Mansara

भष्ट्राचार रोकिए सबै नेपालीलाई नाफा हुन्छ – राजाराम पौडेल

२०७५ पौष २८
भष्ट्राचार रोकिए सबै नेपालीलाई नाफा हुन्छ – राजाराम पौडेल

‘गनेर राखेको भए २०० वटा भन्दा बढी चलचित्र खेलिसके होला । कुनै चलचित्र रहरले खेले, कुनै बाध्यताले, कुनै चलचित्र पैसाको लागि खेले, कुनै आत्मसन्तुष्टिको लागि खेले । तर, यो चलचित्र खेलेपछि मैले मलाई जीन्दगीभरीमा आत्मैदेखि सन्तुष्टि र गर्व महशुस भइरहेको छ ।’ यो भनाई कलाकार राजाराम पौडेलको हो । आफु अभिनित चलचित्र सय कडा दशको बारेमा बोल्ने क्रममा पौडेलल माथीे उल्लेखित भनाई व्यक्त गरेका हुन ।

पौडेल कलाकार मात्र नभएर यो चलचित्रका कार्यकारी निर्माता पनि हुन । रामशरण पाठकको कथा मन परेर नै चलचित्र निर्माण पनि आफु संलग्न रहेको उनको भनाई छ । हुन त चलचित्रको व्यापार पूर्वानुमान गर्न सकिदैन । सायद यसैले होला धेरैले जुवासँग तुलना गर्छन चलचित्रलाई । आउन पनि सक्छ जान पनि सक्छ अर्थात निर्माताले नाफा कमाउन पनि सक्छन् अनि लगानी डुवाउन पनि सक्छन् । यद्यपी पौडेललाई भने यो चलचित्र नाफा नै कमाउनु पर्छ भन्ने छैन । निर्माताको रुपमा मात्र सोच्ने हो भने त पैसा कमाउनु पर्छ भन्ने लाग्छ नै तर, पौडेल त्यो भन्दा पनि बढी देशमा भएको भष्ट्राचार उन्मुलनमा यो चलचित्रले कुनै न कुनै भुमिका खेल्न सकेमा त्यसैलाई आफ्नो नाफा मान्ने पक्षमा छन् । चलचित्रको कथा भष्ट्राचार बिरुद्ध केन्द्रित छ । भष्ट्राचारको अन्त्यका लागि प्रेमको महत्व समेत देखाउन खोजिएको छ । यसअर्थ निर्माता पौडेल भष्ट्राचार बिरुद्ध चलचित्र सार्थक बनेमा त्यो आफ्ना लागि मात्र नभएर सबै नेपालीका लागि नाफाको कुरा हुने बताउँछन् ।

पौडेल खासगरि यो चलचित्र युवा पुस्ताका दर्शक, निजामति कर्मचारी अनि प्रहरीहरुले हेर्नु पर्ने तर्क गर्छन । देशको भविष्य युवाहरुको हातमा रहेको र भोली देश चलाउने पनि युवाले नै भएको भन्दै पौडेलले भष्ट्राचार बिरुद्ध उभिन यो चलचित्रले उर्जा दिने बताएका छन् । चलचित्रले भष्ट्राचार बिरुद्ध चेतना ल्याउन सक्ने भन्दै उनले भष्ट्राचार उन्मुलनमा युवा जस्तै निजामति कर्मचारी अनि प्रहरीको भुमिका पनि अहम् रहेको जनाएका छन् ।

चलचित्रमा उनी भ्रष्ट कर्मचारीको भुमिकामा देखिएका छन् तर चलचित्र भष्ट्रचार बिरुद्ध उभिएको छ । सायद यसैले होला यो चलचित्रमा काम गर्दा पौडेलले आत्मसन्तुष्टि र गर्व महशुस गरेको । उनका अलवा मनोज गजुरेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, रबी ढंगोल, रश्मी भट्टलगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई रामशरण पाठकले लेखन र निर्देशन गरेका हुन । चलचित्र माघ १८ गतेबाट प्रदर्शन हुँदैछ ।

Mahajatra