Mansara

माया, मित्रता र बदलाको कथामा आधारित ‘रणवीर’को पोस्टर सार्वजनिक

२०७५ पौष २५
माया, मित्रता र बदलाको कथामा आधारित ‘रणवीर’को पोस्टर सार्वजनिक

चलचित्र ‘रणवीर’को पोस्टर सार्वजनिक गरिएको छ । मुख्य पात्रबीचको माया र प्रेमभावलाई झल्काउने गरी चलचित्रको पोस्टर तयार गरिएको छ । सार्वजनिक एक पोस्टरमा नायक सुशील सिटौला, डेब्यु गर्ल सुबेक्षा खड्का, सुपुस्पा भट्ट र प्रशान्त ताम्राकारलाई स्थान दिइएको छ । भने बाँकी तीन पोस्टरमा मुख्य तीन कलाकार सुशील, सुबेक्षा र सुपुष्पालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

चलचित्रको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्माता दिपेन्द्र रेग्मीले बताएका छन् । यो चलचित्रका लागि सुशील सिटौलाले आफ्नो शारीरिक बनावटमा पनि परिवर्तन गरेका थिए । झन्डै ६ महिनाको मेहनतपछि सुशील शिर्ष भूमिकाका लागि तयार भएका थिए । यस्तै सन् २०१२ कि मिस इन्टरनेशनल नेपाल सुबेक्षा का साथै सुपुष्पाले यसै चलचित्रबाट डेव्यु गरेका हुन ।

चलचित्र माया, प्रेम, मित्रता र बदलाको कथामा आधारित रहेको छ । माघ १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र एक्सन लभस्टोरी जनराको हो । चलचित्रलाई प्राची फिल्मुस् र डिआर फिल्मस्को संयुक्त ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । गोविन्दसिंह भण्डारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी बसन्ती भाट, शैलेश्वरी सिंहलगायतका कलाकारको पनि अभिनय रहेको छ ।

Mahajatra