किम्फ फिल्म फेस्टिभल सुरु, २८ देशका चलचित्र प्रतिष्पर्धामा

२०७८ मंसिर २४
किम्फ फिल्म फेस्टिभल सुरु, २८ देशका चलचित्र प्रतिष्पर्धामा

काठमाडौं अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेष्टिवल (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । कोभिड–१९ महामारीको जोखिमले यसपटकको किम्फ हाइव्रिड शैलीमा आयोजना गरिएको हो । 

हिमाल एसोसियसनद्वारा आयोजित फेस्टिभल चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन भारतको लद्दाखका चर्चित वातावरण अभियन्ता तथा रोलेक्स अवार्ड विजेता सोनम वाङचुकले किनोट स्पिचसहित गरे । 

डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट र एनिमेसन फिल्म गरी २८ मुलुकका ५० भन्दा बढी फिल्म अनलाइन र प्रत्यक्षरुपमा देखाइने भएको छ । विश्वभरदेखि दर्शकले सबै फिल्मलाई महोत्सव अवधीभर किम्फ फिल्म फेस्टिभलको पोर्टलमा हेर्न सक्नेछन् । 

यसपटक किम्फ फेस्टिभलको मुख्य थिम ‘क्लाइमेट कर्म’ राखिएको छ । यसपटक जलवायु परिवर्तनका असर चित्रण गरिएका फिल्म, लैंगिक समानता र सशक्तीकरणका सन्देश दिने फिल्महरु किम्फमा देखाइने भएको छ । 

फेस्टिभल शुभारम्भ काइली रुडिक निर्देशित १८ मिनेट लामो वृत्तचित्र ‘ड्रीम माउन्टेन’ प्रिमियरसँगै सुरु भयो । एक बच्चाकी आमा समेत रहेकी नेपाली महिला हिमाल आरोही पासाङ ल्हामु शेर्पाले गरेको संघर्षपूर्ण हिमाल आरोहणको कथा यसले भन्छ ।

यसपटकको किम्फमा ४० फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी छन् भने १३ फिल्म नेपाल पानोरमार्फत प्रतिस्पर्धी छन् ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)