश्लिल पनि छैन

अनमोलसँग कुनै इगो छैन, वितरकसँग कम्प्रोमाइज्ड भयो

२०७५ माघ ८
हेमराजको स्पष्टिकरण : ‘एटिएम’बाट चोरेको पनि होइन, अश्लिल पनि छैन

चलचित्र ‘दि ब्रेकअप’को ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक हेमराज बिसीमाथी निरन्तर रुपमा प्रश्नहरु तेर्सिए । खासगरि चलचित्र ‘क्याप्टेन’सँग जुध्न पुग्नु र चलचित्रको ट्रेलरमा समावेश केही दृष्यलाई पत्रकारहरुले भद्धा महसुस गरेपछि उनीमाथी यिनै दुई विषयलाई लिएर निरन्तर प्रश्नहरु आइरहे ।

हेमराजले आफुले यति धेरै प्रश्नहरु आउछन् भन्ने सोच्दै नसोचेको बताइरहदा ‘क्याप्टेन’ अभिनेता अनमोल केसी सँगको सम्बन्ध, वितरकको उजुरी र क्षतिपूर्ति अनि ट्रेलरमा समावेश किस सिन र अर्को एक यस्तै दृष्यलाई लिएर उनीहरुमाथी प्रश्न उठेको हो ।

फागुन १७ मा ‘क्याप्टेन’ र ‘जात्रै जात्रा’ प्रदर्शन हुने तय थियो । तर अभिनेता विपिन कार्कीको दुर्घटनामा खुट्टा भाँचिएपछि ‘जात्रै जात्रा’ पोस्टपोन्ड भयो । ‘जात्रै जात्रा’ले रिलिज पोस्टपोन्ड गरेकै दिन ‘दि ब्रेकअप’ले सोही मिति प्रदर्शन हुने तय गर्यो । शुरुमा यो चलचित्र पौष २७ गते प्रदर्शनमा आउने जनाइएको थियो । अन्तिम समयमा भिएफएक्सको काम नसकिएको भन्दै चलचित्रको प्रदर्शन मिति फागुन १७ मै पुर्याएपछि यो चलचित्र ‘क्याप्टेन’सँग एकसाथ प्रदर्शन हुने भएको हो । ‘क्याप्टेन’का मुख्य कलाकार हुन अनमोल केसी । अनमोल र हेमराजले एउटै चलचित्रबाट डेव्यु गरेका हुन । सन् २०१३ को चलचित्र होस्टेलबाट डेव्यु गरेका यि दुईले त्यसपछि जेरी र गाजलुमा एकसाथ काम गरेका थिए । यि ३ वटै चलचित्र सफल चलचित्र हुन । तर, अनमोल बाहेक हेमराजले काम गरेका अन्य चलचित्रहरु सम्बोधन र ग्याङस्टार व्लुज भने व्यवसायिक रुपमा असफल भएका थिए । पछिल्लो समय हेमराजले ‘दि ब्रेकअप’मा समेत अनमोललाई अफर गरेको तर, अनमोलले अस्वीकार गरेको खबर बाहिरिएको थियो । त्यही प्रतिशोध साध्न हेमराजले अनमोलको चलचित्रसँग आफ्नो चलचित्र जुधाएको चर्चा फिल्मी बजारमा व्याप्त छ । सायद यसैले होला उनलाई प्रश्न आयो अनमोलले आफ्नो फिल्म रिजेक्ट गरेको रिसमा उनकै चलचित्रसँग जुधाउनु भएको हो ? यो प्रश्नको जवाफ दिनु अघि हेमराजलाई अर्को प्रश्न थपियो तपाईले अनमोलसँग काम गरेका बाहेक अन्य चलचित्र सफल छैनन् । त्यसैले अनमोललाई चलचित्र खेलाउन नसके पनि सँगै प्रदर्शन भएर अनमोलसँग जोडिन चाहनु भएको हो ?

हेमराज मुसुक्क मुस्कुराए । अनि फागुन र चैत्रमा धेरै चलचित्रको प्रदर्शन चाप रहेको संकेत गर्दै सबै फिल्म मेकर्सले राम्रो डेटमा नै आफ्नो चलचित्र प्रदर्शन गर्न चाहने बताए । त्यसैले आफुले फागुन १७ रोजेको उनको भनाई छ । त्यसो त उनले अनमोलसँग सम्बन्ध विग्रिएका कारण वा उनीसँग प्रतिसोध साध्नका कारण उक्त मितिमा चलचित्र प्रदर्शन गर्न लागेको कुराको समेत खण्डन गरेका छन् । उनले सो मितिमा सार्वजनिक विदाहरु पनि धेरै परेकोले बजारले दुई चलचित्र सहजै धान्ने विश्वास प्रकट गरे । त्यसो त एउटै मितिमा दुई चलचित्र प्रदर्शन हुनु अस्वभाविक थिएन । तर, अनमोल र हेमराजको चलचित्र भएर मात्र यति धेरै कुरा उठेको थियो । उनले एकसाथ प्रदर्शन हुँदा पनि ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ कुनै चलचित्रलाई पनि असर नहुने जनाए ।

अनमोलसँग पहिला जस्तै सुमधुर सम्बनध अहिले पनि रहेको भन्दै उनले आफुलाई इगोमा आएर चलचित्र जुधाउनु पर्ने कुनै कारण नभएको स्पष्ट पारे । त्यसो त ‘क्याप्टेन’का निर्माता तथा अनमोलका पिता भुवन केसीसँग आफ्नो कुरा भएको भन्दै उनले आफुले मिलेरै दुबै चलचित्र प्रदर्शन गर्नं लागेको समेत बताए ।

