Mansara

भ्यालेण्टाइन डे कै दिन भएको थियो प्रदिपको ब्रेकअप

यस्ता छन् प्रदिपका असफल प्रेमका किस्साहरु !

२०७५ भाद्र २०

चल्तिका स्टार हुन प्रदिप खड्का । चकलेटी अनुहारका धनी प्रदिप प्रेमगीत, प्रेमगीत २ र लिलिबिलीमा लभरव्यायकै रुपमा देखिए । तर प्रदर्शनको क्रममा रहेको चलचित्र रोजमा भने उनी क्रिमिनल लुक्समा देखिएका छन् । अघिल्ला चलचित्रमा प्रेमकासँग रोमान्टिक भुमिकामा देखिएका प्रदिपले रोजमा भने प्रेमिकाको हत्या गरेका छन् ।लभस्टोरी चलचित्र प्रेमगीतबाट चर्चामा आएका यि स्टारको फ्यानफ्लोइङ् लोभलाग्दो छ । प्रदिप भनेपछि मरिहत्ते गर्ने युवतीहरुको पनि कमि छैन । तर कुनै समय यस्तो पनि थियो जतिबेला प्रदिपले लगातार युवतीबाट धोका खाएका थिए । प्रदिपले चलचित्र रोजको बारेमा जानकारी दिन आयोजित एक कार्यक्रममा आफ्नो कलेज लाइफमा असफल प्रेमको बारेमा समेत खुलेर बताएका छन् ।

कलेज जीवनमा प्रेम सम्बन्ध भए पनि हालसम्म परिपक्व प्रेमको अनुभव नभएको उनको दाबी छ । उनको पहिलो प्रेम प्रसादी एकेडेमीमा प्लस टु पढ्दा नै शुरु भएको थियो । उक्त कलेजमा उनको एक जना गर्लफ्रेन्ड थिइन् । दुबैले एकअर्कालाई माया गर्थे । सम्बन्ध राम्रैसँग अगाडी बढीरहेको थियो । तर प्रेम गर्नेहरुको दिन भनिने भ्यालेन्टाइनको दिननै उनले प्रेम बियोग खेप्नु पर्यो । प्रेमिकालाई सरप्राइज दिन उनले गिफ्ट किने अनि कलेज पुगे । असफल प्रेमको कहानी सुनाउँदै उनले भने – ‘गेटमा ब्याग चेक हुने भएकाले बाहिर पसलमै राख्न दिएँ । कलेज छुटेपछि गिफ्ट दिन भनेर बाहिर निस्किँदा त उनी अर्कै केटाको बाइकमा गइरहेको देखें ।’ उनले अगाडी थपे – ‘गर्लफ्रेन्डले मलाई ठूलोबाको छोराले बाइकमा पुर्याइदिएको भनेर ढाँटिन्, तर मैले थाहा पाएँ उनको अर्कै केटा रहेछ । किनभने उनी बाइकमा कहाँ गएकी थिइन त्यो देख्ने मान्छे पनि मैले भेटें । त्यसबेला मलाई गर्लफ्रेन्डले झुक्याइन्, धोका दिइन् ।’ यसरी प्रेमिका अर्कै केटासँग हिडेपछि प्रदिपलाई लाग्यो यदी मसँग पनि बाइक भइदिएको भए उनले मलाई छोडेर जाने थिइनन् । उनले अगाडी थपे – ‘त्यो बेला मसँग बाइक थिएन, आवश्यक पनि थिएन । तर त्यो घटनापछि घरमा झगडा गरेर बाइक किन्न लगाएँ ।’ प्रदिप प्रति ति युवतीको प्रेम झुटो थियो तर प्रदिपको साँचो । त्यसैले ले ती युवतीलाई दिन किनेको गिफ्टको बट्टा अहिले पनि उनले सुरक्षित राखेका छन् रे ।

रोजका २ नायिका परमिता राज्यलक्ष्मी शाह र मिरुना मगरका बीचमा बसेर आफ्नो प्रेमको दुःखद कथा सुनाउँदै गर्दा पनि प्रदिप भने रोमाञ्चित देखिन्थे ।

उनले आफ्नो असफल प्रेमको अर्को पाटो पनि खोले । पहिलो प्रेम असफल भएपछि उनी दोस्रो युवतीसँग प्रेममा परे । तर उनको दोस्रो प्रेम पनि भ्यालेण्टाइन डे कै दिन टुङ्गियो । दोस्रो प्रेमकहानीमा भने रोज नै ब्रेकअपको कारण बन्यो । पहिलो प्रेममा धोका खाएको एक वर्षपछि दोस्रो प्रेमिकालाई भ्यालेन्टाईनमा रोज दिन नपाउँदा त्यहाँ पनि उनले धोका खानुपर्यो । त्यो दिन सम्झदै भने – ‘अर्काेवर्ष भ्यालेन्टाईन डेमा अर्की प्रेमिकालाई रोज दिन जाँदा मापसे गरेका कारण लफडामा परियो ।’ मापसेको लफडाले उनी समयमा नै प्रेमिका भेट्न जान सकेनन् । यसरी भ्यालेण्टाइन डे को दिन रोज दिएर प्रेमिकासँग सेलिब्रेट गर्न नपाउँदा उनले पनि प्रदिपलाई छोडेर गइन ।

कुनै समय मोटर साईकल नभएर धोका खाएको महशुस गरेका यि अभिनेता आजकाल रातो कारमा सयर गर्छन् । अनी आजकाल कयौं युवतीको प्रेम प्रस्ताव पनि आउने गरेको छ । एक त चल्तिका स्टार त्यसमाथी कार नै भएपछि बाइक नहुनुको पिडा पनि भोग्नु परेको छैन । भने पछि अहिले त गलफ्रेण्ड धेरै नै होलान हैन ? कसैले फ्याट्टै सोधे प्रदिपलाई । उनले पनि जिस्कदै जवाफ दिए अचेल त कत्ति हो कत्ति ।

प्रदिपले यसो भन्दै गर्दा उपस्थित पत्रकारमाझ एकछिन हाँसो गुञ्जियो । हाँसो सकिन नपाउँदै प्रदिपले आफुलाई सम्हाल्दै कलेज जीवनमा धेरैपटक प्रेममा धोका खाएकै कारण आजकाल युवतीहरुको प्रेमप्रति आसक्त हुन छाडेको बताए । अहिले आफु जिम्मेवार कलाकार भएका कारण पनि प्रेममा आसक्ति भएर युवतीहरुको पछि लाग्नु नहुने उनको भनाई छ । त्यसैले प्रेम प्रस्ताव राख्दै रोज दिने कैयौं युवतीहरुको रोज ग्रहण गर्दै धन्यबाद दिने गरेको तर यही कारण प्रेम प्रस्तावलाई स्विकार नगरेको उनको दाबी छ । यसरी प्रेम गर्नेहरु सबै आफ्ना प्रसंसक (फ्यान) रहने गरेको उनले बताए । यस्ता प्रसंसकहरुले प्रदीपलाई प्रायः रातो गुलाब दिने गरेका छन् । यस्तो गुवाबलाई उनले प्रसंसकहरुको आफुप्रतिको सम्मानको रुपमा लिने गरेको बताए । उनले भने – ‘उहाँहरुले मलाई प्रेमीको रुपमा भन्दा पनि एउटा अभिनेताको रुपमा माया गरेर रोज दिने गर्नु भएकाले उहाँहरुको मायालाई मैलै आदार र सम्मान गर्दै आएको छु ।’

Mahajatra