यि हुन चलचित्रमा सधैं चम्किरहने ताराहरू

२०७५ भाद्र २०

मेरा धेरै साथीहरू पुरानो कुरा गरेको मन पराउँदैनन् । उनीहरू भन्छन् – ‘इतिहास कोट्याएर के पाइन्छ ? समय कहाँबाट कहाँ पुगिसक्यो ।’

तर मलाई कस्तो लाग्छ भने इतिहासजस्तो महत्वपूर्ण कुरा हाम्रो विकासक्रम र परिचयको उद्गमस्थल भएकोले यसलाई फ्याट्ट अबमूल्यन गर्नुहँदैन । इतिहास सत्यतथ्य र यथार्थको प्रमाणित वास्तविकता हो । तीतो वा मिठो जे भए पनि उसले देशको गौरव गरिमा, परम्परा एवम् गोरेटोलाई डोर्याउँदै ल्याएको हुन्छ जहाँ हाम्रा गुण, दोष, गल्ती, असफलता, सफलता आदि हरेक पक्षका वास्तविकता हुन्छन् । कुनै पनि व्यक्तिको जीवनका लागि तथा राष्ट्रकै निम्ति इतिहास भन्ने कुरा एउटा गम्भीर अनि गहन पाठ हो जसले हाम्रो भविष्य समेत निर्देश गर्दछ । इतिहासलाई अबमूल्यन गर्नु, बिगार्नु, भत्काउनु अथवा दुत्कार्नु केवल हाम्रो गलत र संकीर्ण चेतनाको बिस्कुन फिजाउनु मात्र हो । हामीले हाम्रो इतिहासको विकासक्रमलाई सम्झिनै पर्छ, यसका तथ्यहरूको संरक्षण गर्नै पर्छ । 

हाम्रै चलचित्रको छोटो कुरा गरौं । विश्वमा चलचित्रको अभ्युदय भएको कुरा एउटा लामो इतिहास भइसके पनि नेपालमा चलचित्र निर्माण कार्यको इतिहास र अवधिलाई चाहिँ छोटै मान्नुपर्छ । यसै सन्दर्भमा नेपाली चलचित्रको प्रारम्भिक अवस्थामा केही उत्साही निर्देशकहरूले पुर्याएको योगदान र उनीहरूको ऐतिहासक महत्वलाई पनि हामिले  सम्मान गरी सम्झनु आवश्यक छ ।

प्रारम्भमा भारतको पश्चिम बंगालस्थित कोलकाता चलचित्र उद्योगमा व्यवहारिक पक्षबाट चलचित्र निर्माणसम्बन्धी अनुभव र विश्वास बटुली तीन जना बंगाली मित्रहरूसित मिली आफ्नो समेत संयुक्त लगानीमा स्व. डी.वी परियारले निर्देशन गरी बनाएको नेपाली भाषाको प्रथम चलचित्र ‘सत्य हरिश्चन्द्र’ (सन १९५०) नेपाली चलचित्र निर्माणका निम्ति ऐतिहासिक प्रेरणा स्रोत बन्न पुग्यो । त्यो एउटा स्तुत्य कार्य थियो । यदि बंगाली र अन्य भाषामा चलचित्र बन्न सक्दछन् भने हामीले पनि हाम्रो भाषामा चलचित्र निर्माण गर्नुपर्दछ भन्ने असल भावनाबाट प्रेरित भई स्व. परियारले हरिश्चन्द्रसम्बन्धी धार्मिक एवम् पौराणिक कथामा आधारित उक्त आदर्शवादी चलचित्र बनाएका थिए । उनी नेपाली चलचित्र आकाशका कहिल्यै नअस्ताउने र नहराउने तारा हुन् ।

नेपालले बनाएको नेपाली चलचित्रको पहिलो निर्देशकका रूपमा ख्याति कमाएका स्व. हीरा सिंह खत्रीले निर्देशन गरी बनाएको ‘आमा’ वि.सं २०२२ सालमा प्रदर्शित भएको थियो । भारतको देहरादुनमा जन्मेका स्व. खत्रीले चलचित्र नगरी बम्बईमा पाँचवटा हिन्दीभाषी चलचित्रहरू निर्देशन गरेपछि उनको प्रवेश नेपालमा भएको हो । उनले आमा बनाउनुअघि काठमाडौं आएर सर्वप्रथम वृत्तचित्र बनाएका थिए । त्यसपछि पनि उनले केही वृत्तचित्रहरूको निर्देशन गरेका थिए । स्व. हीरासिहंले आमापछि निर्देशन गरी बनाएका चलचित्रहरूमा ‘हिजो आज भोली’(२०२४) र ‘परिवर्तन’ (२०२७) पनि पर्दछन् । तत्कालीन सरकारद्वारा लगानी गरी निर्माण गराइएका उपरोक्त चलचित्रहरू निर्माण गर्नुका उद्देश्यहरू, कथा र कथ्य जेजस्ता भए पनि नेपालमा चलचित्र जस्तो अत्यन्त जनप्रिय एवम् उपयोगी कलात्मक सञ्चारमाध्यमलाई निर्देशकको रूपमा नेपाली दर्शकसामु प्रस्तुत गर्ने पहिलो श्रेय पाएका स्व. हीरासिंह खत्रीले खनेको गोरेटो स्तुत्य छ ।

