Mansara

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण, यस्ता छन् उनका प्राथमिता

२०७५ चैत्र ११
नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण, यस्ता छन् उनका प्राथमिता

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले पदभार ग्रहण गरेका छन् । सोमवार अपरान्ह साढे चार बजे नवनियुक्त अध्यक्ष भट्टराईले पदभार ग्रहण गरेका हुन् ।

भट्टराईलाई बधाई तथा शुभकामना दिन थुप्रै चलचित्रकर्मीहरु चलचित्र विकास बोर्ड पुगेका थिए । पदभार ग्रहणसँगै उपस्थित चलचित्रकर्मी र सञ्चारकर्मीहरुमाझ सम्बोधन गर्दै अध्यक्ष भट्टराईले चलचित्र क्षेत्रको अहित हुने काम कहिल्यै नगर्ने प्रतिवद्धता व्यक्त गरे । सरकार समक्ष १६ बुँदे कार्ययोजना पेश गरेको भन्दै उनले त्यसलाई तत्काल सार्वजनिक भने नगर्ने जनाएका छन् । ति मध्ये केही महत्वाकांक्षी कार्ययोजना रहेको र त्यसको कार्यन्वयनका जटिलता बारे अध्ययन गर्न केही समय लाग्ने भन्दै उनले तत्काल सार्वजनिक गर्न नसक्ने बताए । यद्यपी केही समयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो योजना सार्वजनिक गर्ने जनाएका छन् ।

आफू राजनीतिक कार्यकर्ता वा कुनै संघ विशेषको प्रतिनिधिका रुपमा बोर्डमा नरहने बताएका भट्टराईले यस क्षेत्रका कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नरहने समेत स्पष्ट पारेका छन् । राष्ट्रिय चलचित्र नीति पारित गर्न पहल गर्ने, बक्सअफिसको कार्यन्वयनमा कटिवद्ध भएर लाग्ने, २ वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार तत्काल गर्ने र काठमाडौं उपत्यकामा इण्डोर छायाँकन स्टुडियो आफ्नो पहिलो प्राथमिकता रहेको समेत उनले बताएका छन् ।

अबको सम्पूर्ण समय बोर्डका लागि दिने बताएका भट्टराईले चलचित्र सम्वन्धि साना कार्यक्रममा नबोलाइदिन समेत आग्रह गरेका छन् ।

तस्विर : आर्यन बिमली

Mahajatra