अनमोलसँगको विषय पछि उनलाई प्रश्न आयो वितरकसँगको लफडा बारे । जुन लफडालाई उनले सामान्य विषयका रुपमा लिए । पुष २७ प्रदर्शन गर्ने भन्दै उपत्यका बाहिरको वितरण अधिकार व्याङ्केटस् इन्टरटेनमेण्टलाई दिदा एडभान्स स्वरुप निर्माण पक्षले १० लाख लिएको थियो । तर वितरकसँग सल्लाह नगरि रिलिज डेट परिवर्तन गरेपछि वितरकले निर्माता विरुद्ध उजुरी दिएका थिए । उनीहरुले निर्माताको एकतर्फि कदमले आफुहरुलाई क्षतिपुगेको भन्दै १० लाख क्षतिपूर्ति माग गरेका थिए । तर, कुरा ३ लाखमा मिलेको खबर बाहिरिएको थियो । यो बारेमा प्रश्न गर्दा हेमराजले वितरकसँगको डिल गोप्य रहने भन्दै खुलाउन चाहेनन् तर पत्रकारको प्रश्नलाई नकार्न पनि सकेनन् । उनले अप्रत्यक्ष रुपमा उक्त कुरा स्वीकार्दै भने – ‘कहाँबाट पत्ता लगाउनु हुन्छ तपाईहरुले मलाई पनि जान्न मन लाग्यो । जस्तो खालको तपाईले प्रश्न गर्नुभयो स्रोत चाँही खतरै रहेछ । वितरकसँगको डिल गोप्य हुन्छ, यो बिजनेश डिल हो । उहाँहरुसँग के डिल भएको थियो के कम्प्रोमाइज्ड भयो अनि कसरी अगाडी बढ्यो त्यो गोप्य नै हुन्छ । हाम्रो बिचमा कुनै मन मुटाब छैन हामी मिलेरै चलचित्र रिलिज गर्दैछौं । उहाँहरुले ‘क्याप्टेन’ अनि मैले फरक वितरकसँग काम गर्दैछु ।’

अनमोल र वितरकसँगको कुरापछि हेमराजलाई अश्लिलताको बात समेत लाग्यो । ट्रेलरमा समावेश गरिएको एक दृष्य जहाँ अभिनेता आशिरमान देशराज जोशीको हात अभिनेत्री शिल्पा मास्केको संवेदनशिल अंगमा पुगेको देखाइन्छ । अष्ट्रेलियाको समुन्द्रमा रमाउँदा उनीहरु बिच यो दृश्य खिचिएको छ । यही दृष्य र ट्रेलरमा दुई स्थानमा समावेश किस सिन समेतलाई लिइ उनी छाडा भएको आरोप समेत लाग्यो । यति मात्र होइन उक्त दृष्य सन् २०१३ को चलचित्र ‘एटिएम’सँग मिल्छ । ‘एटिएम’को दृष्यमा नायिका जीया केसी लड्दा अभिनेता दिनेश थापाको हात उनको संवेदनशिल अंगमा पुगेको देखाइएको थियो । उक्त दृष्यको तस्विर सार्वजनिक भए लगत्तै ‘एटिएम’को चर्को आलोचना भएको थियो । उक्त दृष्यलाई अश्लिलताको ट्याग लागेको थियो । सोही दृष्य ‘दि ब्रेकअप’मा दोहोरिदा हेमराजलाई पनि छाडा भएको आरोप मात्र लागेन किन चोरेको भन्दै प्रश्न समेत उठ्यो । जुन प्रश्नको जवाफमा हेमराजले उक्त दृष्यलाई हेर्ने नजर र सोच्ने सोचमा भरपर्ने जवाफ दिए ।

भनिन्छ कामुकता दृष्यमा भन्दा दृष्टिमा भर पर्छ । त्यसैले होला उनले मन्दिरका टुडालहरुमा कुँदिएका देवीदेवताका कामुक आकृतिको उदाहरण दिदै भने – ‘हामीले आफ्नो मेन्टालिटी नै कुण्ठित बनायौं कि, त्यसैले किस सिन देख्दा बित्तिकै छाडा लाग्यो ।’ उनले आफुमा आफुले देखाउन खोजेको कुरा भल्गर छ कि छैन त्यसको जजमेण्ट गर्नसक्ने क्षमता भएको भन्दै ‘दि ब्रेकअप’को ट्रेलर वा चलचित्रले कुनै पनि हिसावले भल्गारिटी देखाउने वा हेर्न नसकिने खालको नभएको जिकिर गरेका छन् । कलाकारले यसलाई कलाकै रुपमा बुझेर अभिनय गरेका भन्दै उनले अन्य दृष्यमा जस्तै यो दृष्यमा पनि स्टोरीको डिमाण्ड अनुसार नै काम भएको बताएका छन् । अश्लिलताको विषयलाई धेरै इश्यु नबनाउन आग्रह गरेका हेमराजले उक्त दृष्य ‘एटिएम’बाट चोरेको कुरा पनि नकारेका छन् । उनले आफुले अहिले सम्म चलचित्र ‘एटिएम’ नहेरेको भन्दै यदी कतैबाट चोर्न पर्यो भने हलिउड, युरोपियन र बलिउड चलचित्रबाट नै चोर्ने वा उठाउने समेत बताए ।