Mansara

बोर्ड अध्यक्ष भट्टराई भन्छन् – वितरकका कारण चलचित्र जुधे, पत्रकारले पनि अति गुटबन्दी गरे

२०७६ बैशाख २
बोर्ड अध्यक्ष भट्टराई भन्छन् – वितरकका कारण चलचित्र जुधे, पत्रकारले पनि अति गुटबन्दी गरे
तस्विर : विवेक बस्याल

चलचित्र पत्रकार संघको आयोजनामा राजधानीमा ‘चलचित्र क्षेत्रका बेथिती’ बिषयमा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र निर्माता संघ र चलचित्र संघका अध्यक्षहरु समेत उपस्थित थिए । कार्यक्रमका प्रमुख वत्ता भने चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई थिए । सो कार्यक्रममा भट्टराईसँग सम्वन्धित रहेर उठेका प्रश्नमाथी उनको धारणा यस्तो छ ।

वितरकका कारण निर्माता मारमा !


चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले वितरकहरुका कारण निर्माताहरु मारमा परेको संकेत गरेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएका दुई चलचित्रहरु यात्रा र ए मेरो हजुरको सम्बन्धमा कुरा गर्दै उनले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने – ‘दुई चलचित्र नजुधाउनका लागि केही तत्व त नभौं केही साथीहरुको मुख्य रोल हुन्थे । मेरो अथक प्रयास थियो । तर, उहाँहरुकै कारण जुध्यो ।’ भट्टराईले केही साथी भनेपनि कसैको नाम लिएका थिएनन् । तर, ति साथीहरु को हुन भन्ने प्रश्नमा भने उनले दुवै चलचित्रका वितरक भएको बताए । चलचित्र यात्रालाई काठमाण्डौ बाहिर एफडी कम्पनी र काठमाण्डौमा गोपाल कायस्थले वितरण गरेका हुन् भने ए मेरो हजुर ३ लाई काठमाण्डौमा गोविन्द शाही र काठमाण्डौ बाहिर मनोज राठी र उज्वल पौडेलले वितरण गरेका हुन् । यसो भनिरहदा उनले आफुले बोर्ड अध्यक्ष नभएर यात्राको निर्माताका हैसियतमा यो कुरा बताएको उल्लेख गरे ।
 

पत्रकार पनि गुटमा लागेको आरोप


चलचित्र क्षेत्रमा अति गुटबन्दी कायम रहेको भन्दै अध्यक्ष भट्टराईले त्यस्तो गुटबन्दीले यस क्षेत्रलाई कहि पनि नपुर्याउने जनाएका छन् । भएको कुरा गर्दा आफुलाई आपत्ति नभएको भन्दै उनले दुई चलचित्र एकसाथ रिलिज हुँदा पत्रकारहरु पनि गुटमा संलग्न भएको घुमाउरो आरोप लगाए । विभिन्न चलचित्रमा मिडिया कोर्डिनेटर साथीहरु हुने भन्दै ति पत्रकार उक्त चलचित्र प्रती इमान्दार हुनुपर्नेमा आफ्नो दुईमत नरहेको तर, अति गुटबन्दी देखियो भन्दै त्यसले बेतिथी निम्त्याएको उनको भनाई छ । यसो भनिरहदा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा भट्टराईकै छेउमा बसिरहेका थिए ।


बक्स अफिस रिपोर्टमै बेधिती


चलचित्रको व्यवसायिक रिपोर्टको आधार के भन्ने वियायमा समेत भट्टराईसँग प्रश्नउत्तर भएको छ । खासगरि सञ्चार माध्यममा सहि बक्स अफिस रिपोर्ट आउन नसकेको भन्दै कुरा उठेको थियो । राजधानीमा बक्स अफिस प्रणाली जडान भएपनि प्रभावकारी हुन सकेको छैन । मोफसलमा लागु हुने कुरा चलिरहेको छ । मिडियाले निर्माता वा वितरककै दाबीका भरमा बक्स अफिस रिपोर्ट लेख्नुपर्ने अवस्था छ । तर, त्यस्तो रिपोर्टलाई स्वयम् भट्टराई लगायतका चलचित्रकर्मीहरुले पत्याएनन् । बरु उनीहरुले पत्रकारलाई सही रिपोर्ट बुझेर लेख्न आग्रह गरे । चलचित्रको रिपोर्ट हलवालाले नदिने, वितरक र निर्माताले बढाएर भन्ने यो बेधितीको अन्त्य पनि हुन सकेको छैन । भट्टराई सूचनाको हक अन्र्तगत लिखित रुपमा पत्रकारले माग्न चाहेमा सम्बन्धित निकायले सही डाटा दिन बाध्य हुने बताउँछन् । पत्रकारले आफ्नो अधिकारको प्रयोग गरि रिपोर्ट बुझ्न सक्ने उनको भनाई छ । पारदर्शीताको कुरा जति गरेपनि उनले बक्स अफिस प्रणाली मार्फत सबैले सहजै बक्सअफिस रिपोर्ट भने हेर्न नसक्ने जनाए ।

