Khusma
Devi
Rawayan

‘ईश्वर’ मा यसअघिका भन्दा फरक भूमिकामा काम गरेको पृथ्वीराजको भनाई

२०८१ श्रावन १
‘ईश्वर’ मा यसअघिका भन्दा फरक भूमिकामा काम गरेको पृथ्वीराजको भनाई

चलचित्र ‘डोली’ रिलिजको झण्डै पाँच वर्षपछि नायक पृथ्वीराज प्रसाईं ‘ईश्वर’मार्फत दर्शकमाझ आउँदैछन् । साउन ११ गतेदेखि प्रदर्शन हुने राजु गिरी निर्देशित चलचित्रमा उनी ‘सागर’ पात्रको भूमिकामा छन् ।

‘सागर एक लभर ब्वाई हुन्छ । उसको बुवा नेगेटिभ क्यारेक्टरको भएकाले सुरुमा सागर पनि नेगेटिभ नै हुन्छ । तर पछि गएर ऊ पोजेटिभ क्यारेक्टरमा देखिन्छ’, पृथ्वीराज भन्छन्, ‘ईश्वर पारिवारिक कथाको चलचित्र हो । म सहरमा बसेर गाउँ फर्किएको युवकको भूमिकामा छु । गाउँमै रहँदा नायिका अनु शाहले निभाएको पात्रसँग मेरो प्रेम हुन्छ ।’

‘ईश्वर’मा काम गर्दा आफूलाई ‘ठीकै’ अनुभव भएको पृथ्वीराजको बुझाई छ । ‘यसअघिका चलचित्रमा जति मेहनत गर्नु परेको थियो, यो चलचित्रमा त्यति धेरै मेहनत गर्नु परेन’, उनी भन्छन् ।

अनुसँग पृथ्वीराजले केही भिडियोमा सहकार्य गरेका छन् । तर चलचित्रमा चाहिँ ‘ईश्वर’ पहिलो हो । ‘भिडियोमा अनुसँग सहकार्य गरेकाले पनि यो चलचित्रमा काम गर्दा अप्ठ्यारो भएन । हामीले सहजै आफ्नो काम पुरा गर्यौं’, उनी सुनाउँछन् ।

पृथ्वीराजले ‘ईश्वर’मा निर्वाह गरेको चरित्र यसअघि उनले अभिनय गरेका चलचित्रमा निभाएका थिएनन् । ‘यो क्यारेक्टर यसभन्दा अघि मैले चलचित्रमा गरेको थिइनँ ।’, पृथ्वीराज भन्छन् ।

पृथ्वीराजका अनुसार चलचित्र ‘डोली’ पछि उनलाई कुनै चलचित्रबाट पनि अफर आएन । ‘म काम माग्न कतै पनि गइनँ । म आफ्नै व्यावसायिक काममा व्यस्त थिएँ । घर, व्यवसाय र जिममै समय बिताएँ । तर अफर आयो भने चाहिँ चलचित्रमा काम गर्छु भन्ने सोच थियो’, उनी सुनिए ।

पृथ्वीराजलाई कमेडी जनराको चलचित्रमा काम गर्ने इच्छा रहेछ । ‘किस्मत २ मा एक्सन, मंगलममा फ्यामिली ड्रामा र वीरंगनामा एक्सन गरियो । डोलीमा एउटा कन्टेन्टमा काम गरियो । अब कमेडी जनरामा काम गर्ने मन छ’, उनी भन्छन् ।