Mansara

सिधा बोलेनन्, सिधा कुरा गर्ने रबी लामिछाने

२०७५ असोज २०

टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता हुन रवी लामिछाने । जुन कुनै विषयमा जो कोहीसँग सिधा कुरा गरेर चर्चामा आएका रवीले यसैसाता चलचित्र अनुराग हेरेका छन् ।

अर्का चर्चित पत्रकार ऋषी धमालाको निर्माण रहेको चलचित्र अनुराग हेर्न हलमा पुगेका रवीले यसपटक भने सिधा कुरा गरेनन् । चलचित्र हेर्नु अघि रवीले आफ्नै शैलीमा सिधा प्रतिक्रिया दिने बताएका थिए । तर, चलचित्र हेरेपछि उनी सिधा बोलेनन् ।

अनुराग हेर्न हलमा पुगेका रवी चलचित्र शुरु हुनुअघि नै पत्रकारहरुबाट घेरिएका थिए । रबी धमला, उनकी पत्नि नायिका एलिजा गौतम, निर्देशक सत्यराज चौलागाई लगायतसँगै हलमा देखिए । शुरुमा ऋषी र रबीले एकसाथ तस्विर खिचाए । अर्को तस्विरमा गौतम पनि अटाइन । त्यसपछि उनले धमलासँग हात मिलाउँदै शुभकामना दिए । रवीले दाहिने हात दिए ऋषीले दुवै हात लगेर मिलाए । ऋषीले चलचित्र हेर्न आइदिएको भन्दै धन्यवाद दिए । उनले आफ्नै शैलीमा रबीको तारिफ गरे । रवीले नयाँ क्षेत्रमा ऋषीलाई शुभकामना दिए । उनी नायिका गौतम तर्फ फर्किए अनि उनलाई पनि शुभकामना दिए । ऋषी मुस्कुराए ।
ऋषीले केही भन्दै थिए रबीले आफ्नो शर्त अघि सारिहाले । उनले आफ्नै शैलीमा चलचित्र हेरिसकेपछि कि त प्रतिक्रिया नै नदिने, प्रतिक्रिया दिनु पर्ने भए जे लाग्यो त्यही भन्ने भन्दै दुईवटा शर्त अघि सारे । धमलाले उनको शर्त खुशी हुँदै स्वीकार गरे । धमलाले हामीले त जे लाग्यो त्यही भन्ने हो भन्दै रबी तर्फ फर्केर दुई हात जोडे । उनले अक्सर मान्छेलाई सम्मान साथ कुरा गर्दा यसै गर्छन ।

रबी यसै भित्र छिर्न कहाँ पाउथे र, उनको र उनीसँग तस्विर खिच्नेहरु एकाएक निस्कन थाले । केही समय उनी धमला र अनुराग टिमसँगै उभिए कसैले फोटो खिचे, कसैले सेल्फि लिए । अब भने रबी चलचित्र हेर्न हलमा प्रवेश गरे, धमलासँगै ।

रबी चलचित्र हेर्न हलमा प्रवेश गरे । बाहिर भने उनको प्रतिक्रिया लिन जम्मा भएका सञ्चारकर्मीहरुको उपस्थिति बाक्लिदै थियो ।


रबीले चलचित्र हेरेर निस्के । मिडियाको बाक्लो उपस्थिति देखेर बाफ् रे बाफ् कत्ति धेरै भनिहाले । रबी धमलासँगै थिए, सञ्चारकर्मीहरुले उनलाई प्रश्न गर्न थालिहाले । चलचित्र कस्तो लाग्यो ? उनले सिधा जवाफ दिनु अघि भुमिका बाँधे । उनले भने – ‘ऋषी जीले जसरी मेहनत गर्नुभएको छ नी । सपोर्ट भन्ने कुरा कस्तो हुनुपर्छ भन्ने कुराको एउटा उदाहरण ऋषीजीले दिनु भयो । त्यो सबैभन्दा महत्वपूर्ण कुरा हो, म आउनुमा । चलचित्र भनेको कस्तो हुन्छ भने सबैको आ–आफ्नो टेस्ट हुन्छ । मलाई जुन खालको मुभि मन पर्छ त्यो खालको मुभि अर्कोलाई मन पर्छ भन्ने छैन । समग्रमा दर्शकको टेष्टलाई हेरेर कसैले पनि बेष्ट मुभि बनाउछु भनेर बनाउन सक्ने कुरा होइन । मलाई ठिक ठिकै लाग्यो । धेरै राम्रो हुन सक्थ्यो स्टोरीको कुरालाई लिएर ।’

रबीलाई प्रतिप्रश्न आयो – राम्रो भन्न किन सक्नु भएन ? उनले भने – ‘मेरो एक्सपेक्टेसन अर्कै छ नी । मेरो च्वाइस अर्कै छ । मेरो च्वाइस्, मेरो सोच अनुसार मलाई जस्तो खालको सिनेमा व्यक्तिगत रुपमा मन पर्छ । एकदमै हिट भएको मुभि पनि मलाई मन नपर्न सक्छ नी त । त्यसअर्थमा अनुरागलाई पनि मैले एकदमै राम्रो सिनेमा भन्न सक्दीन ।’

फेरी अर्को प्रश्न आयो – अनुरागले यहाँको मन छुन सकेन ? उनले स्पष्ट पारे – ‘त्यसरी पनि नभनौं । तर यसलाई हेर्ने विभिन्न एंगलहरु हुन्छ, एउटै एंगलबाट एउटै कलरबाट हेर्न मिल्दैन । मैले भनिहाले । यो अझै बेटर हुन सक्थ्यो । स्टोरीको पार्टमा, एक्टिङ्गको पार्टमा अझै धेरै इम्प्रुभ गर्न सकेको भए राम्रो हुन्थ्यो । यो शुरुवातको समय हो, यो एलिजा जीको रहर हो, सायद । यो रहर नै हो मेरो विचारमा । अब रहर भन्दा अलिक माथी गएर उहाँले अर्को पटक चलचित्र बनाउँदा उहाँलाई जज गर्न मिल्छ । फष्ट टाइम मै मैले उहाँलाई जज गर्नु भनेको नयाँ केही गर्छु भनेर आएको मान्छेलाई त्यति न्याय पूर्ण हुँदैन ।’ उनले अघि थपे – ‘मलाई राम्रो नराम्रो लाग्नु अर्कौ हुरा भयो । उहाँहरुलाई यसपटकलाई स्वागत मात्र गरौं । अर्को पटक जज गरौला ।’

त्यसो त आफ्नो कार्यक्रममा सिधा कुरा गर्ने रबीबाट सिधै प्रतिक्रियाको अपेक्षा थियो । तर उनी डिप्लोम्याटिक भए । उनले अनुरागलाई राम्रो पनि भन्न सकेनन् नराम्रो पनि भनेनन् । बरु आफुलाई त्यत्ति धेरै मन नपरेको मात्र बताए ।

Mahajatra