Mansara

हेर्नुस् यस्तो छ ‘जय श्री दाम’को पहिलो १५ मिनेट

२०७५ पौष ९
हेर्नुस् यस्तो छ ‘जय श्री दाम’को पहिलो १५ मिनेट

नेपाली चलचित्रको इतिहासमै सम्भवत पहिलो पटक होला चलचित्र ‘जय श्री दाम’ निर्माण युनिटले प्रदर्शन अगावै चलचित्रको पहिलो १५ मिनेट सार्वजनिक गरेको छ । पौष २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रचार गर्न यस्तो उपाय अपनाएको हो ।

यसअघि ट्रेलर सार्वजनिक गरिसकेको निर्माण युनिटले दर्शकलाई लोभ्याउन र नझुक्याउन १५ मिनेटको प्रिभ्यू भिडियो सार्वजनिक गरेको निर्देशक बिप्लोप उप्रेतीले बताएका छन् । उनका अनुसार आफ्नो चलचित्रमा न महँगो बजेट, न स्टारकास्ट नै भएको तर कन्टेन्ट बलियो भएकोले पहिलो १५ मिनेट सार्वजनिक गरिएको हो । पहिलो अंशले दर्शक तान्नेमा निर्माण पक्ष बिश्वस्त समेत देखिएको छ ।

सार्वजनिक गरिएको अंशमा अभिनेता अमृत ढुङ्गाना र अभिनेत्री जेबिका कार्कीको प्रेममा परिवार बाधक हुँदा उत्पन्न हुने समस्या देखाइएको छ । चलचित्रमा विनोद न्यौपाने, राजन खवितडा, प्रमोद अग्रहरी र विष्णु सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्र कमेडी जनराको हो । मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सहनिर्मातामा मित्र डि गुरुङ र रविन आचार्य हुन । चलचित्रमा रविन आचार्य र नवराज उप्रेतीको छायाँकन, निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा र मित्र डि गुरुङको सम्पादन रहेको छ ।

Mahajatra