‘निमोनिया’ निको भएपछि निर्देशक घिमिरेले सुरु गरे ‘पहाड’को छायांकन

२०८१ फागुन ११
‘निमोनिया’ निको भएपछि निर्देशक घिमिरेले सुरु गरे ‘पहाड’को छायांकन

चलचित्र ‘पहाड’ को छायाङ्कन पुनः सुरु भएको छ । निर्देशक तुलसी घिमिरेलाई निमोनिया भएपछि मुहूर्तको भोलिपल्टबाटै चलचित्रको छायाँकन रोकिएको थियो ।

गत माघ २२ गते मुहूर्त गर्दै छायाँकन शुरु भएको चलचित्रको पुनः छायाँकन फागुन ९ गतेदेखि गोरखाबाट सुचारु भएको छ । निर्देशक घिमिरे स्वास्थ्य लाभ पछि छायाङ्कनमा फर्किएर नयाँ ऊर्जा सहित काम गरिरहेको निर्माण टिमले जनाएको छ । चलचित्रका निर्माता ओजस्वी केसी हुन् भने छायाङ्कनको जिम्मेवारी अनुभवी सिनेमाटोग्राफर प्रमोद प्रधानले सम्हालेका छन् । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रको छायाङ्कन २५ दिन गोरखा र त्यस आसपासका क्षेत्रमा तथा १५ दिन भारतमा हुने योजना छ ।

निर्देशक तथा लेखक घिमिरेका अनुसार, ‘पहाड’ ले देशबाट युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका गाउँहरू र त्यसले ल्याउने सामाजिक तथा आर्थिक प्रभावलाई चित्रण गर्नेछ । उनले भने, “मानव बसोबासविहीन बन्दै गएका उच्च पहाडहरूको कथा समेटिएको यो चलचित्रले दर्शकलाई गहिरो सामाजिक सन्देश दिनेछ । हामीले चलचित्रको विषयवस्तु अनुरूप विभिन्न पुस्ताका कलाकारहरूलाई समेटेका छौँ ।”

‘पहाड’बाट निर्देशक घिमिरेले आफ्नी कान्छी छोरी पञ्चमीलाई अभिनेत्रीको रुपमा डेब्यु गराएका छन् । यसमा पञ्चमीको जोडी अभिनेता अरुण क्षेत्रीसँग बाँधिएको छ । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, रेनुनाथ योगी, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतले पनि अभिनय गरिरहेका छन् । यसमा विपिनको जोडी बनेर रेनुनाथ देखिँदैछिन् ।

Kumari Bank