Mansara

‘पोई पर्यो काले’बाट पाश्र्वगायनमा फर्के प्रेम परियार

२०७६ असोज ७
‘पोई पर्यो काले’बाट पाश्र्वगायनमा फर्के प्रेम परियार

३ वर्ष पछि प्रेम परियार पाश्र्व गायनमा फर्केका छन् । सन् २०१६ को चलचित्र ‘नाई नभन्नु ल ४’ पछि पाश्र्वगायन बाट टाडै रहेका प्रेमले आज चलचित्र ‘पोई पर्यो काले’को एक गीतमा स्वर दिएका छन् ।

सन् २०१४ को चलचित्र ‘नाई नभन्नु ल २’मा समावेश ‘मर्ने कसैलाई रहर हुँदैन’ बोलको गीत गाएपछि प्रेम परियार चर्चामा आएका थिए । तत् पश्चात सन् २०१५ को ‘लाटी’ र सन् २०१६ को ‘नाई नभन्नु ल ४’ मा उनले पाश्र्व गायन गरेका थिए । 

आज रेकडिङ गरिएको ‘पोई पर्यो काले’को ‘मायाले मलाई’ बोलको गीत प्रेमको स्वर रहेको छ । यो गीतमा रघु परियारको शब्द र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ । गीत रेकडिङ पछि प्रेमले पढाइ र स्वर बदलिएका कारण आफूले केही समय चलचित्रको गीतमा आवाज नदिएको बताए । प्रेमले भने–‘यो गीतको शब्द सुन्ने वित्तिकै मन पर्यो । आशा छ, मलाई प्रतिक्षा गर्नुभएका दर्शकहरुले यो गीत मन पराउनुहुनेछ ।’ गीत गाउन थालेपछि आफ्नो जीवनशैली पनि बदलिएको भन्दै उनले अब फेरि दर्शकका लागि कर्णप्रिय गीत सार्वजनिक गर्ने बताए ।

गीतमा चलचित्रका मुख्य दुई कलाकार सौगात मल्ल र पूजा शर्मालाई फिचरिङ गरिएको छ । शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् । चलचित्रमा आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । कमेडी जनरामा निर्माण भएको यो चलचित्रले श्रीमान् ‘काले’ परेपछि एक यूवतीको जीवनमा आउने उतारचढावको कथालाई प्रस्तुत गर्नेछ । चलचित्रका निर्माता दीपक मनाङे (राजीव गुरुङ), सरोज नेपाली, अमलादेबी राई र देव तामाङ हुन् ।

Mahajatra