‘खेल’को रहस्यमय कथा बताउने पोस्टर सार्वजनिक

२०८१ चैत्र ५
‘खेल’को रहस्यमय कथा बताउने पोस्टर सार्वजनिक

आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन् । 

रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रङ्गको संयोजनमा तयार पारिएको छ । यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ । पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ । अगाडि हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त चलचित्रकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ । ‘खेल’ शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ । 

‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा चलचित्रले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ ।  

यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सहनिर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् ।