Mahajatra

एयर होस्टेज बन्ने सपनाले मुम्बई पुर्यायो, मुम्बईले कलाकार बनायो

२०७५ फागुन २३
एयर होस्टेज बन्ने सपनाले मुम्बई पुर्यायो, मुम्बईले कलाकार बनायो

एयर होस्टेज बन्ने सपनाले उनलाई मुम्बई पुर्यायो । उनले एयर होस्टेज बन्नका लागि प्रयत्न नगरेकी पनि होइनन् । कतार एयरवेज, जेट एयरवेजलगायतमा एयर होस्टेजका लागि पुगेकी थिइन । तर, सफल हुन सकिनन् । त्यही विचमा उनले पार्ट टाइम मोडलिङ गर्थिन । एजेन्सी मार्फत केही शोका लागि उनले पनि अडिसन दिएकी थिइन । तर, त्यहाँ पनि कुनै अवसर पाइनन् । उनी थाकिनन्, अडिसन दिन छोड्दै छोडिनन् । एयर होस्टेज र सुपर मोडल त हुन सकिनन् बरु कलाकार भएर निस्किइन । एयर होस्टेज बन्न मुम्बई गएकी उनलाई मुम्बईले कलाकार बनायो ।

हामी कुरा गर्दछौं चैत्र १ गतेबाट प्रदर्शन हुने चलचित्र ‘जानी नजानी’की नायिका निरिशा बस्नेतको । निरिशा स्टार प्लसबाट आउने टिभी सिरियल ‘चन्द्र नन्दनी’बाट चर्चामा आइन । मोड्लिङमा सघर्ष गरिरहदा सिरियलका लागि दिएको पहिलो अडिसन जसले उनलाई कलाकार बनायो । अडिसन दिएको डेढ महिना पछि मात्र उनी सेलेक्ट भएको खबर आयो । त्यसको केही दिनमा नै छायाँकन शुरु भयो । निरिशाले पहिलो पटक क्यामरा फेस गरेको यही सिरियलको सेटमा हो ।

बलिउड विश्वका धेरै देशका नागरिकको स्वप्न नगरि पनि हो । त्यहाँ प्रतिष्पर्धा उत्तिकै छ । त्यही प्रतिपर्धाका बिच एउटी नेपाली चेलीले अवसर पाइन । अवसर मात्र पाइनन् उनले त्यसलाई मज्जाले उपयोग गरिन । सायद यसैले होला उनी सिरियल मेकरको आँखामा पर्न सफल भइन । ‘चन्द्र नन्दनी’मार्फत उनको अभिनयलाई धेरैले रुचाए । त्यसैले एकपछि अर्को अफरहरु आउन थाले । तर, आएका सबै अफरलाई उपयोग गर्न सक्ने अवस्था पनि थिएन । यो बिचमा उनी नेपाली चलचित्र ‘जानी नजानी’मा पनि व्यस्त भइन । यद्यपी अब भने फेरी मुम्बई फर्कदैछिन त्यो पनि सिरियलका लागि नै । उनले अर्को एउटा सिरियलमा लिड रोलमा काम गर्दैछिन ।

त्यसो त निरिशाका लागि फिल्मी वातावरण नयाँ थिएन । उनका पिता विश्व बस्नेत नेपाली चलचित्रका प्रसिद्ध कलाकार तथा निर्देशक हुन । जसका कारण निरिशाको रगतमै कलाकारिता थियो पनि भन्न सकिन्छ । अन्य क्षेत्रका व्यक्ति भन्दा चलचित्रकर्मीकै सन्तान छिटो चलचित्रकर्मीको आँखामा बस्न सफल हुन्छन् । निरिशालाई पनि केहीले नोटिस गरेका थिए । त्यसैले चलचित्र खेल्ने अफर पनि गरे । सानै देखि फिल्मी माहौलमा हुर्केकी निरिशाको मनमा पनि अभिनयको रहर थियो । उनले पनि रुचि देखाइन । तर, केही चलचित्रको स्कृप्ट चित्त बुझेन, कुनै टिम अनि कुनैमा पारिश्रमिक । तर, अहिले सबै कुरा मिल्यो । निरिशा आफ्ना लागि उपयुक्त भुमिका, राम्रो स्कृप्ट अनि राम्रो टिम पाएका कारण ‘जानी नजानी’मा आवद्ध भएको बताउँछिन ।

‘जानी नजानी’ पहिलो चलचित्र भएकोले उनका अगाडी केही चुनौति पनि छन् । एक त भारतिय सिरियलबाट पाएको सफलता जोगाउनु, अर्को आफ्नो काम मार्फत दर्शकको मन जित्नु । पहिलो चलचित्रमा नोटिस हुन सक्छु सक्दिन भन्ने चिन्ता पनि हुन्छ । तर, विश्व बस्नेतकी छोरी भनेर हेरिने नजरले अन्य डेव्यु कलाकारको तुनलामा आफु फाष्ट नोटिस भएको उनी बताउँछिन् । जसलाई उनी प्लस प्वइन्टको रुपमा लिन्छिन् । उनलाई विश्वास छ चलचित्रले दर्शकको नजरमा पनि परिचित गराउँनेछ ।

चलचित्र ‘जानी नजानी’ लभस्टोरी चलचित्र हो । चलचित्रलाई लिएर निरिशा निकै आशाबादी देखिएकी छिन । बसन्त अधिकारी निर्देशित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन । चलचित्रमा निरिशाका अलवा मनिष श्रेष्ठ, सन्नि सिंह, सुमि मोक्तान, रोशनी केसी लगायतका कलाकारको अभिनय रहेको छ ।