त्यसैगरी निजी निर्माणको रूपमा प्रस्तुत अर्को नेपाली कथानक चलचित्र ‘माइतीघर’ (२०२३) को निर्देशन गर्ने देहरादुनमा जन्मी बम्बईलाई कार्यथलो बनाएका बी. एस. थापाको आफ्नो अलग्गै स्थान छ । त्यस चलचित्रको प्रस्तुति पूर्णरूपमा व्यवसायिक थियो । चलचित्रमा प्रस्तुत त्यस बेलाका अत्यन्त लोकप्रिय गीत संगीत आज पनि रेडियो र टेलिभिजन च्यानलहरूबाट दिनहुँजसो प्रसारण भइरहेका छन् । व्यवसायिक र मनोरञ्जक चलचित्रको सूत्रपातमा विशेष योगदान पुर्याएका निर्देशक थापाका ‘कान्छी’, ‘मायाप्रीति’, आदिले पनि उनको महत्व अझ बढाइदिएको छ । 

तथापि स्व. हीरासिंह खत्री तथा वी.एस थापाले नेपालमा प्राविधिकहरू हुँदै नभएको अवस्थामा आफ्ना शुरुका चलचित्रहरू भारतीय चलचित्रकर्मीहरूको प्रयोग गरी बनाउनु परेको थियो । चलचित्र प्रदर्शन गर्ने भवनहरू पनि थोरै थिए । उपकरणहरू पनि आजका जस्ता विकसित रूपमा थिएनन् । त्यसबेला चलचित्र प्रशोधनशाला, रेकर्डिङ स्टुडियो र सम्पादन कक्षहरू पनि थिएनन् । इन्डोर सुटिङका लागि समेत उनीहरूले कलकत्ता र बम्बई जानु परेको थियो । 

अर्को नेपाली चलचित्र निर्देशक स्व. प्रकाश थापा धनकुटा जिल्लाको मुगामा जन्मी युवावस्थामा बम्बई चलचित्र नगरी पुगी विविध निर्माण कार्यमा संलग्न भई पच्चीस वर्षपछि वि.सं २०३० सालतिर नेपालमा चलचित्र निर्देशन गर्न आए । ‘मनको बाँध’, ‘सिन्दुर’, ‘जीवन रेखा’, ‘कन्यादान’, ‘अधिकार’, ‘नाता रगतको’, ‘महामाया’, आदि चलचित्रहरू निर्देशन गरी देहावसान भएका स्व. प्रकाश थापाको सबैभन्दा ठूलो योगदान के हो भने उनले नेपाली चलचित्र निर्माणमा व्यवसायिकपनको गुण भिœयाए । नेपाली निर्देशक निर्माताहरू आज पनि उनको त्यस गुणलाई पछ्याउन रुचाउँछन् । उनी आफ्ना कलाकार तथा प्राविधिकहरूलाई पूर्णरुपले अनुशासनमा राख्दथे । उनको त्यो गुण अहिले पनि सान्दर्भिक आवश्यकता हो । 

उता दार्जीलिङबाट निर्देशक प्रताप सुब्बाले स्व. गुरु प्रसाद मैनालीको सुप्रसिद्ध कथा ‘परालको आगो’ लाई चलचित्रमा रुपान्तर गरी चलचित्रमा नेपाली मौलिकता हुनुपर्छ भन्ने अनुकरणीय बाटो देखाइदिए । उनले नेपालमा आएर पनि  प्रशस्त व्यवसायिक चलचित्रमा निर्देशन कार्य गरी नेपाली चलचित्रको भण्डार भर्ने दिशामा योगदान पुर्याए ।

कालिम्पोङका तुलसी घिमीरले पनि बम्बई चलचित्र नगरीमै चलचित्रसम्बन्धी सम्पादन एवम् अन्य विविध विधाहरूमा व्यवहारिक सीप सिकी सर्वप्रथम भारतमै ‘बाँसुरी’ नामक नेपाली चलचित्र निर्देशन कार्य गरे । बास्तवमा भन्ने हो भने वी. एस. थापा, स्व. प्रकाश थापाजस्ता निर्देशकहरूले पहिल्याउन खोजेको चलचित्रमा हुनुपर्ने व्यवसायिकपनको गुणलाई अघि बढाउँदै तुलसी घिमीरेले चरमसीमामा पुर्याएर ‘कोसेली’, ‘कुसुमे रुमाल’, ‘चिनो’, ‘लाहुरे’, ‘दर्पणछायाँ’, ‘गुरु दक्षिणा’ जस्ता अनेकौं उच्चस्तरका सफलतम व्यवसायिक चलचित्रहरूको निर्देशन गरी नेपाली चलचित्रको भण्डारलाई अत्यन्त धनी बनाए । उनी चलचित्र निर्माण प्रकरणका विविध विधाहरूमा पोख्त बहृप्रतिभाशाली निर्देशक पनि हुन् । उनी पटकथाकार, गीतकार, सम्पादक, छायाँकार, निर्माता, वितरक तथा चलचित्रका एक खप्पीस कलाकार पनि हुन् ।

आजका उत्साही युवा निर्देशकहरूले अत्याधुनिकरूपमा विकसित प्रविधि र उपकरणहरू प्रयोग गर्ने सुविधा पाएका छन् । चलचित्रसम्बन्धी धेरै धेरै ज्ञान र अनुभवसमेत हासिल गरी असल चलचित्र बनाउन थालेका छन् । तथापि हाम्रो नेपाली चलचित्रको इतिहास कोर्ने उपरोक्त नेपाली आकाशमा सधैं चम्किरहने ताराहरूले देखाएको बाटो तथा उनीहरूले नेपाली चलचित्रको जग बसाल्न पुर्याएको योगदानलाई हामीले कहिल्यै पनि बिर्सन हुन्न ।

Kumari Bank