सहकारी समस्यामा केन्द्रित ‘महाभोज’, टिजर सार्वजनिक
चलचित्र ‘महाभोज’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले चलचित्रको कथा सहकारी समस्याको वरपर घुमेको स्पष्ट पारेको छ । टिजरमा पैसाले निम्त्याएका पारिवारिक र सामाजिक द्वन्द्वहरूलाई प्राथमिकता दिइएको छ ।
चलचित्रमा खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति–पत्नीको रूपमा देखाइएको छ, जसले पैसाको समस्याका कारण पारिवारिक तनाव खेपिरहेका छन् । सहकारी संस्थाको अध्यक्षको रूपमा रहेका अभिनेता दयाहाङ राईको भूमिका देखिन्छ । उनले बोलको सम्बाद – ‘सहकारीको सबै पैसा खातामा कहाँ राखिन्छ त’ले उनी नेतृत्वको सहकारी समस्याग्रस्त अवस्थामा रहेको बुझ्न सकिन्छ । उनी टिजरमा कहिले खुसी, कहिले आक्रोशित अवस्थामा देखिएका छन् । उनी कसैको घरमा खुकुरी लिएर प्रवेश गरेको दृश्य र मोटरसाइकल जलिरहेको दृश्यले कथाको तनावपूर्ण मोड देखाउँछ । अभिनेत्री गौमाया गुरुङ, जो दयाहाङकी पत्नीको भूमिकामा छिन्, पतिको आक्रोश शान्त पार्ने प्रयासमा देखिन्छिन् ।
अभिनेत्री मलिका महतले प्रहरीसँग आफू निर्दोष भएको बयान दिइरहेकी छन् । उनले आफु भन्दा माथिल्लो तहका कर्मचारी वा सञ्चालकले भनेअनुरुप काम गरेको बताइरहेकी छिन । अभिनेता आर्यन सिग्देल भने गाउँपालिका अध्यक्षको भूमिकामा देखिएका छन् । उनको उपस्थितिले राजनीतिक तहसम्म चलचित्रको सन्दर्भलाई विस्तार गरेको देखिन्छ ।
टिजरमा अभिनेता द्वय लामिछानेले र राईको एक संवाद छ – ‘गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ’, यो संवादले चलचित्र सामाजिक अन्याय, आर्थिक असमानता, शक्ति र संरचनाले सिर्जना गर्ने मानसिक तथा जीवन मरणको अवस्था जस्ता सूक्ष्म र गम्भीर विषयहरू उठाउने प्रयासमा रहेको बुझ्न सकिन्छ । यस्तै टिजरको एक दृश्यमा देखिएको “सत्य कहिल्यै लुक्दैन” भन्ने वाक्यले चलचित्रको निष्कर्षतर्फ सङ्केत गर्छ ।
गणतन्त्र दिवसको मौका पारी जेठ १५ गते बिहीबार चलचित्र रिलिज हुँदैछ । निर्देशक दिनेश राउतका अनुसार, चलचित्र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्र हो, जहाँ पात्रहरू आफ्नै अस्तित्व र आत्मसम्मानको लडाइँमा छन् ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय देख्न पाइनेछ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेम को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षका अनुसार ‘महाभोज’नेपालसँगै नेपालीहरू बसोबास गर्ने अधिकांश देशमा एकैसाथ प्रदर्शनमा ल्याइनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
