‘महाभोज’को रिलिज घोषणा, जेठ १५ मा प्रदर्शन हुने

२०८१ फागुन २७
‘महाभोज’को रिलिज घोषणा, जेठ १५ मा प्रदर्शन हुने

चलचित्र ‘महाभोज’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार फष्टलुक पोष्टर सार्वजनिक गर्दै आगामी वर्षको जेष्ठ १५ बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शन गरिने जनाइएको छ । उक्त मितिमा नेपालसहित बिभिन्न देशमा चलचित्र एकसाथ रिलिज हुने जनाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रको पोष्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन् । पोस्टरमा प्रमुख कलाकारहरूको गम्भीर र चुनौतीपूर्ण हाउभाउ देखिन्छ । पोस्टरको केन्द्रमा भादगाउँले टोपी लगाएका अभिनेता आर्यन सिग्देल छन्, भने उनको दायाँवाया दयाहाङ राई र खगेन्द्र लामिछाने छन् । यस्तै चलचित्रका ३ नायिका अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समेत पोष्टरमा समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन छ, जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई संकेत गर्छ । पोष्टरमा आर्यनको लुक्स हेर्दा उनी नेताको भूमिकामा रहेको संकेत मिल्छ भने अन्य कलाकारको अनुहारमा आक्रोश, पीडा र अन्यायको भाव देखिन्छ । 

चलचित्रमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिका सहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन्स र पिक्चर फ्रेमको संयुक्त निर्माण रहेको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको र मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।