Mansara

मल्टिप्लेक्समा ‘प्रसाद’ लाई ४२ शो

२०७५ मंसिर २०
मल्टिप्लेक्समा  ‘प्रसाद’ लाई ४२ शो

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’ को मल्टिप्लेक्समा बुकिङ खुलेको छ । गीतसंगीतको सफलता, चलचित्र प्रतिको प्रतिक्षा अनि प्रिमियर शोमा चलचित्रकर्मी र सञ्चारकर्मीबाट प्राप्त प्रतिक्रियाका आधारमा भन्ने हो भने यसको ओपनिङ व्यापार आक्रामक हुने देखिएको छ ।

मल्टिप्लेक्समा प्राप्त शोले पनि चलचित्रको व्यापार राम्रो हुने अनुमान गर्न सकिन्छ । क्युएफएक्स च्यानल अन्तर्गत राजधानी र मोफसलका पर्दाहरुमा प्रसादको शो बाडफाड भइसकेको छ । क्युएफएक्सले राजधानीमा पर्दामा प्रसादलाई १२ शो दिएको छ भने मोफसल तर्फ ८ शो पाएको छ । क्युएफएक्स अन्तर्गत सिभिल मलमा ४ शो, लबिम मलमा ३ शो, छायाँ सेन्टरमा २ शो, कुमारीमा २ शो र जयनेपालमा १ दिएको छ यस्तै मोफसलमा बिर्तामोडमा रहेको वानस्टपमा ३ शो, पोखरामा रहेको सिनेप्लेक्समा २ शो, नारायणघाटमा रहेको जालमामा २ शो र नेपालगञ्जमा रहेको बागेश्वरी सिनेमामा १ शो दिइएको छ ।

यता राजधानीमा रहेको मल्टिप्लेक्समध्ये बिग मुभिजले ४ शो, क्युज सिनेमाजमा २ शो, बिएसआर मुभिजमा ३ शो, सिने डी सेफमा ३ शो र एफक्युबमा ४ शो प्रसादले पाएको छ । यस्तै गोपिकृष्ण मुभिजमा पनि प्रसादले दैनिक ४ शो पाएको छ (गोपिकृष्ण मुभिजका गोपी र कृष्णहललाई मल्टिप्लेक्सको मान्यता दिइएको छ) । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमाले २ शोको बुकिङ्ग खोलिसकेको छ ।

सिंगल थियटर तर्फ भने चलचित्रले धेरै हलहरुमा आफ्नो पकड जमाउने वितरकहरुले जनाएका छन् । चलचित्रलाई मोफसलमा उज्ज्वल पौडेल र मनोज राठी तथा राजधानीमा गोविन्द शाहीले वितरण गर्दैछन् । शुशिल पौडेलको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन । शुभाष थापाको निर्माण रहेको चलचित्रमा नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेतको मुख्य भुमिका रहेको छ ।

नि:सन्तान दम्पतीको कथाव्यथा समेटिएको चलचित्र ‘विवाहपछिको प्रेमसम्बन्ध र त्यसपछि सन्तान नहुँदा सम्बन्धमा आइपर्ने उतारचढाव फिल्ममा समेटिएको’ निर्देशक राउतले बताएका छन् । चलचित्र शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुँदैछ ।

Mahajatra