Mansara

शुशिलले हानेको बन्चरो लागेर घाइते भएको छु – प्रशान्त ताम्राकार, कलाकार

रणवीरमा अभिनय भन्दा नेचुरल फाइट बढी

२०७५ माघ १५
शुशिलले हानेको बन्चरो लागेर घाइते भएको छु – प्रशान्त ताम्राकार, कलाकार

माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र रणवीरबाट प्रशान्त ताम्राकार निकै आशाबादी देखिएका छन् । समग्रमा चलचित्रको कथा निकै अव्वल रहेको बताउने प्रशान्तले आफ्नो भुमिका पनि अघिल्ला चलचित्रको तुलनामा शशक्त रहेको जनाएका छन् । अभिनयमा समेत यसपटक थप निखारता भेटिने बताउने प्रशान्त चलचित्रको क्रममा घाइते समेत भएका थिए । उनै प्रशान्तसँग चलचित्र रणवीरसँग नजिक रहेर लेन्सनेपालका लागि बिष्णु सुबेदीले गरेको कुराकानीको अंश :

चलचित्र ऐश्वर्या पछि यहाँलाई ह्याण्डसम भिलेन भन्न थालिएको छ । यो ह्याण्डसम भिलेन भनेको के रहेछ ?
मैले पनि बुझ्न सकिरहेको छैन । यो ट्याग कहाँबाट आयो, कसले निकाल्यो, कसरी आयो म पनि अचम्ममा छु । अब त त्यो ट्याग नै लागि सक्यो । मलाई चाँही दर्शक अनि तपाई मिडियाकर्मीहरुले माया दिएको जस्तो लाग्छ । चलचित्रमा त नेगेटिभ क्यारेक्टर हो तर, पोजेटिभ रुपमा कसरी स्वीकार्ने भन्दा ह्याण्डसम भनेर सम्बोधन गरेको हो की ।

तपाई फेसन दुनियाँमा सफल भएको मान्छे, चलचित्रमा आएपछि फेसन वल्र्ड वा भनौं मोड्लिङबाट सिकेको कुन कुरा बढी उपयोगी भएको छ ?
मैले थुप्रै सफल फेसन शो र इभेण्टहरु गरेको छु । हामीले फेसनको दनियाँमा काम गर्दा थोरै दर्शकमाझ गछौं । अझ म त पर्दा पछि बसेर काम गर्थे । कोरियोग्राफी गर्थे, इभेण्ट डिरेक्सन गर्थे । मोड्लिङको दुनयाँमा सफल भएपनि चलचित्रमा स्थापित हुने क्रममै छु । फेसन दुनियाँका लागि पर्दा पछि बसेर काम गर्ने म चलचित्रमा पर्फमरको रुपमा काम गरिरहेको छु । जसले गर्दा मलाई निर्देशकको सोच बुझ्न सजिलो भएको छ । निर्देशकले म बाट के खोजी रहेको छ भन्ने कुरा बुझ्न सजिलो भएको छ । यस्तै चलचित्रको स्टाइलिङ पार्टमा आफ्ना लागि आफै काम गर्छु । आफ्नो ड्रेसअप देखि गेटअप सम्म क्यारेक्टर अनुसार फेसेनेवल स्टाइल गर्छु । मोड्लिङका कारण मार्केटको डिमाण्ड र टेष्ट बुझ्न सजिलो भएको छ । दर्शकको टेष्ट त फरक फरक हुन्छ तर क्यारेक्टर अनुसार आफु कस्तो स्टाइलमा प्रस्तुत हुने त्यो बुझ्न सजिलो भएको छ । यस्ता धेरै कुराहरु छन् जसले चलचित्रमा काम गर्न मलाई सहज बनाएको छ ।

