Mahajatra

विदेशमा प्रसादको उच्च माग, युरोपका ११ देशमा छक्का पञ्जा ३ पछिकै उच्च शो

२०७५ मंसिर १२
विदेशमा प्रसादको उच्च माग, युरोपका ११ देशमा छक्का पञ्जा ३ पछिकै उच्च शो

घरेलु दर्शकमाझ प्रतिक्षित बनिरहेको चलचित्र ‘प्रसाद’को माग विदेशमा समेत उच्च देखिएको छ । खासगरि युरोपियन मुलुकहरुमा प्रसाद हाई डिमाण्डेड मुभी बनेको हो ।

युरोप वितरणको अधिकार लिएका सुरज कार्की र मेला इभेण्ट प्लानरका अनुसार युरोपका ११ देशमा चलचित्र प्रसादको प्रदर्शन कन्फर्म भइसकेको छ । उनका अनुसार ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि चलचित्रको माग बढीरहेको छ । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रीया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका देशमा प्रदर्शन कन्फर्म भएको प्रसादको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । माल्टा, फिनल्याण्ड, अष्ट्रीया र पोर्चुगलमा मेला इभेण्ट प्लानरले चलचित्रको वितरण गरेको हो ।

एक दर्जन बढी चलचित्रको युरोप वितरकका रुपमा काम गरेका कार्कीका अनुसार ‘छक्का पञ्जा ३’ पछिको हाई डिमाण्डेड मुभी प्रसाद हो । यसअघि छक्का पञ्जा ३ ले युरोपमा अहिले सम्मकै उच्च ३० शो पाएको थियो । युरोपका अन्य देशबाट प्रसादको माग बढीरहेको भन्दै उनले छक्का पञ्जा ३ कै हाराहारीमा प्रसादको शो हुने बताएका छन् ।

उनका अनुसार विदेशी दर्शकहरु माझ निश्चल बस्नेतको अत्याधिक क्रेज हुनुका साथै गीतले दर्शकको अत्याधिक मन जितेका कारण युरोपमा प्रसादको माग उच्च भएको हो । त्यसो त यसअघि विपिन कार्की अभिनित चलचित्र हेर्न विदेशीहरु पनि आएको भन्दै उनले विपिनको उपस्थितिलाई पनि अर्थपूर्ण मानेका छन् । यसअघि विपिन अभिनित चलचित्र नाका हेर्न विदेशीहरु पनि आएको भन्दै उनले यसपटक विदेशी दर्शकलाई समेत लक्षित गरेर सब टाइटल समेत राखिने बताएका छन् । त्यसो त चलचित्रलाई युरोपियन देशका चलचित्र चल्ने मल्टिप्लेक्स हलहरुमा नै प्रदर्शन गरिने उनले जानकारि दिएका छन् । उनका अनुसार वितरक र हलसञ्चालकले ५०–५० प्रतिशत सेयर बाँडफाड गर्नेछन् । त्यो बाहेक चलचित्र हल नभएको र कम दर्शक भएको सानो शहरमा दोस्रो चरणमा रेष्टुरेण्टमा चलचित्र देखाउने उनको लक्ष्य छ ।

युरोप प्रदर्शनका लागि छुट्टै सेन्सर गर्नु नपर्ने भए पनि चलचित्र निर्माण कम्पनीले चलचित्र वितरण र प्रदर्शनको अनुमति सहितको पत्र दिनु पर्नेछ ।
यता अष्ट्रेलियामा सेम डे चलचित्र प्रदर्शनको तयारी भएको छ । अष्ट्रेलिया प्रदर्शनको अधिकार लिएको गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरका अनुसार ७, ८, ९ र १० डिसेम्बरमा चलचित्र प्रसाद अष्ट्रेलियामा प्रदर्शन हुनेछ । अष्ट्रेलियामा पनि चलचित्रको माग उच्च भएकोले सेम डे प्रदर्शनको तयारी थालेको बताइएको छ । अष्ट्रेलियाका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शन हुनेछ ।

यता युके, जापान नर्वे र हङकङलगायतका देशमा पनि चलचित्र प्रसादको माग उच्च देखिएको सम्वन्धित देशका वितरकहरुले जनाएका छन् । उनीहरुका अनुसार सम्वन्धित देशमा चाँडै नै चलचित्रको प्रदर्शन मिति तय हुनेछ ।

मंसिर २१ गतेबाट प्रदर्शन हुने चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ, बसुन्धरा भुषाललगायतका कलाकारको अभिनय रहेको छ । सुभाष थापा प्रोडक्सनको व्यानरमा सुभाष थापाले निर्माण गरेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, लोकेश बज्राचार्यको सम्पादन, हिमाल केसीको द्वन्द्व र सुशिल पौडेलको लेखन रहेको छ । विकास सुबेदी चलचित्रका एसोसियट निर्देशक हुन ।