‘पारस’ बाट निर्देशक बन्दै माधव वाग्ले, निश्चल र सन्दिपमा को बन्ला पारस

२०७६ भाद्र २९
‘पारस’ बाट निर्देशक बन्दै माधव वाग्ले, निश्चल र सन्दिपमा को बन्ला पारस

आठ चलचित्रको निर्माणपछि निर्माता माधव वाग्लेले निर्देशनमा डेव्यु गर्ने भएका छन् । वाग्लेको डेव्यु निर्देशन रहने चलचित्रको नाम ‘द अनलक्की म्यान – पारस’ राखिएको छ ।

वाग्लेका अनुसार चलचित्रको कथा – एक यस्तो पुरुष जो कुनै समय संसारको सबैभन्दा लक्की हुने बाटोमा अघि बढेको भएपनि उ कसरी अनलक्की हुन पुग्छ भन्ने विषयको वरिपरि घुम्नेछ । प्रदीप भारद्वाजले चलचित्रको स्कृप्ट लेखिरहेका छन् । कार्तिक वा मंसिरबाट छायाँकन थालिने चलचित्रका लागि वाग्लेले कलाकारका रुपमा निश्चल बस्नेत, सन्दिप क्षेत्री र समिक्षा पोखरेललाई अनुबन्धित गराएका छन् । समिक्षाले यसै चलचित्रबाट डेव्यु गर्न लागेकी हुन् ।

पूर्वयुवराज पारस शाहलाई अनलक्की पुरुषका रुपमा धेरैले बुझ्ने गरेका छन् । चलचित्रको नामले पनि त्यतै संकेत गरेको त होइन भन्ने प्रश्नमा निर्देशक वाग्लेले – चलचित्रको कथा र पूर्वयुवराज पारसको विचमा कुनै सम्बन्ध नभएको जनाएका छन् ।

चलचित्रलाई नयाँ बर्ष ०७७ को उपलक्ष्यमा चैत्र २८ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

माधव वाग्लेले सन् २०१० को चलचित्र ‘फष्ट लभ’ बाट निर्माताका रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । ‘फष्ट लभ’ देखि ‘चंगा चेट’ सम्मको दौरान उनले आठ चलचित्रको निर्माण गरेका छन् । वाग्लेले निर्माण गरेका प्राय: सबै चलचित्र बक्स अफिसमा सफल भएका छन् । वाग्लेले चलचित्र निर्माणसँगै ‘फष्ट लभ’मा कथा लेखन र ‘जात्रा’मा अभिनय समेत गरेका छन् ।

नेपाली चलचित्र चल्दै नचलेर निर्माणलाई नियन्त्रण गर्न चलचित्र क्षेत्रमा संकटकाल घोषणाको तयारी भइरहदा वाग्लेले निर्माण गरेको दोस्रो चलचित्र ‘लुट’ प्रदर्शनमा आएको थियो । यो चलचित्रले बक्स अफिसमा सफलता मात्र पाएन चलचित्र निर्माणको शैली नै परिवर्तन गरिदियो भन्दा पनि फरक पर्दैन । वाग्लेले निर्माण गरेका चलचित्रमा ‘फष्ट लभ’ र ‘लुट’ धेरैले धेरैपटक सम्झने चलचित्रहरु हुन् ।

हक्की स्वभावका वाग्ले चलचित्र बुझेका थोरै चलचित्रकर्मीमध्येका एक हुन् ।