रणविर तर्फ लागौं, क्लाइमेक्सको छायाँकनका क्रममा यहाँ घाइते हुनु भएको थियो, त्यो घटना के थियो ?
क्लाइमेक्सको सिन गर्दा शुशिल सिटौला र मेरो द्वन्द्व थियो । जहाँ बन्चरोको सहायतामा हामी युद्ध गरिरहेका थियौं । खाद्य संस्थानमा हाम्रो छायाँकन भइरहेको थियो । द्वन्द्वनिर्देशक चन्द्र पन्तले कम्प्रोमाइण्ड हुन्न भन्नु भएको थियो । क्लाइमेक्सको छायाँकन ४–५ दिन देखि जारी थियो । मेरो शरिर त जहाँ छोयो त्यही दुख्ने भइसकेको थियो । हामीले कतिपय रियल पञ्च नै दिएका थियौं । कयौं पटक एक अर्काको पञ्चले हामी ढलेका पनि छौं । अभिनय भन्दा बढी नेचुरल फाइट भयो हाम्रो । यस्तै फाइटको सिनमा टेक्निक अनुसार कतिपय पञ्च मिस गर्नु पर्ने हुन्छ तर, पञ्च मिस भएन र शुशिलले प्रहार गरेको बन्चरो मेरो कोखामा लाग्न पुग्यो । कपडा काटिएछ । कोखामा धार लागेर रगत आएको रहेछ । सिन कन्टिन्युन गरियो । पछि मात्र थाहा भयो म त घाइते भएको रहेछु । त्यस्तै एकपटक मेरो पञ्च शुशिललाई नमज्जाले लाग्यो । अर्को पटक शुशिलले ट्रकको बिचमा छल्दै जाने मैले हान्दै जाने दृष्यमा मेरो पञ्च ट्रकमै लाग्यो । त्यो सिनगर्दा पनि मेरो हात फुटेर रगत बगिरहेको थियो । दृष्यलाई नेचुरल बनाउने क्रममा यस्ता केही घटनाहरु छन् जहाँ हामी घाइते पनि भएका छौं । जसको कारण त्यो दृष्य निकै सुन्दर देखिएको छ ।

चलचित्रका अर्का पात्र शुशिल सिटौला एक्सन नायक होइनन् । न त उनको र तपाईको बडी नै मिल्छ । यस्ता धेरै कुराहरुले दुईजनाको फाइट नेचुरल देखिएला र भन्ने आशंका पनि देखिन्छ नी ?
मैले युट्युबमा पनि यस्ता कमेण्टहरु देखे । चलचित्रमा शुशिलको क्यारेक्टर लभर व्याय हो । एउटा साधारण युवा हो । सिम्पल लाइफ स्टाइलमा बाँचिरहेको युवा हो । मेरो भुमिका स्थापित विजनेशम्यानको छ । उनीहरुको पावर र उमेरमा पनि फरक छ । त्यसकारण त्यस्तो आशंका हुनु स्वभाविक छ । तर, चलचित्रको कथा जसरी बगेको छ, उसको क्यारेक्टर जसरी अघि बढ्छ त्यसमा हेर्दा शुशिल कुनै पनि कोणबाट कमजोर देखिदैन । क्लाइमेक्स सम्म आइपुग्दा उसको कयारेक्टर ले लिने मोडका कारण दर्शक कन्भिन्स हुनुहुन्छ । हामी दुई बिचको द्वन्द्व स्वभाविक लाग्छ ।

ऐश्वर्याबाट लुक्सको चर्चा भएपनि अभिनयमा प्रसंसा पाउन सक्नुभएन । रणविरबाट अभिनयमा पनि प्रसंसा मिल्ला ?
मैले यसअघिको काम पनि प्रफेक्ट गरे भन्दिन । मैले जतिपनि काम गरे सिक्दै अगाडी बढेको छु । मैले जति काम गरे त्यो सबै निर्देशकले गराउनु भयो । मैले एउटै दृष्यलाई पटक पटक रिटेक गर्न असहज मानिन । हरेक पटक सिक्दै आए । जसका कारण पहिलेका चलचित्र भन्दा यो चलचित्रमा केही न केही राम्रो काम अवश्य देख्नुहुन्छ । मेरो काम बाट निर्देशक सन्तुष्ट हुनुहुन्छ । तर, मैले प्रफेक्ट काम गरेको छु भन्दिन । क्यारेक्टर पनि आफैमा शशक्त छ । अघिल्ला चलचित्रमा भन्दा मेरो भुमिका फरक छ । यसकारण पनि आफ्नो काम देखाउन उत्साहित पनि छु । दर्शकले पनि मेरो कामलाई मन पराउनु हुन्छ भन्ने विश्वास छ ।

चलचित्रबाट के अपेक्षा गर्नुभएको छ ?
यो चलचित्रबाट मैले एकदम ठुलो एक्सपेक्ट गरेको छु । म बाट पनि दर्शकहरुले केही न केही एक्सपेक्ट गर्नु भएको छ । उहाँहरुको लागि राम्रो काम गर्ने प्रयास गरेको छु, रणविरमा । विगतका मेरा काम भन्दा डिभेरेन्ट लेभवको काम गराउनु भएको छ निर्देशकले । यसकारण पनि अपेक्षा बढी छ ।