Missing: Kt Harayeko Suchana
Juna
Rangi

गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे

२०८१ माघ २२
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे

वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘पहाड’को छायाङ्कन गोरखाबाट सुरु भएको छ । गोरखा दरबारमा पूजाआजा गरी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता अरुण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले मुहूर्त सर्ट दिए ।

चलचित्रको कथावस्तु युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यामा केन्द्रित रहेको बताइएको छ । निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकमाझ पुर्‍याउने प्रयास गर्ने बताए ।

घिमिरेले भने, ‘मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । विषयअनुसार हामीले कलाकार चयन गरेका छौँ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।’ उनले राम्रो टिम पाएको र सेटमा फर्किँदा छुट्टै उत्साह महसुस गरेको बताए ।

घिमिरेले पछिल्लो चलचित्र २०७३ सालमा ‘दर्पण छाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिएका थिए । तुलसी घिमिरेलाई नेपाली चलचित्रको ‘गौरवपूर्ण नाम’ मानिन्छ । घिमिरेको चलचित्र ‘दर्पण छाया’ नेपाली चलचित्र उद्योगमा उच्च आर्जन गर्ने पहिलो चलचित्र मानिन्छ । सन् १९८१ मा ‘बाँसुरी’ चलचित्रबाट निर्देशन सुरु गरेका घिमिरेले कुसुमे रुमाल, अन्याय, लाहुरे, चिनो, कोसेली, दक्षिणा, बलिदान, दर्पण छाया जस्ता सफल चलचित्रहरू निर्देशन गरेका छन् ।

ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरिरहेका छन् । भारतमा चलचित्र, वेब सिरिज र टेलीफिल्मको छायाङ्कन गरिसकेका छायाकार प्रधान निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका छन् ।

उनी तीस वर्षपछि नेपाली चलचित्र छायाङ्कनका लागि नेपालमा आएका हुन् । छायाङ्कन गोरखा आसपासमा २५ दिन र भारतमा १५ दिन हुनेछ । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापालगायतका कलाकारको पनि प्रमुख अभिनय रहनेछ । यसमा रञ्जित गजमेर सङ्गीत निर्देशक, भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् ।

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको चलचित्र नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ । यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन् ।

Kumari Bank