Mansara

राम्रो चलचित्र नचल्नु निर्माताको हत्या हुनु बराबर हो – राजाराम पौडेल, कलाकार

२०७५ माघ १२
राम्रो चलचित्र नचल्नु निर्माताको हत्या हुनु बराबर हो – राजाराम पौडेल, कलाकार

थुप्रै चलचित्रमा जीवन्त अभिनय गरेका कलाकार राजाराम पौडेल यतिबेला चलचित्र निर्माताको रुपमा अगाडी बढेका छन् । उनको निर्माण रहेको चलचित्र १०० कडा १० आगामी शुक्रबार अर्थात माघ १८ गतेबाट देशभर प्रदर्शन हुँदैछ । कलाकारीतामा ख्याति कमाएका पौडेलले १०० कडा १० को कथा मन परेर नै निर्माणमा हात हालेको बताउँछन् । उनै पौडेलसँग चलचित्र १०० कडा १० का बारेमा लेन्सनेपालका लागि बिष्णु सुबेदीले गरेको कुराकानी :

चलचित्र निर्माणमा कसरी जोडिनुभयो ?
यसका निर्माताहरु धेरै छौं । जब कथा सुने एकदमै मन पर्यो । मैले दिल खोलेर कथाको प्रसंसा गरे । त्यो प्रसंसा पछि निर्देशक रामशरण पाठक ज्यूले कथा त्यस्तो मन पर्यो भने दाई पनि निर्माता हनुस् न त भन्नु भयो । मैले पनि हुन्छ भने ।

त्यसो भए भावनामा बहकिएर लगानी गर्नुभएको हो ?
भावनामा बहकिएर होइन । यसको विषय एकदमै राम्रो भएकोले हो । देशमा व्याप्त भष्ट्राचार बिरुद्ध चलचित्र छ । अब मैले यसमा पुरै पैसा लगाएको पनि होइन । मैले सक्ने जति लगानी गरेको हुँ । जहाँ सम्म लाग्छ चलचित्रले लगानी उठाउछ । उठेन भने पनि देशमा व्याप्त रहेको भष्ट्रचार न्यूनिकरणका लागि सहयोग गर्छ जस्तो लाग्छ त्यसैले पनि लगानी गरेको हुँ ।

मिसन बोकेको चलचित्रलाई सफल मान्ने कि व्यवसायिक रुपमा बलियो चलचित्रलाई सफल मान्ने ?
सफल चलचित्र बन्नलाई दर्शकले हेर्नै पर्यो । कतिपय असाध्यै राम्रा चलचित्रहरु मार्केटमै पुगेनन् । पुगेकालाई पनि दर्शकले हेर्नुभएन । राम्रो चलचित्र नचल्नु भनेको निर्माताको हत्या हुनु बराबर हो । एकजना निर्माता रिपिट नहुदा चलचित्रमा आश्रीत धेरैलाई असर गर्छ । चलचित्र राम्रो पनि बन्नु पर्यो, अनि चल्नु पनि पर्यो । राम्रा चलचित्र चलेनन् भने के अर्थ भयो र ।

यदि पैसा उठाउन सकेन भने १०० कडा १० लाई सफल मान्ने कि नमान्ने ?
यो चलचित्रको हकमा पैसा उठेन भने पनि दर्शकले रुचाएमा सार्थक हुनेछ । मैले अलिकति पैसा देशमा व्याप्त भष्ट्राचार निर्मुलका लागि योगदान गरे भन्ने सोच्नेछु । हामीले दर्शकलाई भष्ट्राचार निर्मुल गर्न अभियन्ता बनेर आउनुस् भनेका छौं । हामीले युवा पुस्तालाई चलचित्र हेर्न आग्रह गरेका छौं । उहाँहरुले हो भोली देश चलाउने । भष्ट्राचार बिरुद्ध चेतना भयो भने उनीहरुले घरबाटै प्रश्न गर्न थाल्छन् । जसले पारिवारिक दबाब बढ्छ । यस्तो पारिवारिक दबाबले भष्ट्राचार निर्मुल पार्न सहयोग हुन्छ । यो चलचित्रले पैसा नकमाए पनि भष्ट्राचार बिरुद्ध दर्शकको मन कमायो भने हामी सफल हुन्छौं ।

भष्ट्राचार बिरुद्धको अभियान हाबी हुँदा चलचित्र हेर्ने दर्शकले मनोरञ्जनको कमी त महशुस गर्दैनन् ?
यो चलचित्र कमेडी जनराको हो । यसलाई भष्ट्राचार बिरुद्ध लभ भनेका छौं । माया प्रेमका कुरा पनि छदै छन्, ८० प्रतिशत कमेडी छ, गीत छदै छ । एउटा चलचित्रलाई चाहिने सबै मरमसला छन् । पूर्ण मनोरञ्जनका बिचमा शिक्षा छ । दर्शकले मनोरञ्जनको कमी महशुस गर्नुहुने छैन ।

चलचित्रमा निभाएको भष्ट्र अफिसरको क्यारेक्टरको असर रियल लाइफमा कत्तिको रह्यो ?
त्यस्तो धेरै रहने । मलाई घुस् खाइस कि खाइनस्  भन्नु भएको हो भने पूर्वसरकारी कर्मचारी भएपनि मैले अहिले सम्म भष्ट्राचार गरेको छैन । स्वास्थ्य क्षेत्रमा काम गरे । बिरामीसँग घुस खाने कुरा भएन । आफुले पनि कसैलाई घुस दिएको छैन ।
चलचित्रमा निभाएको क्यारेक्टरको कुरा गर्दा एउटा दृष्यको छायाँकन पछि मलाई एक डेढ घण्टा निकै असहज महशुस भयो । रिंगटा लाग्यो । हुन त मैले त्यो घुस्याहा क्यारेक्टरलाई पनि रमाइलो शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छु । तै पनि एउटा दृष्यको छायाँकन गर्दा खै के भयो त्यसको असर केही समय रह्यो ।

भष्ट्राचार निर्मुल पार्न के गर्नु पर्ला ?
युवाले भोली देश चलाउने हो अनि बालबालिका भविष्यका कर्णधार हुन । त्यसैले घरबाट नै संस्कार सिकाउनु पर्छ । सबैभन्दा ठुलो स्कुल घर नै हो । अभिवावकको ठुलो हात रहन्छ बच्चालाई सही बाटोमा ल्याउनको लागि । घरकै कारण कोही भष्ट्रचारी भएको, घरकै कारण कोही भष्ट्राचार बिरोधी भएको खवर सुनिरहेका छौं । यसकारण घरबाट नै नैतिक शिक्षा सिक्यो भने उसले भष्ट्राचार गर्दैन ।

Mahajatra