बरु उनले आफ्नो चलचित्र यात्राको बक्स अफिस रिपोर्ट देखाउन आफु तयार रहेको बताए । आफुलाई रिपोर्ट सार्वजनिक गर्न आपत्ति नभएको भन्दै रिपोर्ट लुकाउँदैमा कोही पनि निर्माताको पैसा डुबेमा फिर्ता नहुने उनको कथन छ ।
 

शनिबार सरकारी गाडीको प्रयोग


गत शनिबार सरकारी गाडी चढेर आफ्नो चलचित्रको यात्राको हल रिपोर्ट बुझ्न हिडेको आरोपको भने उनले खण्डन गरेका छन् । आफु गोपीकृष्ण र अष्टनारायण हलमा सरकारी गाढी चढेर पुगेको जनाउँदै भट्टराईले त्यसको उद्देश्य बक्स अफिसको अनुगमन भएको बताए । म त्यसदिन आफु कार्यक्रममा पनि जानु पर्ने भएको र तालुकवाला सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बाट आउने ३० गते सम्मका लागि सार्वजनिक विदाको दिनमा पनि सवारी प्रयोग गर्ने अनुमति लिएको जनाए ।
 

उपाय नभएर शहरमा पोष्टर टासियो


काठमाण्डौ उपत्यका भित्र चलचित्रको पोष्टर जथाभावी नटास्न काठमाडौं महानगरपालिकाले निर्माता संघ मार्फत जानकारी गराएको थियो । केशव भट्टराई निर्माता संघको बरिष्ठ उपाध्यक्ष भएकै बेला निर्माता संघले पत्रकार सम्मेलन मार्फत उक्त आग्रह निर्माताहरुलाई गरेको थियो । यद्यपी अहिलेपनि शहरका भित्ताहरुमा चलचित्रको पोष्टर टासिएका छन् । अझ यसपटक त के भयो भने जहाँ यात्राको पोष्टर टासिएको थियो त्यसमाथी ए मेरो हजुर ३ को पोष्टर टासियो । यो विषयमा यात्राका निर्माता शुशिल पोखरेलले लेखेको फेसबुक स्टाटस्लाई केशब भट्टराईले पनि सेयर गरे । स्थानिय सरकारले पोष्टर नसास्न गरेको आग्रह विपरित संघिय सरकार अन्र्तगत रही चलचित्र क्षेत्रको नेतृत्व गरेका भट्टराईले पोष्टर टास्नु र फेसबुमा स्टाटस् समेत सापटी भन्दै राख्नुलाई चलचित्र क्षेत्रको अर्को बेतिथीका रुपमा लिइयो । पत्रकारले यसबारे सोधेको प्रश्नमा भट्टराईले अर्को उपाय नभएको बताए । उनले अहिले यसबारे महानगरपालिका सँग निर्माता संघको छलफल चलिरहेको जनाए । तत्कालका लागि पोष्टर टास्नेलाई नथुन्न महानगरमा कुरा भएको र निर्माता संघले त्यसको विकल्प खोजिरहेको उनको भनाई छ । त्यही कारण आफुहरुले पनि पोष्टर टासेको भट्टराईको प्रस्टोक्ति थियो । उनले सम्बन्धित संस्थाले यसबारे पहल गरे आफुले बोर्डबाट गर्न पर्ने काम गर्न तयार रहेको बताए ।
 

अनमोलको चलचित्रसँग जुध्दा डर


अनमोल केसीको चलचित्रसँग जुध्दा यसअघि एकसाथ चलेका चलचित्रको जस्तो हालत हुन्छकी भन्ने डर रहेको भए पनि त्यसबाट बचिएको भट्टराईको भनाई छ । उनले यात्राले राम्रो व्यापार गरिरहेको र आत्तिनु पर्ने अवस्था पनि नरहेको जनाए । उनी यात्राको व्यापारबाट सन्तुष्ट देखिए ।
 

साउन १ बाट देशभर बक्स अफिस


साउन १ गतेबाट उपत्यका बाहिर पनि बक्स अफिस शुरु गर्ने भट्टराईको भनाई छ । बक्सअफिसका लागि आवश्यक सामग्रीको टेण्डर भइसकेको र केही दिनमा आवश्यक सामग्री आउने उनले जनाएका छन् । सम्भवत यही ५ गतेबाट बक्स अफिसका लागि आफु पूर्वतर्फ जाने उनले बताएका छन् । अब देशभर इमान्दारी पूर्वक बक्स अफिस लाग्ने बताएका भट्टराईले ८० हललाई आवश्यक उपकरण अनुदानमा दिने जनाए ।
 

आचारसंहिता बनाउन आग्रह


चलचित्र क्षेत्रका सबै पक्ष इमान्दार हुन पर्ने उनको भनाई छ । उनले निर्माता, वितरक, प्रदर्शक र चलचित्र पत्रकारहरु इमान्दारीपूर्वक लाग्ने हो भने बेतिथीको अन्त्य हुने विश्वास लिएका छन् । जसका लागि सम्बन्धित संथाहरुले आचारसंहिता बनाउन आवश्यक रहेको उनको बुझाई छ ।

Mahajatra